kumari
stcnepal

इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको निधन

काठमाडौँ । इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको निधन भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको निधन भएको स्थानीय सोसियल वेलफेयरलाई उदृद्ध गर्दै  बताए । ‘७ जना घाइते नेपालीको निधन भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ । अरु थप विवरण आएको छैन । हामी अहिले घटनास्थलमा जाने प्रयासमा रहेका छौँ’, आइतबार दिउँसो  ओलीले भने ।

उनका अनुसार घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन सकेको छैन । निधन भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो । कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् । नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ । यद्यपि निधन बारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको बताइन् । शनिबार घाइते भएका उनीहरुमध्ये केही आफूहरुको सम्पर्कमा आएर गोली लागेको बताएपनि अहिले भने कुनै सम्पर्क नभएकाले यसै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । त्यहाँ धेरै मानिस हताहत रहेकाले अवस्था भयावह रहेको भन्दै उनले अहिलेसम्म उद्दार हुन नसकेको बताइन् ।

उनका अनुसार घाइते ३ जना अस्तालमा भर्ना भएकामा एक जना चाहिँ डिस्चार्ज भएका छन् । यस्तै दुई जना अहिलेसम्म बंकरभित्रै सकुसल रहेका छन् । उनीहरुलाई आइतबार कार्यरत कम्पनीले खानेकुरा लगेर दिएको जानकारी आएको रिजालको भनाइ छ । नेपाली समय अनुसार शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो । हालसम्म सो आक्रमणबाट नेपाली बाहेक सयौंको संख्यामा निधन र घाइते भएका तथा केही मानिसहरुलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको छ । सो क्षेत्रमा हवाई, जल र स्थलमार्गबाट प्यालेस्टाइनमा अवस्थित हमास समुहका लडाकुहरु प्रवेश गरी आकस्मिक तवरले आक्रमण गर्ने एवं बन्धक बनाउने लगायतका गतिविधिहरु भएको जनाइएको छ ।

इजरायलमा भएको सो आक्रमण दशकौंपछिको ठूलो स्केलको रहेको हो । एनआरएनएका पूर्वअध्यक्ष ओलीले पनि आफू इजरायल बस्न थालेको १८ वर्ष भइसकेको तर यसखालको आक्रमण आफूले कहिल्यै थाहा नपाएको बताए । इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न’ कार्यक्रम अर्न्तगत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए। यी मध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना मध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरु नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । मन्त्री साउदले आजै १२ जना नेपाली सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने संसदलाई जानकारी गराएका थिए । इजरायलमा भएको यस दुखद घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको साउदको भनाइ छ ।

footer