kumari
stcnepal

कतारले जित्यो एसियन कपको उपाधि

कतारले एएफसी एसियन कप फूटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शनिवार राति लुसेल रंगशालामा भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै घरेलु टोली कतारले उपाधि रक्षा गरेको हो । कतार साविक विजेताको रुपमा प्रतियोगितामा उत्रिएको थियो । यसअघि सन् २०१९ मा यूएईमा भएको प्रतियोगिता पनि कतारले जितेको थियो । त्यो उसको पहिलो उपाधि थियो । यो पटक लगातार दोस्रो उपाधि जितेको हो । फाइनलमा जोर्डनलाई निराश बनाउने क्रममा कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टीमार्फत गरेका थिए । अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्तासमेत बन्न सफल भएका छन् । साथै उनी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पनि चुनिए ।

कतारले खेलको २२औं मिनेटमा अग्रता लिएको थियो । अफिफ आफैँमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए ।खेलको ६७औं मिनेटमा जोर्डनले बराबरी गोल गर्यो । यजान अल–नैमातले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर कतारले त्यसपछि दुई गोल थप्न सफल भयो । ७२औं मिनेटमा कतारले दोस्रो पेनाल्टी पाएको थियो । सो अवसरमा पनि अफिफ चुकेनन् र कतारलाई खेलमा पुनः अग्रता दिलाए । तेस्रो गोल भने इन्ज्युरी समयको पाँचौं मिनेटमा आएको थियो । यसपटक पनि अफिफमाथि नै फाउल भएको थियो । उनले पुनः कुनै गल्ती नगरी ह्याट्रिक पूरा गरे ।

लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीन विरुद्ध जीत निकालेको थियो । यस्तै अन्तिम १६ मा प्यालेस्टाइनमाथि २–१ को जीत दर्ता गरेको थियो । क्वार्टरफाइनलमा उज्वेकिस्तान विरुद्ध टाइब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई हराएको थियो । कतारले २०१९ मा जापान माथि ३–१ को जीत निकाल्दै पहिलो पटक उपाधि जितेको थियो । अर्कोतिर अप्रत्यासित रुपमा पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको जोर्डन पनि उपाधि जित्ने लक्ष्यमा थियो । तर बल पोसेसन राखेर उत्कृष्ट प्रदर्शन गर्दा पनि जीत निकाल्न असमर्थ भएपछि उ निराश बनेको छ ।  यससँगै जोर्डनको एसियन कपको पहिलो उपाधि जित्ने सपना तुहिएको छ ।

footer