kumari
stcnepal

नेपाली यू -१९ क्रिकेट टोली उपाधि लिएर स्वदेश फर्कियो

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द लगायतले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो । आफूले खेलेको पाँचवटै खेलमा विजयी हुँदै नेपालले उपाधि चुमेको हो । प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनको विशाल अन्तरले हराएको थियो ।

त्यसअघि समूहगत चरणमा पनि नेपालले तीनवटै खेल जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो । प्रतियोगितामा १६ राष्ट्र सहभागी यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट भएका छन् । छनोट प्रतियोगितामा पहिलो हुने नेपाल र दोस्रो हुने यूएई एसीसी यू–१९ एसिया कपको समूह ‘ए’मा परेका छन् ।

पाकिस्तानमा हुने प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान पनि छन् । मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा तेस्रो हुने टोली जापान भने एसीसी यू–१९ एसिया कपको समूह ‘बी’मा परेको छ ।

footer