kumari
stcnepal

सहमति कि निषेध ? समयले उठाएको यक्ष प्रश्न

 

राजन कार्की
पञ्चायत ठिक भएन भनेर बहुदलीय पद्धति अँगालेको नेपालको समय कालरात्रि बन्यो । त्यही समयमा अनेक हत्याकाण्डहरु भए । देशमा समृद्धि आउने छ, जनताको जीवनस्तर उकासिने छ, समाज सभ्यतातिर परिवर्तन हुनेछ भने जे ठानिएको थियो, ती सबै अपेक्षाहरु पानीको फोका फुटेजसरी हराए ।
बहुदललाई जनआन्दोलन नामको कोरामिन हालेर व्यवस्था परिवर्तन गरियो, लोकतन्त्र ल्याइयो । लोकतन्त्रले लोकको मुहार हँसाउने छ भनेर सपना बाँडियो । लोकतन्त्रको १७ वर्ष भ्रष्टाचार, अनियमितता, नाताबाद, व्यभिचार यसरी बढ्यो कि देश र जनता थलिए । नेता तन्दुरुस्त भएर राष्ट्र निर्धो बन्नु भनेको असफल राष्ट्र हुनु हो । राष्ट्र असफलताको भीरमा पुगिसकेको छ । यो अतिरोग लागेको लोकतन्त्रलाई क्यान्सरको बिरामीलाई किमो दिएर बचाउने पर्ने बाध्यता झैं यो लोकतन्त्रलाई निषेधको अन्त्य र सहमतिको राजनीति नामको किमो दिनुपर्ने अवस्था आएको छ ।
यतिबेला सडकमा जनताको विद्रोह, राजतन्त्रको लोकप्रियता, सत्ता र पार्टीहरुको अलोकप्रियताले अब पनि निषेधको अन्त भएन, सहमतिको राजनीति सुरु गरिएन भने राष्ट्र बिघटनको अवस्थामा पुग्ने विश्लेषण हुनथालिसकेको छ ।
मुख्य सवाल खबरदारीको हो ।
खबरदारी गर्ने नागरिक समाज, बुद्धिजीवी, पत्रकार, थिङ्क टेङ्क, चेतनशील बर्ग, अधिकारकर्मीहरुले हो । यी सबै बर्ग कुनै न कुनै पार्टीको पछि लागेर स्वतन्त्र हैसियत गुमाउँदै जानु देशका लागि ठूलो समस्या बनेको छ । यदि जबरजस्त खबरदारी गरिन्थ्यो भने भ्रष्टाचारका अनेक घटनाहरुमा, हत्याकाण्डदेखि सुनकाण्डहरुमा मनलाग्दी हुनेथिएन । न्यायपालिका सडकमा घिसारिने थिएन, मन्दिर बन्ने थियो ।
अर्थात् राजनीति अपराधशास्त्र बनाइनुका कारणले शासनव्यवस्थामा अतिरोग लागेको हो । नेतृत्वमा असक्षमता र असफलता बढेको हो । यसकारण बहुदललाई कोरामिनले थेगेन र लोकतान्त्रिक परिवर्तन हुनपुग्यो । लोकतन्त्र यसरी थलिएको छ कि यसलाई बचाउने हो भने सहमतिको सुरुआत र निषेधको अन्त हुन जरुरी हुनपुग्यो ।
बहुदल र लोकतन्त्रमा जनताले गीत बनाएका छन्– यो तन्त्र कुन चराको नाम ?
यतिसम्म घृणा फैलिएको छ कि यो फैलावटलाई रोकिएन भने अर्को ऐतिहासिक दुर्घटनाको निकट पुगिसकेको छ देश ।
राष्ट्रियताको अनुपस्थितिमा प्रजातन्त्र मौलाउन सक्दैन भनेर लेख्ने गुननार्गिदेलले नोबेल पुरस्कार पाएका थिए । नेपालमा हिंसात्मक लोकतन्त्रका नायक र राष्ट्रियताको चिहान खन्नेहरूले नोबेल शान्ति पुरस्कारको दावी गरेको धेरै भयो । भुइँमा न भाँडामा भएकाहरू टाउकाले टेकेर हिँडिरहेको देख्दा जिल पर्नुछ । यिनको राजनीतिले न माटो मलिलो पा¥यो, न जनताको मुखको माड बन्यो । नेपालको राजनीति स्वतन्त्रता र स्वाधीनताका लागि धरहरा बनेर कुनै नेता उभिन सकेनेन् । जहिले हेरे पनि राजनीति अपराध र अनियमिततामा घुस्रेकै देखिन्छ । दिने नै हो भने नेपालका पार्टी नेताहरुलाई भ्रष्टाचारश्रीको पुरस्कार दिए हुन्छ ।
देशमारा विषालु तत्वहरूसँग तिघ्रा जोडेर मार्सी चामलको भात खानेहरूलाई विश्वले देखेको छैन र ? यी हलेदो हुन्, यिनको आँखा पनि कमलपित्ते छ । तर विश्वको आँखा चीलको आँखा हो र ती आँखाले नेपालमा लोकतन्त्रका नाममा के भइरहेको छ, हेरिरहेका छन् । छिटै नेपाली नेताहरुको दुर्दिन आउने खतरा झन निकट देखिदैछ ।
साहित्य एकेडेमीको सर्वोत्कृष्ठ पुरस्कार अस्वीकार गर्ने अरून्धती रोयले लिसनिङ टु ग्रास हपर्स पुस्तकमा भारत विश्वको ठूलो डेमोक्र्य्रासी होइन, डेमनक्रेजी हो भनेर किन लेखिन्, यत्ति कुरा पनि नेपाली नेता बुझ्दैनन् र गरीब नेपालीको ढाड चढेर त्यही भारतलाई नेपाली राजनीतिको चारधाम, बैतर्णी मान्छन्, हरेक बिहान–साँझ ढोग्न पुग्छन्, योभन्दा ठूलो परजीवी मानसिकता अरू के हुनसक्छ ?
यतिमात्र होइन, स्वाधीन र स्वराज नेपालमा भारतलाई सिधै बहुदलकालमा ३ करोड र अहिले २० करोडसम्मको लगानी गर्ने पाउने छुट दिने यिनै हुन् । अर्काका लागि भारतले लगानी गर्ने होइन, यो सहयोग पनि होइन, यो त नेपालीलाई भारतीयकरण गर्ने स्लो प्वाइजन हो भन्ने सत्य नेपाली नेताहरुले बुझ्न सकेनन् । सित्तैमा पाइयो भने अलकत्रा पनि खाने प्रवृत्तिले देश पराधीन हुनछ, सार्वभौमिकता साँघुरिन्छ । यो शिक्षा दिने कसले ?
संसद, सरकार, नेतृत्वबर्ग, संचेतन समुदाय मौन छ । कुनै खबरदारी छैन । संविधानले अस्थिरताका सामु नाक रगडेपछि प्रश्न उठेको छ– समाजवाद, माओवाद, माक्र्सवाद, जनवाद, सर्वहारावाद, राजतन्त्रवाद, हिन्दुवाद ः यी सबै बादभित्र राष्ट्रबाद कहाँ छ ? छ भने राष्ट्रबाद किन मसाल बालेर सडकमा निस्कदैनन् ?
माधवप्रसाद घिमिरेले उहिल्यै लेखेका थिए– नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।
यो गीत बज्दैन आजकल । बरेलीके बजारमा झुम्कका गिरारे भन्ने गीत पो बज्न थालेको छ ।
सुस्ता गयो, कालापानी गयो, लिम्पियाधुरा–लिपुलेक गयो, भारतसँग जोडिएका २७ जिल्लाका ६६ हजार हेक्टर भूभाग भारतीयकरण भइसक्यो । अनेक वाद र संविधानको आरती उतार्नेहरू राष्ट्रको खेत,बारी अर्काले खनजोत गरेको देख्छन्, बोल्दैनन् ? एकधरो कपडाको राष्ट्रिय झण्डा, एक इन्च भूमिका लागि युद्ध भएका छन् । संविधानसभामा झण्डा र देशकै नाम फेर्ने कुरा उठ्दा मौन भएकाहरु, २०७४ र ०७९ को निर्वाचनपछि लोकलाई अपाङ्ग बनाइरहेका छन् ।
दैनिक ७५ रूपैयाँमा गुजारा गर्ने ८० प्रतिशत नेपाली छन् भनेर अध्ययन गर्ने पिताम्बर शर्मा र डा.पुष्पराज कडेलले २०६३ साल भदौमै राइकरको सिद्धान्तको विश्लेषण गरेर लेखेका थिए– नेपालको आवश्यकता पार्टी र नेतृत्वको पुनर्संरचना र नयाँ भिजनको हो । संघीयताको होइन । तर पार्टी कार्यकर्तालाई पाल्न सजिलो हुने, भ्रष्टाचारको सम्पत्ति आर्जन गर्न सहज हुने भएकाले यिनले संघयिता लादे, लाभ लिइरहेका छन् ।
जनताले तिरेको कर नेतानामका जुकाहरुले चुसिरहेका छन् ।
ठूला पार्टीहरु संघीयता चाहिन्छ भन्छन्, जनता र किन चाहियो ? भनेर द्वन्द्व चर्कारहेका छन् । यो बिबाद चुलिदै गएको देखिन्छ ।
स्मरणीय के छ भने देउथलको युद्धमा लमजुङे बाघ अर्थात सरदार भक्ति थापाले लडे । आजको नेपाल अस्तित्व रक्षाको त्यतिबेलाको देउथलको युद्धमैदानभन्दा भिन्न छैन । फरक यत्ति छ, देउथलमा भक्ति थापा तरवार बोकेर देशरक्षामा उभिएका थिए, वर्तमान नेपाल जो देउथलजस्तै आधुनिक युद्ध मैदान बनेको छ, राजनीतिमा सरदार धेरै छन् तर देशभक्त कुनै बाघजस्ता भक्ति थापा यो युद्ध मैदानमा छैनन् ।
हेर्नुछ, जनतामा बढेको जनाक्रोशले कहिले जित्छ ? यी अलोकतान्त्रिकहरुको लोकतन्त्रले कहिलेसम्म लूटतन्त्रलाई लोकतन्त्र भनिरहनेछन् ?
भनिन्छ– मान्छेले अरूको अनुभवबाट सिक्छ, धेरै कुरा सिक्न सक्छ । पशुले आप्mनै अनुभवबाट मात्र सिक्छ । हाम्रो राजनीतिका डिठ्ठा सावहरू कुन बर्गमा छन्, अनुमान गर्न सकिन्छ । पञ्चायत निरंकूश, बहुदल भ्रष्ट भयो भनेर लोकतन्त्र नामको कोरामीन हालेको, काम गरेन । भ्रष्टसोच क्यान्सरभन्दा कडा छ, किमो नै चलाउनु पर्ने भयो ।
समाज बदल्ने, सभ्यता सिकाउने लोकतान्त्रिक पद्धति । पद्धति राम्रो भएर के गर्ने चलाउने प्राविधिक योग्य नभएपछि प्रविधिमा दोष देखिने रहेछ । यो प्रविधि पनि फेल भयो ।
देशको पद्धति असफल हुनु भनेको संविधानको मृत्यु हो । २०६३ सालदेखि खुशी आउने भयो भनेर खुब झ्याली पिटाइयो । लोकतन्त्रमा नेतृत्वको लाखेनाच रोकिएन । उत्साही लोकको मुहार मुर्झायो, देशका लालहरूले लालुपाते फुलाउन सकेनन् । सिंगापुर बनाउँछु भन्नेहरूले देशलाई, लोकतन्त्रलाई भ्रष्टाचारको सिँगानपुर बनाइदिए ।
यतिबेला बुद्धको देशमा अशान्ति छ, हिंसा छ, लूटतन्त्र छ ।
कूटनीतिमा भूराजनीतिकरण, राजनीतिमा भ्रष्टिकरण, कानुनव्यवस्थामा अपराधिकरण, समाजमा उच्छृङ्खलकरण र धर्ममा ईसाईकरणको तीब्र बेग चलेको देख्दा नेपाल धरापैधरापमा उभिन पुगेको देखिदैछ ।
नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहासका लेखक गृष्मबहादुर देवकोटाले लेखेका थिए– पत्रकारहरू पेसाप्रति इमानदार हुन सकेनन्, जसका कारण व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका पङ्गु हुनपुग्यो । स्थिति आज पनि त्यस्तै छ ।
नेतृत्वबर्गमा रोगी मानसिकता छ, यसले स्वस्थ समाज निर्माण गर्न सक्दैन । रतन्धोहरू अँध्यारामा हिड्छन्, रतन्धो लागेजस्तो शासक छलछाम धेरै गर्छन् । छलछाम, लोकतन्त्र हुनसक्दैन । दण्डहीनता बढ्नुले लोकतन्त्र दिनदिनै मर्दै गएको छ ।
जनता जागरुक बनेका छन्, किमो दिएर सहमतिको सुरुआत गर्न चिच्याइरहेका छन् । निषेधको राजनीति परित्याग गर्न आनाकानी गर्ने नेतृत्व बर्गले जीवन रोज्छन्, रोज्दैनन्, त्यो आजको नेपालमा समयले उठाएको यक्ष प्रश्न हो ।

 

footer