kumari
stcnepal

नेपाल एयरलाइन्सको जहाज भोलिमात्र इजरायल जाने

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार तथा मृतक विद्यार्थीको शव स्वदेश ल्याउन त्यसतर्फ विमान पठाउने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ ।

आज नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा सो जानकारी गराएका हुन् । प्रधानमन्त्रीले जहाज पठाउन ढिलाई भएकोबारे सरोकारवालाहरुलाई बोलाएर आज बिहान सोधपुछ गर्नुभएको थियो ।

त्यसक्रममा निगम र प्राधिकरणका प्रतिनिधिहरुले हवाई रुटका लागि विभिन्न मुलुकसँग अनुमति लिनुपर्ने भएकाले जहाज पठाउन समय लागेको जवाफ दिएका थिए । नेपाली जहाज इजरायल जान बहराइन, साउदी अरेबिया, जोर्डन, इजिप्टलगायतका मुलुकसँग हवाई रुट लिनुपर्ने हुन्छ । त्यस्तै, इन्धन भर्न दुबई अवतरण गर्नुपर्ने भएकाले त्यसको पनि अनुमति चाहिन्छ ।

तर, हालसम्म ती देशबाट अनुमति प्राप्त भइनसकेको जनाइएको छ । निगमले अस्तिबाटै जहाज पठाउन तयारी अवस्थामा राखेको थियो । तर, हवाई रुटको अनुमति प्रप्त नभएकाले उड्न पाएको छैन । सम्भवतः आज अनुमति प्राप्त हुने र भोली बिहानै जहाज उड्ने निगमले जनाएको छ ।

गत शनिबार इजरायलमाथि हमास समूहको आक्रमण र त्यसपछि चलिरहेको दुईपक्षीय युद्धका कारण १० जना नेपालीको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । त्यस्तै, केही नेपाली घाइते छन् । तीन सयभन्दा बढीले तत्काल स्वदेश फर्कन चाहेको तेलअभिभस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन् ।

footer