kumari
stcnepal

मुलुकमाराहरुको भार, सकियो राष्ट्रको सार

 

राजन कार्की
हरेक नेता व्यभिचारी छन् । हरेक कुरा बिकाउ छ, हरेक पद बिक्रीमा छ । पैसा भएपछि जे पनि सम्भव भएको देश बन्यो नेपाल ।
अमेरिकामा अस्लिल साहित्यको वार्षिक कारोवार ४ हजार करोड डलरभन्दा बढी हुनेगर्छ । नेपालमा सेटिङ भ्रष्टाचार र अपराधिकरण ४० अर्व बराबरको हुने गरेको छ । ५४ अर्वको गाडी र अवकाशपछि विशिष्टहरुलाई गरीव जनताले तिरेको करले पाल्नुपर्ने अवस्था छ । राजस्व बालुवामा पानीहालेजसरी खर्चिनुपर्ने । कसैमा नैतिकता नै बाँकी रहेन । कसैलाई लज्जावोध पनि हुँदैन । यो देशमा समृद्धि र सुशासन, समृद्ध नेपाल सुखी नेपालीजस्ता लोकप्रिय नारा लगाउँदै पहिले केपी ओली, अहिले १० दलीय सरकार शासनमा छ । कर्मचारीतन्त्र राजनीतिज्ञहरुसँगको मिलेमतोमा भ्रष्टाचारको आशनमा छ । दोस्रो आवधि चुनावको वर्षदिन बित्यो, भ्रष्टाचार नाली जसरी गनाइरहेको छ । चुस्त हुनुपर्ने शासन सुस्तमात्र छैन, चरीत्रहीन पनि छ । सुध्रिन नसकेको शासक र प्रशासकका कारण यो सरकार विधिबिहीन, अपराधमुखी र भ्रष्टाचारको फोहर पोखरीमा आहाल बस्ने भैंसी संस्कृतिको विकास गरिरहेको छ ।
यतिबेला भ्रष्टाचारको फाइल खोल्ने र बन्द गर्ने, अपराधीलाई थुन्ने, छोड्ने र माफी दिने हदसम्मको कुकर्ममा सरकार अगाडि बढेको छ । जतिसुकै भ्रष्टाचारमा डामिए पनि न छानबिन हुन्छ, न नैतिकता नै देखाउँछन् । प्रजातन्त्रवादी र जनवादी मिलेका छन् । एउटै घरमा, एउटै थाल भान्सामा रमाइरहेका छन् । न नीति छ, न सिद्धान्त । नैतिकता पनि छैन । एकले अर्कोलाई आलोचना गरिरहेका छन्, फेरि काँधमा काँध पनि मिलाइरहेका छन् । यो मिलन भागशान्ति जयनेपालका लागि हो, देश र जनताको भलोको लागि होइन ।
यथार्थमा राज्यकोषमा कसैले योगदान गरेका छन् भने त्यो आमजनताले नै हो । उद्यमी, व्यापारी त नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगिरहेका छन्, एनसेलजस्ता विदेशी लगानीकर्ताले समेत राज्यले पाउनै पर्ने लाभकरसमेत छलेर नेपालीको रगत पसिनाको कमाई विदेश लगिरहेका छन् । रुस र युक्रेन दुबैतिरबाट लड्न युवा पुगेका छन् । केही पैसा कमाएर ल्याउँला, परिवार पालौंला भनेर युवा मरिरहेका छन् । राजनीति र प्रशासनयन्त्र लोकतन्त्रलाई लुटतन्त्र बनाइरहेका छन् ।
यसकारण भन्न सकिन्छ, एच जी वेल्सले लेखेको द वल्र्ड सेट फ्री नामक पुस्तकमा परमाणु बमको नाम उल्लेख गरेका थिए, त्यही नामबाटपछि खतरनाक परमाणु बम निर्माण गरियो । नेपालमा बहुदल, लोकतन्त्र नामक ऐतिहासिक आन्दोलन भए, तर आन्दोलनबाट प्राप्त परिवर्तनलाई नेताहरुले यतिबिघ्न घृणायोग्य बनाइदिए कि नेपाल असफल मुलुक हुने खतरा उत्पन्न भएको छ । यही गति रहने हो भने नेपालमा धार्मिक बिद्रोह, बिध्वंशको डढेलो नलाग्ला भन्न सकिन्न । लोकतन्त्र लुटतन्त्रको परमाणु बमजस्तै बिध्वंशक बन्दैछ ।
सर्वहारावादी र खाँटी कम्युनिष्टहरु पशुपतिदेखि भारतका धाम धाम चहारेर गेरुबस्त्र भिर्छन् । जनताका सामु नास्तिक मुख देखाउँछन्, उक्साउँछन् । नेकपा र धर्मनिरपेक्षताको योभन्दा नाङ्गो राजनीति अरु के हुनसक्छ ? लोकतन्त्रका नाममा जे भइरहेको छ, नौटङ्की बढी भइरहेको छ ।
स्वार्थसिद्धि हुन्छ भने नेपालका नेताहरु जति पनि, जहाँ पनि झुक्न तैयार हुन्छन् । मौसम अनुसारको ट्यूनिक लगाउन नेतृत्व तह खप्पीस बनेका छन् ।
नेपालको चुच्चे नक्साका लागि संसदमा एकमत भयो । जब कालापानीसहितको यो चुच्चे नक्सा भारतले खाइदियो, संसदको एकता कहाँ छ, कसैलाई थाहा छैन । कोही अतिक्रमणकारी भारतका विरुद्ध चुँइक्क बोल्दैनन् । मानौं, भारत माईबाप हो, हाम्रा नेताहरु भारतका तलवी कार्यकर्ता । यिनै नेताहरु जनताका सामु राष्ट्रियता, स्वाभिमान र लोकतन्त्रको डिङ हाँक्छन् ।
जनबिरोधी, देशविरोधी, संविधानविरोधी, परम्परा बिरोधी विदेशी प्यादका रुपमा देखा परेका छन् । एकपल्ट फेरि परिवर्तनका बाहकहरु भ्रष्टाचार र देशघातक हतियार प्रमाणित हुनपुगेका छन् ।
फिजीले गर्न नदिएको इसाईको धर्मप्रचार जोडतोडका साथ नेपालमा भइरहेको छ । धर्मनिरपेक्षता आएको र ल्याएकै यिनले हो ।यी नेतामा जनविश्वास सकियो भन्दा हुन्छ । जनविश्वास गुमेपछि कसरी नेपाल समृद्ध बन्छ ? अधिनायकवादी बनेपछि कसरी नेपाल सुशासनयुक्त हुन्छ ?
गरीवी र बेरोजगारी बढ्दो छ, अव के गर्ने कसरी अघि बढ्ने मार्गचित्र केही पनि छैन । श्री ३ को फर्मान जसरी शासन चलाउन थालिएको छ । विचारमा, सिद्धान्तमा, योजनामा, करनी र कथनी सबैतिर अस्पष्टता छ । प्रशासन नेतातन्त्रको अन्यौलमा फसेको छ । अर्थतन्त्र कमिशनमुखी छ, जसका कारण उत्पादन शँन्यतातिर झर्दो छ । पुरानोभन्दा पनि गैबार ढर्रा ढाँचाले मुलुक बन्दैन, बिग्रन्छ मात्र । दिनदिनै बिग्रिरहेको छ । नेकपा दम्भमा छ, सरकार साझा हो, जनताप्रति जवाफदेही छ भन्ने देखाउन सकेको छैन । अमँर्त भाषण ज्यादा भए, मँर्त काम केही पनि हुनसकेन । आधा भाँडो पानी बढी छचल्किन्छ भन्ने उखान र यो सरकार, यी नेताहरु ठ्याक्कै मेल खान्छ ।
मूल कुरो सुरक्षा छैन । जब नागरिकले राज्यबाट पाउनैपर्ने प्राथमिक सुरक्षा पाउन सकेका छैनन्, अन्य सुरक्षाको झ्याली पिटेर के गर्ने ? एउटी निर्मला पन्तको बलात्कार र हत्यारा पत्ता लगाउनु साटो न्यायको माँगकर्ताहरुमाथि दमनमा उत्रने सरकारले सुरक्षा र कानुनी राजको कुरा गर्नु दुर्भाग्यपूर्ण छ । यो सरकार विधिको शासनमा गुणात्मक सुधार ल्याउन चाहदैन भन्ने प्रमाणित भइसक्यो । ज्यानमारा रिगल र रेशम चौधरीभन्दा थप प्रमाण खोजिरहनु पर्छ र ?
यो सरकार भनेको पनि उही कानै चिरिएको जोगीजस्तो हो । भ्रष्टाचार, कमिशन, अनियमितता, ढिलासुस्ती, पार्टीकरण, आफन्तबादको ज्वलन्त नमूना बनेको छ । अपराधीलाई संरक्षण दिन यो सरकार सधैं तमतैयार रहनु र जातीय तथा धार्मिक बिभेद र हिंसा भड्काउने काममा अग्रसर हुनुले ओली सरकार रक्तपातको सिर्जनाकार हुन थालेको संशय जो कसैले गर्नसक्छ । संघीयता त लागू भयो, सिंहदरवार गाउँपालिकासम्म पुग्यो । पुग्नुपर्ने जवाफदेहीपँर्ण विकेन्द्रीकरण थियो, पुग्यो भ्रष्टाचार कमिशनमुखी सिंहदरवार । सेवाग्राही जनता पाउनै पर्ने सेवा लिनबाट बन्चित छन्, भ्रष्टाचार बेहोर्न बाध्य छन् । देशमा भ्रष्टाचारीको रजगज छ ।
आइएनजीओ संसददेखि सर्वोच्च अदालतसम्म घुस्यो । मुख्यमन्त्रीहरुको दरवारको रखवाली नै आइएनजीओले गरिरहेको छ । संघीयता चलाउन र राजनीतिक कार्यकर्तारुपी पसले पाल्न जनता करमाथि थप कर तिर्न बाध्य छन् । कर देश विकासका लागि तिर्नुपर्ने हो, नेता विकासको मलका रुपमा करको प्रयोग भइरहेको छ । संविधान भद्रगोलको भूमरीमा देशलाई फनफनी घुमाउने यन्त्र बन्न पुगेको छ । हामी संवैधानिक शासन खोजिरहदा संविधानले संवोधन गर्न सकेन । निर्वाचित सरकार अपराध र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा हुनुपर्ने, यो त अपराध र भ्रष्टाचार गर्ने, अपराधी पाल्ने र ज्यानमारालाई खुलेआम होसला दिने साबित भइसक्यो । राजनीति व्यापार बनेपछि मुनाफाखोरहरु छनकमनक गरिरहेका छन् । नैतिकता, सक्षमता र इमान केहीले काम गरेको छैन । जता हेरे पनि बेइमानीमात्र देखिन्छ । नेताहरुले राष्ट्र भनेर माखो पनि मारेनन् । कानुन मिच्नु यो शासनको विशेषता हो, जसले गर्दा देश बनेन, नागरिक दुःखित पीडित हुन बाध्य छन् । पद्धति असफल भयो ।
नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहासका लेखक गृष्मबहादुर देवकोटाले देह त्याग गर्नुअघि लेखेका थिए– पत्रकार पेसाप्रति इमानदारी हुन सकेन, जसका कारण व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका पंगु हुनपुग्यो । स्थिति आज पनि त्यस्तै छ । पत्रकारिता पार्टी र नेताको पर्चाकारितामा सिमित छ । जो देशभक्त छन्, तिनको लेखनको सुनवाई नै हुँदैन ।
एकथरि मिसन पत्रकार विकार, विकृति र बिसंगति लेख्छ, त्यसलाई अर्काथरि ठूला व्यवसायिक पत्रकार ढाकछोप गरिदिन्छ । धोका जसले दिए पनि मुलुक र मुलुकबासीले धोका पाइरहेका छन् । अधिकांश जनता होमोग्लोविन कम भएर टाक्सिदै र फुङ्ग उडेको अनुहार लिएर जसोतसो बाँचिरहेका छन्, केही व्यक्ति सुँगुर मोटाएजसरी मोटाउँदै गएका छन् । देश यसैगरी टाक्सिदै मृत्यु उन्मुख हुँदै जाँदो छ । अस्तित्व संकटमा परिसकेको छ ।

 

footer