kumari
stcnepal

आज राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिने

काठमाडौं । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै छ । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठक आज बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटल याक एण्ड यतीमा हुने छ । बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने छन् । बैठकको उदघाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सोह्रौं योजनाको मस्यौदा प्रस्तुत गर्ने छन् । त्यसपछि बैठकमा सहभागीहरुले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिने छन् ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् गृहमन्त्री रवि लामिछाने, जसपा अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् पूर्वमन्त्री रन्जिता श्रेष्ठले पनि सम्बोधन गर्ने छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डको सम्बोधनसहित उदघाटन सत्र समापन भएपछि विषयक्षेत्रगत छलफलको सत्र सुरु हुनेछ । यो सत्रमा सोह्रौं योजनाको मस्यौदामा छलफल हुने छ । छलफलमा विभिन्न क्षेत्रका विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी हुनेछन् । सहभागीहरु समूहगत छलफलमा सहभागी भई सोह्रौं योजनाको मस्यौदा आवश्यक सुझाव प्रस्तुत गर्नेछन् । कार्यक्रमको समापन सत्रमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले सम्बोधन गर्ने छन् ।

सरकारको ५ वर्षे रणनीति बनाउन राष्ट्रिय विकास परिषदको बैठक महत्वपूर्ण मानिन्छ । यो बैठकमा सहभागीहरुले दिएको सुझावलाई समेटेर राष्ट्रिय योजना आयोगले नेपालको ५ वर्षे योजना बनाउने गर्दछ । त्यसैले राष्ट्रिय विकास परिषदको बैठकलाई सरकारले आयोजना गर्ने सबैभन्दा ठूलो कार्यक्रमको रुपमा पनि लिइन्छ । कार्यक्रममा सहभागिताका लागि सबै पूर्व प्रधानमन्त्रीहरुलाई निम्ता पठाइएको छ । सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ । स्थानीय सरकारका प्रतिनिधिहरु र निजी क्षेत्रका ठूला भनिएका अधिकांश उद्योगी व्यवसायीहरु बैठकमा सहभागी हुने गर्दछन् ।

footer