kumari
stcnepal

एसएमएस फ्रेन्डसिप कपको उपाधिका निम्ति आज नेपाल र गुजरात बिच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसन बिच प्रतिस्पर्धा हुँदै छ ।

यसअघि लिग चरणका चार मध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो ।  गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । लगातार तीन खेलमा पराजित भएको बरोडा भने लिग चरणको अन्तिम खेल अगावै उपाधि होडबाट बाहिरिइसकेको थियो ।
नेपालले निकट भविष्यमा ओमानमा आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा भारतीय क्लबसँग त्रिकोणात्मक शृङ्खला खेलेको हो । एसीसी प्रिमियर कपको दोस्रो संस्करण  अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो ।  एसीसी प्रिमियर कपको पहिलो संस्करण एक वर्षअघि नेपालमै आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो । आईसीसीको एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप निकै महत्वपूर्ण प्रतियोगिता हो ।

 

footer