kumari
stcnepal

रानीपोखरी निर्माणका लागि उपभोक्ता समिति गठन

काठमाडौं  । काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि उपभोक्ता समिति गठन गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व र बजेटमा रानीपोखरी पुनर्निर्माणका लागि महागनरले अजयरत्न स्थापितको नेतृत्वमा पाँच सदस्यीय उपभोक्ता समिति बनाएको हो ।

शुक्रबार बसेको महानगरपालिकाको ३०औँ कार्यपालिका बैठकले प्राधिकरणसँगको समवन्यमा समिति गठनको निर्णय गरेको हो । ‘प्राधिकरणको समन्वयमा रानीपोखरी पुनर्निर्माणका लागि उपभोक्ता समिति बनाएका हौँ,’ प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘समितिले प्राधिकरणको नेतृत्वमा काम गर्नेछ ।’

बैठकले रानीपोखरी पुनर्निर्माणको अनुगमन तथा समन्वय गर्न अर्को समिति पनि बनाएको छ । वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । महानगरले रानीपोखरी पुनर्निर्माण ढिलाइ गरेको भन्दै १४ माघको मन्त्रिपरिषद् बैठकले रानी पोखरी पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई दिएको थियो ।

बैठकमा काठमाडौं टावरको निर्माण प्रक्रियाका विषयमा समेत छलफल भएको छ । स्वच्छन्द बिकाइले निर्माण गरिरहेको कामको गुणस्तर सम्झौतामा उल्लेख भएका सर्तहरूको पालना र समयसीमाजस्ता विषयलाई स्वतन्त्र परीक्षण गर्न परामर्शदाताबाट काम गराउने निर्णय भएको छ । ०७१ मा पाँच वर्षमा सक्ने गरी काठमाडौं टावर निर्माण थालिएको थियो । तर, निर्माण सुरु भएको चार वर्षसम्म पनि निर्माणको कामले गति लिन सकेको छैन ।

यस्तै, बैठकले २४ चैतमा नगरसभा बोलाउने निर्णय पनि गरेको छ । राष्ट्रिय सभागृहमा हुने सभामा सार्वजनिक निजी साझेदारी, सार्वजनिक यातायात र सहरी योजना आयोगसम्बन्धी तीन विधेयक पेस हुने प्रवक्ता डंगोलले जानकारी दिए ।

footer