kumari
stcnepal

लोकराष्ट्र नेपालमा धृतराष्ट्रको जस्तो शासन

 

राजन कार्की
राष्ट्र अर्थात् जनता, जनता अर्थात् राजनीतिका निर्णायक । जनतालाई भ्रममा राखी राखी जनतामाथिनै हेलाँ गर्ने, शोषण गर्ने, सकसमा पार्ने काम राजनीतिले किन गरिरहेको छ ? जनताको हितमाथि व्यापार गरेर कहिलेसम्म कमाइरहने ? कति कमाउने ? सत्ता, सम्पत्ति, शक्ति कतिभए पुग्ने ?
हाम्रा राजनीति र प्रशासनका ठूला पदमा पुगेकाहरु अवकाश पाएपछिसमेत राष्ट्रको निरन्तर दोहन गरिरहेका छन् । गरीब राष्ट्र जसको बजेटभन्दा बिदेशी ऋण बढी छ, सेवा भन्दा कुशासन बढी छ, विधि भन्दा दण्डहीनता बढी छ, त्यस्तो देशमा राजनीति शुद्ध समाजसेवा हुनुपर्ने हो । हाम्रा नेताहरुले राजनीतिलाई व्यवसाय बनाइदिए । राजनीतिक व्यवसाय खुब फस्टाएको छ देशमा ।
जो विदेशी नेपाल आउँछन्, नेपाललाई स्वर्गको टुक्रा भन्छन् । यस्तो स्वर्गको टुक्राका नेतृत्वकर्ताहरु सुनको तस्करी क्षेत्र, भ्रष्टाचारको केन्द्र, माफिया र अपराधीको गुँड बनाइरहेका छन् । यो नेपाल सिध्याउने खेल हो, चाल हो, साजिस हो । नेपालमाथि देखिएका खतरासँग जुध्न जरूरी छ ।
सवाल एउटै छ, जुध्ने नेतृत्व गर्ने कसले ? कुन पार्टी, कुन व्यक्ति, कुन शक्तिले ?
यी कस्ता नेता हुन्, आफैले एमसीसी मागे, एमसीसीमा बिबाद झिके, आफैले पास गरे । आफैले बीआरआई मागे, सही गरे, बीआरआई कार्यान्वयन गर्न ढिलाइ गरिरहेकै छन् । आफैले भारतलाई नेपालको कुनै पनि योजनामा ३ करोडबाट २० करोडसम्म लगानी गर्न दिने स्वीकृति दिए, त्यसबाट नेपालको सार्वभौमिकता खुम्चियन पुगेको अनुभूति नै गरेनन् । यी आफूलाई सार्वभौम भन्छन् । कहाँको सार्वभौम, कति सार्वभौम ?
यहीँनेर यक्ष सवाल उठ्छ– पार्टी, नेतृत्व, बुद्धिजीवी, नागरिक समाज, अधिकारकर्मी, संसद, सरकार कति सक्षम हुन् ? जो सक्षम छैनन्, असक्षमले चलाएको
८ वर्ष लगाएर झण्डै खर्ब खर्च गरेरसंविधान लेखे, संविधानमा नेपालको बुच्चे नक्सा नै छुटाए, जनताले आन्दोलन गरेपछि नक्सा अध्यावधिक गरे, नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुराको भँमि देखिन्छ, ती भूमि मा नेपालको शासन छ कि छैन, यिनले देखाउनै सक्दैनन् , भन्नै सक्देनन् । ती भूमि भारतले आफ्नो नक्सामा हालिसक्यो, संसद र सरकार बहस गर्दैनन्, नेपालको भूमि छाड्न भारतलाई भन्न सक्दैनन् । यसबाहेक भारतले ६० हजार हेक्टरभन्दा बढी सीमा मिचेको छ, कुनै नेता बोल्दैनन्, मानौं यिनीहरू कमैया हुन् ।
कमैया पनि स्वतन्त्र हुन्छ, कमैया खेताला पनि सार्वभौम हुन्छ ?
राजनीति र प्रशासनमा जो छन्, जो लाग्नेवाला छन्, तिनलाई सार्वभौमिकताको ब्रिज कोर्ष नपढाइ नहुने भयो । जागीर खानु पैसा कमाउने, राजनीति गर्नु पैसा कमाउन । राजनीति पनि पेशा हो र ? तर यिनले पेशा बनाइदिए ।
नेतृत्वलाई जनताले आमा नपढाएसम्म यिनका लागि आमा बेच्ने र नाफा कमाउने बस्तुमात्र हुनेछ । आमा सत्य हो, संसार हो, उज्यालो हो । आमाभन्दा पर अन्धकारमात्र हुन्छ भनेर यिनलाई पढाउनु पर्छ । १९७५ को सिक्किम र सुनाखरी पढाउनुपर्छ । अनि बुद्धि फिर्ला कि ? थाहा छ, यिनलाई सबै थाहा छ, तर प्रशासक र नेता यतिबिघ्न अवसरवादी बने कि यिनलाई तामा तुलसी भकाउन जरुरी छ ।
प्रकृतिले शिक्षा दिइरहेको छ । बच्चा जन्मने बेलामा आमा फक्रिन्छिन्, आमाको छाती रसाउन थाल्छ । जब बच्चा जन्मिन्छ, छातीमा टाँस्नासाथ आमाको छातबाट दुधको धारा बर्सिन थाल्छ । बिस्तारै बच्चाका दाँत पलाउन थाल्छन्, ऊ ठोस खाद्य खान सक्ने हुँदैजान्छ, आमाका दूधका धारा सुक्दै जान्छन् । आमा उमेरले नेटो काट्दै जाँदा सन्तान बालकबाट तन्नेरी हुँदैजान्छ । ऊ प्रौढ भएर वृद्धतिर लस्किँदा तिनका पनि नयाँ सन्तान हुँदै जान्छन् । पुराना पात झर्छन्, नयाँ पलाउँछन् । यो प्रकृति हो । प्रकृतिलाई समेत हेप्ने, पेल्ने काम लोकवादी हुँ भन्नेहरु सबैले गरिरहेका छन् ।
नेपाल छ र हामी नेपाली छौं । हाम्रो अस्तित्व अर्थात् आमा । माटो आमा, ढुङ्गा आमा । हिमाल आमा, झरना, नदी आमा । पहाड आमा, तराई आमा । निर्मलता आमा, पवित्रता आमा । जीवनद्वार आमा, बागद्वार आमा, संसार आमा, स्वर्ग आमा । पारिजात आमा, सयपत्री आमा, दुबो आमा, मखमली आमा । नेताहरू किन अस्तित्व आमासँग खेलाँची गर्छन् ? आमा त पुजनीय हुनुपर्छ, आमालाई शिरमा राखेर चल्नुपर्छ । अनुशासनहीनहरु छाडा भएका छन् ।
छाडा भएकैले यिनीहरु राष्ट्रघाती बनेका हुन् । जो राष्ट्रघाती छन्, तिनले आफ्नै घुँडा बन्चरो हानिरहेका छन् । आफ्नै पुस्ताका लागि अँध्यारो खाडल खनिरहेका छन् । हामीले जन्मदाता, जन्मभूमिको मुहारमा खुशी दियौं कि दिएनौं ? सोच्दैनन् । आमालाई घोचेका घाउहरूका पीडा लियौं कि लिएनौं ? सोच्दैनन् । आमाको दुःख दर्दमा साथ दियौं कि दिएनौंं ? बुझ्दैनन् ।
विवेक मारेपछि अविवेकी हुन्छन् । अविवेकीहरु नेपालको शासन प्रशासन चलाइरहेका छन् ।
यसकारण राष्ट्रघात, जनघात गरिरहेका छन् । यिनलाई अस्तित्वभन्दा राजनीति प्यारो छ, राजनीतिलाई व्यवसाय बनाएर प्राप्त हुने मुनाफा प्यारो छ । हाम्रा नेताहरू राजनीतिमा माफियाकरण गरेकै छन्, व्यापार चलाइरहेकै छन् । प्रशासनमा व्यापार, राजनीतिमा व्यापार ।
सत्य के हो भने सन्तानको खुशी राष्ट्रआमा, जन्मदिने आमाको कामना । सन्तानको सुख आमाको चाहना । भोक वा कुनै पनि पीडाले आमालाई असर गर्दैन, जब सन्तान दुःखी हुन्छ । सन्तानको सन्तुष्टि आमाको तृप्तता । पृथ्वीमा जीवित दैव छ भने ती आमा हुन् । मानिसका पहिलो गुरू आमा नै हुन् । आमाले जन्माउँछिन्, खान सिकाउँछिन्, बोल्न सिकाउँछिन् । उभिन सिकाउँछिन्, लडे आमाले उठाउँछिन् । हाम्रो आदि र अन्त्य सबै आमा नै हुन् । यसकारण आमा स्तुत्य छिन्, वन्दनीय छिन् । सन्तान घरबाट निस्किए चिन्ता गर्ने आमा हुन् । कहिले फर्कन्छ भनेर आँखा तानीतानी पर्खने आमा । बिरामी पर्दा निको पार्न अहोरात्र खट्ने आमा हुन् । आमा गाँस हुन्, आमा वास हुन्, आमा जुनसुकै दुःख निवारणकी आश हुन् । हामीलाई ठेसलाग्दा समेत आमा भन्छौं, जीवनको सर्वस्व आमा हुन् । आमा के होइनन् ? सांसारिक जीवनको प्राण हुन्, उच्चाटित भावना र भावनाभित्रको भवानी आमा हुन् । यस्ती आमा अर्थात् जन्मभूमिमाथि नेताहरू किन यतिबिघ्न अत्याचारको खुँडा चलाइरहेका छन् । अपराध बढाइरहेका छन् । यिनलाई चेत कहिले खुल्छ ?
नेताजति घृणा अरु कसमा होला ? यसको मूल कारण अस्तित्व, आमामाथि यिनले चलाएको कुशासन, कुचक्रले हो । अविवेकीपनले हो ।
राष्ट्र सकसमा छन् । जनता पीडित छन् । घरघरमा जन्मदाता माताहरूको अपमान भइरहेछ । बोक्सीको आरोप लागिरहेछ, चारपाटे मुडेर मलमूत्र ख्वाएर रूवाउने अपराध बढेका छन् । महिला हिंसा त यतिसम्मको भयावह कि श्रीमतीलाई टुक्रा टुक्रा पारेको पनि देखिन्छ । बालबालिका बलात्कार र तिनको हत्याले हाम्रो समाज ढुङ्गे युगतिर फर्कन लागेको आभास दिइरहेको छ । आमा त निर्मला पन्तकी पनि आमा हुन्, कृष्णप्रसाद अधिकारीकी आमा गंगामायाँ पनि आमा हुन् । मेची कालीभित्रको भूमि पनि आमा हुन् । आमाका अनेक रूप स्वरूप छन् । सबै आमाहरूलाई सादर प्रणाम । तर पूजनीय जन्म दिने र जन्मभूमि आमाहरू रोइरहेछन् । आमाहरूको अस्तित्वमाथि बलात्कारी र अतिक्रमणकारी धावा बोलिरहेछन् । यिनै नेताहरूले अत्याचार गरिरहेका छन् । आमाप्रतिको दायित्ववोध हुनसकेको छैन । यी स्वार्थका पुतला, धृतराष्ट्रका नवअवतार हुन् । आमा र देशले यसरी रूनुपर्ने ? कहिलेसम्म ? अब त अति भइसक्यो ।
नेपाल कस्तुरीजस्तो छ । कस्तुरी आप्mनै नाभिमा रहेको बीनाको सुवास खोज्दै यत्रतत्र दौडिरहन्छ । हामी पनि सुख, स्वर्ग खोज्न राष्ट्रहित छाडेर भौँतारिइहेका छौं । माता र मातृभूमिको सेवामा सन्तुष्टि छ, आमाको पैतालामुनि सुखस्वर्ग छ भन्ने नबुझेर स्वार्थको पछि दगुरेका छौं । स्वर्ग टपक्क टिपेर थपक्क राखेजस्तो यति रसिलो धर्ती, विश्वले शान्ति र शिखर भएको अनुपम भूमि भनिरहेको छ, हामी मातृचुलीको महिमा भुलिरहेछौं । अस्तित्वमाथि धावा बोलिरहेका छौं ।

 

footer