kumari
stcnepal

भारत–पाकिस्तानबीच तनाव, युद्धको आशंका

‘भारतीय समयअनुसार मंगलबार बिहान ३स्५० मा भारतीय वायुसेनाका १२ विमानले लाइन अफ कन्ट्रोल पार गरे । १२० किलोमिटरभित्र पाकिस्तानी आकाशबाटै एक हजार किलोग्राम बम बर्साए ।

सीमापार १५ मिनेट बिताएर बिहान ४स्०५ बजे स्वदेश फर्कंदासम्म उनीहरूले जैस ए मोहम्मदको प्रमुख तालिम केन्द्र ध्वस्त बनाए । भारतीय वायुसेनाका मिराज २००० विमानको हमलामा कम्तीमा तीन सय ५० आतंकवादी मारिएका छन् ।’

१४ फेब्रुअरीमा कास्मिरको पुलवामामा भएको आत्मघाती हमलामा भारतीय केन्द्रीय रिजर्भ फोर्सका ४४ सुरक्षाकर्मी मारिएका थिए । पाकिस्तान संरक्षित समूह जैस ए मोहम्मदले सो आक्रमण गराएको दाबी गर्दै आएको भारतले यथाशीघ्र जवाफ दिने घोषणा गरेको थियो । पुलवामा आक्रमणको १२ दिनपछि भारतीय वायु सेनाले पाकिस्तानमा बम खसालेको हो ।

उता, भारतीय सैन्य विमान पाकिस्तानी सीमाभित्र छिरेको पुष्टि पाकिस्तानले पनि गरेको छ । तर, आक्रमण निरस्त पारिएको र आफ्नोतर्फ कुनै पनि क्षति नभएको उसको दाबी छ । ‘भारतीय वायु सेनाका जहाजले हाम्रो क्षेत्रमा प्रवेश गरेको सत्य हो, तर तत्काल हाम्रो सेनाले प्रतिकार गर्न खोज्दा उनीहरू भागे । भाग्दै गर्दा बम खसाले । उनीहरूले जंगलमा बम खसाल्दा केही रुख ढलेका छन् ।’

हवाई कारबाहीमा जैस ए मोहम्मदका कमान्डरसहित ठूलो संख्यामा लडाकु मारिएको भारतले दाबी गरेको छ । ‘भारतमा जैस ए मोहम्मद समूहले अझै आत्मघाती हमला गर्ने सूचना गुप्तचर निकायका अधिकारीले पाएका थिए । खतराको पूर्वसन्ध्यामा हमला अनिवार्य थियो,’ भारतीय विदेश सचिव विजय गोखेलले भने । मंगलबारको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैस ए मोहम्मदको सबैभन्दा ठूलो शिविर ध्वस्त पारिदिएको उनले दाबी गरे । आक्रमणमा कोही पनि सर्वसाधारण नपरेको उनले बताए ।

कास्मिरी पृथक्तावादी र अरू लडाकु लुकेर बसेको आशंकामा एलओसी पार गरेर पाकिस्तान–अधीनस्थ क्षेत्रमा गरिएको हमलामा कैयौँ आतंककारी शिविर ध्वस्त भएको भारतका कृषि राज्यमन्त्री गजेन्द्रसिंह सिखावतले दाबी गरे । भारत–अधीनस्थ कास्मिरमा केही दिनअघि आत्मघाती आक्रमणमा ४४ भारतीय अर्धसैनिक बलको मृत्युपछि पहिलोपटक भारतले पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको मन्त्री सिखावतले बताए ।

कास्मिरमा संघर्षरत मौलाना मसुद अजहरको नेतृत्वमा रहेको जैस ए मोहम्मद समूहले आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो । मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब सिर्जना गरिरहेको छ ।

भारत सरकारले यसअघि नै भारतीय सुरक्षाफौजमाथि आत्मघाती आक्रमण गर्नेमाथि सैन्य कारबाही गर्न भारतीय सेनालाई पूर्ण अख्तियारी दिएको थियो ।

संयम हुन आग्रह

चीनले भारत र पाकिस्तानबीचको शान्तिपूर्ण सम्बन्धमा जोड दिएको छ । कास्मिरमा स्थायित्व कायम गर्न भारत र पाकिस्तानबीच बलियो र शान्तिपूर्ण सम्बन्ध अनिवार्य भएको चीनको भनाइ छ । ‘दुई देशले कास्मिरमा शान्ति र स्थिरता कायम गर्नेछन् भन्ने हामीले आशा गरेका छौँ,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।

त्यस्तै, युरोपेली युनियनले दुवै एसियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ । ‘हामी दुवै मुलुकसँग सम्पर्कमा छौँ । दुवै देशलाई अत्यधिक संयमता अपनाउन र स्थितिलाई थप तनाव नबनाउन आग्रह गर्छौँ,’ इयू प्रवक्ता माजा कोसिजान्सिकले भने ।

footer