kumari
stcnepal

चीनले कानमा तेल हालेर बसेको

सन १९६२ को भारत चीन युद्धमा भारतको सर्मनाक हार भएपछि भारतीय सेना पछि हट्दै नेपालको इलाका कालापानी आएर शरण लिन वाध्य भयो । यही हारको मनोवैज्ञानिक कारणले गर्दा र नेपालका राजा महेन्द्रले लागू गरेको पञ्चायत ब्यवस्था मान्नु पर्ने वाध्यकारी अवस्थाको मुकाबिला गर्न भारतीय प्रधानमन्त्री नेहरु असफल भएकै कारण उनले मृत्युवरण गरे । यो कुरा उनकी छोरी इन्दिरा गान्धी राम्रै थाहा थियो । त्यसैले चीनसँग भएको हारको कारण गुमेको भारतको शाखलाई पुनर्जीवन दिनु नै उनको शासनको प्रथम उद्देश्य बन्न पुग्यो । त्यही कारण भारतले असंलग्नता त्यागी तत्कालीन सोभियत सङ्घसँग अगस्ट १९७१ मा एक सैनिक सम्झौता गर्यो । त्यसको लगत्तै भारतले पाकिस्तानसँग युध्द गरी पाकिस्तानलाई विखण्डन गरी बागलादेश भन्ने नया स्वतन्त्र राष्ट्रको अभ्युदय गराइदियो र सिक्किमलाई आफूमा विलय गराइदियो ।

आफ्नो घनिष्ट मित्र पाकिस्तानलाई भारतले टुक्राउदा र आफ्नो देशसँग दक्षिणमा सीमा जोडिएको सिक्किमलाई खाँदा चीन किन कानमा तेल हालेर बस्यो त ? अफगानिस्तान हुदै भारतसम्म सोभियत प्रभाव फैलिएको देखेर अमेरिका खुबै चिन्तित थियो । त्यसलाई कसरी रोक्ने भन्ने रणनीतिबारे छलफल गर्नकै लागि भनेर भियतनाम र कोरिया युद्धमा चीनसँग पराजय भएको अमेरिकाले चीनसँगको सम्बन्धलाई सुधार्ने सोच राख्यो । तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन पुरानो वैमनश्यतालाई बिर्सेर अध्यक्ष माओसँग भेटन बेजिङ पुगे । चीनले कसैको कुरा सुनेन कानमा तेल हालेर बसिनै रह्यो ।

राजा भएपछि वीरेन्द्रले मुस्ताङलाई आधार शिविर बनाएर अमेरिकी हातहतियारबाट सुसज्जित भई स्वतन्त्र तिब्बत बनाउने सशस्त्र अभियानमा लागेका तिब्बती खम्पालाई सन १९७४ मा चीनकै आग्रहमा दमन गरेपछि कानमा तेल हालेर बसेको चीनले नेपाल मामलामा बल्ल अलिअलि महत्व दिन थाल्यो र सन १९७५ राजा वीरेन्द्रले दक्षिण एसियामा भारतीय दादागिरीलाई लक्षित गरी प्रस्तुत गरेको नेपालको शान्ति क्षेत्र प्रस्तावलाई समर्थन गर्ने चीन पहिलो राष्ट्र बन्यो । विश्वका ११६ राष्ट्रले मानेको यो प्रस्तावले भारतलाई अन्तर्राष्ट्रिय रुपमा नै एक्लाइ दियो । यसैकारण नेपाल दरवार दिल्ली दरबारको प्रमुख दुस्मन बन्न गएकै कारण आफ्नो देशका माओवादीहरूलाई कत्तल गर्दै हिड्ने भारतले नेपाली माओवादीहरूलाई जुवाइँ पालेको जस्तो गरी पालेर काँधमा बोकेर नेपालको राजतन्त्र खतम गर्न सफल भयो ।

२०० वर्ष भन्दा पुरानो चीनको हितैषी नेपालको राजतन्त्रलाई माओवादी उठाएर भारतले खतम गर्दा समेत चीन कानमा तेल हालेर बस्यो । नेपालको आन्तरिक मामला भन्दै चीन हस्तक्षेपमा उत्रिएन । चीनको नेपाल तिरको यही नीतिको कारण नेपाल क्रमश आइपिएस र एसपिपि हुदै क्रमश अमेरिकी खेमामा उभिन पुगेको छ । यो पनि चीनलाई भलिभाँती थाहा छ । इन्डो प्यासिफिक रणनीति (आइपिस) को मुख्य उद्देश्य भनेकै चीनलाई सोभियत मोडेलमा टुक्राटुक्रामा विखण्डन गर्नु हो र यस रणनीतिले तिब्बत विखण्डन गर्ने हिन्द अमेरिकी आधार शिविर नेपालमा खडा गर्ने योजना बनाएकै कारण ५६ अरबको एमसिसिमा नेपाललाई फसाएको हो । यो पनि चीनलाई राम्रै थाहा छ ।

हिन्द अमेरिकी चलखेल तिव्र भएकै कारण उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दुतावास बन्द गरेर हिँडेको छ । अव कुन दिन म्यान्मार र पाकिस्तानले पनि यहाँको दुतावास बन्द गर्न बेर छैन । त्यही क्रममा रुस र चीनले पनि आफ्नो दुतावास बन्द गर्ने दिन आयो भने नेपाल युक्रेन बन्न कति बेर लाग्ने छैन । हिजो चीनले कानमा तेल हालेर बस्दा सोभियत संघ संगको सैनिक शक्तिको बलमा पाकिस्तान टुक्राउने र सिक्किम खाने भारत अव अमेरिकासंग सैनिक सहकार्यमा नेपाल खाई क्रमश अखण्ड भारत बनाउने रणनीतिमा अघि सरेको छ अनि नेपालका सत्तारुढ र विपक्षी दलहरू सबै त्यसको जन्ती बन्न पुगेको अवस्था छ । अव नेपालका राष्ट्रवादी शक्ति एक भई चीनलाई विश्वासमा लिएर अगाडि नवढने हो भने सिक्किमको नियति ब्यहोर्ने अव धेरै कुर्नु नपर्ला जस्तो छ । चीनलाई कानमा तेल हालेर बस्न दिन हुदैन अव ।

footer