kumari
stcnepal

जितसहित पाकिस्तान समूह विजेता, सेमिफाइनल समीकरण पूरा

काठमाडौं । कप्तान बाबर आजम र शोएब मलिकको अर्धशतकप्रेरित पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकपमा आइतबार राति स्कटल्यान्डलाई ७२ रनले पराजित गरेको छ । लिग चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई हराएसँगै पाकिस्तानले समूह ‘दुई’को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

यससँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । पाकिस्तानले अब समूह ‘एक’को उपविजेता अष्ट्रेलियासँग फाइनल प्रवेशका लागि खेल्नेछ भने समूह ‘दुई’को उपविजेता न्युजिल्यान्डले समूह ‘एक’को विजेता इङ्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

शारजाह क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले ब्याटिङ थालेको पाकिस्तानले निर्धारित चार विकेट गुमाएर १८९ रन बनाएको थियो । १९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ६ विकेट गुमाएर ११७ रनमात्र जोड्न सक्यो ।

 

जितसँगै पाकिस्तानले लिग चरणको पाँचै खेलमा जित निकाल्न सफल भएको छ । पाकिस्तान १० अंकका साथ शीर्ष स्थानमा रह्यो । आजै अफगानिस्तानले आठ विकेटले हराएको न्युजिल्यान्ड आठ अंकका साथ दोस्रो स्थानमा छ ।

पाकिस्तानका बाबर आजमले ४७ बलमा पाँच चौका र तीन छक्कासहित ६६ रन बनाए । मलिकले १८ बलमा एक चौका र ६ छक्कासहित अविजित ५४ रन बनाए । यी दुई जनाबाहेक मोहम्मद हफिजले ३१ रन बनाए । ओपनर मोहम्मद रिजवानले १५ रन जोडे । स्कटल्यान्डका क्रिस ग्रेभेसले दुई तथा सफयान शरिफ र हम्जा ताहिरले एक एक विकेट लिए ।

१९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डका रिची बेरिङटनले अविजित ५४ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ओपनर जर्ज मुन्सेले १७ र माइकल लास्कले १४ रन बनाए ।

पाकिस्तानका शाडब खानले दुई विकेट लिँदा शाहीन शाह अफ्रिदी, हारिस रौफ र असन अलीको नाममा एक एक विकेट रह्यो । लिग चरणको खेलमा भारतले नामिबियाविरुद्ध खेल्नेछ ।

 

footer