kumari
stcnepal

लोकतन्त्र किन दक्षप्रजापतिको टाउको जस्तो ?

राजन कार्की
सुशासन कि सुन शासन, लोकशासन कि राणा शासन ? राणकालमा जुवा फुक्नु र लोकतन्त्रकालमा लुटु फुक्नु उस्तै उस्तै छ ।
लोकतन्त्र नेतृत्वका लागि खुवाविर्ता हुनपुगेको छ ।

खतिको बेला मति आउँदैन भन्ने उखान छ हाम्रो समाजमा । लोकतन्त्रवादी नेताहरुले देशलाई त्यही नीयतिको भुङ्ग्रोमा होमिदिए । नेपाली राष्ट्रवाद, सुशासन र समृद्धि जुवाडेको थर्की बन्यो, राजनीति नेताहरुका लागि राणाकालको दीव्यदेवको चारै ठाडा, चौका हुन पुगेको छ ।

तत्कालीन राणाकालमा तिहारको समयमा चारखालमा जूवा फुक्थ्यो । राणाका तर्फबाट दीव्यदेव कौडा हान्थे । दीव्यदेवको चमत्कारिक कौडा सकुनीको भन्दा खतरनाक हुन्थ्यो । दीव्यदेव कहिले हार्दैनथे । हार्न थाले भने कौडा हान्नासाथ राणाहरुले मार्रा… भनेर जीउ र टाउकाले थर्की छोप्थे र जनताको पैसा सोहोर्थे । लोकतन्त्र दीव्यदेवको कौडा बनेको छ । नेकपाका अरिंगालहरु हातले, खुट्टाले, सबै तरिकाले देशव्यापी भ्रष्टाचार गरिरहेका छन् । जनताको रगत पसिना सोहोरिरहेका छन् । यो राणाकालको दीव्यदेवको कौडा नभए के हो ?
राणाकालमा जुवा फुक्नु र लोकतन्त्रमा खुलेआम भ्रष्टाचार हुनु बराबर भएको छ । यिनलाई न कानुनले, न राज्यसञ्जालले, कसैले पनि छुन सक्दैन । त्यसैले त भ्रष्टाचारी र अपराधीहरु देशका शासकभन्दा बलिया देखिएका छन् । संवैधानिक निकायहरु पार्टीका शाखा कार्यालयजस्ता देखिन्छन् ।

राणाहरुले अंग्रेजलाई रिझाएर १८५७ मा नयाँ मुलुक फिर्ता लिएका थिए । सन १९५० मा मोहनशमशेरले भारतसँग सन्धि गरेर प्रतिगामी पाइला के चाले आजसम्म नेपाल त्यो दलदलबाट उम्कन सकेको छैन । १९५० मै भारतसँग सन्धि गर्ने सिक्किमले त राष्ट्र नै गुमायो । त्यसअघि नै १९४९ मा भारतसँग सन्धि गरेर परराष्ट्र र सुरक्षानीतिमा पराधीन बनेको भुटान आज नेपालभन्दा आर्थिक र कूटनीतिक पक्षमा दह्रिलो छ । एउटा चुङ्खा आयोजनाले भुटानी जनताको कायापलट नै गरिदिएको छ । राजनीतिको प्राथमिकता राष्ट्र भएको भए नेपालमा दशवटा चुङ्खा योजना बनिसकेको हुनेथियो । देशमा राजनीतिक इच्छाशक्ति सधैं खट्कियो ।

एउटा मेलम्चीका लागि ३५ वर्ष खर्चियौं, ४२ अर्वभन्दा बढी भ्रष्टाचार भइसकेको छ । तैपनि मेलम्चीको पानी पिउन पाइन्छ भन्ने ग्यारेण्टी छैन । देशको प्राथमिकताको योजनाको यो हाल छ, विकास आयोजना भनेका चाल्नो हुन्, चाल्नोबाट चुहिनेबाहेक अरु के नै हुन्छ र ? नेताहरुले समृद्धशाली देशलाई सुनको थालमा माँगेर बाँच्ने पिँध नभएको पुङमाङे बनाइदिए । नेपाल सुनको कचौरामा मागेर खाने राष्ट्र बन्न पुगेको छ ।

राजनीतिमा व्यापारी छन्, राजनेता नभएकाले नै नाइजेरियाजस्तो बनेको हो नेपाल । नेपालमा राजनीति भनेको चुनाव हो, चुनाव जित्नुमात्र हो । जनमत जनताप्रतिको जिम्मेवारी भनेको खोलो त¥यो लौरो बिर्सियो भएको छ ।

जनतालाई कम्बल ओढाएर बाँकी दुनियासँग अलग राख्ने उत्तरकोरिया अमेरिकासँग आमने सामने कुरा गर्ने हैसियतमा पुगिसक्यो । उत्तरकोरियामा लोकतन्त्र छैन तर राष्ट्रतन्त्र मजबुत छ । मजबुत राष्ट्रतन्त्रमा लोकले चाहेको कुनै पनि तन्त्र कुनै पनि बेला स्थापित गर्न सकिन्छ । स्वाभिमानको अभिमानले देश उठाउँछ । हामीसँग लोकतन्त्र छ, स्वाभिमान मैनबत्ती पग्लिएजसरी दिनदिनै पग्लिदै गएको छ । स्वाभिमानले देश बचाउने र बनाउने हो, स्वाभिमान नभएकाले नै देश भ्रष्टाचारतन्त्र बन्न पुगेको हो । नेतृत्वले देशलाई पराधीन बनाइदिए ।

नेताहरु विदेशीका इसारा आदेशमा चल्ने विश्वासिला खजाञ्ची, खरदार बनेका छन् । परिवर्तन भयो भनेर मूलाजत्रो नाक फुलाएर के गर्ने ? लोकतन्त्र आयो भनेर धक्कु लगाएर के गर्ने ? कुन दिन नेपालको दण्डहीनता जेनेभाको मुद्दा बन्नसक्ने खतरा बढेको छ । कुनै पनि समय विदेशी हस्तक्षेपमा पर्न सक्छ । सोझा जनतालाई झुक्याएर त्रिदेव– ब्रम्हा, विष्णु, महेश्वर हामी नै ह्वौ भनेर गुड्डी हाँक्नेहरु जनता र देश प्रति गैह्रजिम्मेवार छन् ।

अग्रगमनकारी लोकतन्त्र छ, नेतृत्व पछाडि हेर्छ । लाटोकोसेरो अँध्यारोमा देख्छ, हाम्रा नेता उज्यालोलाई अँध्यारो पाछनर्् । छातीमा देश र नेपाली भेष भएको भए, मुखमा लोकतन्त्र र व्यवहारमा शक्तिको भोकतन्त्र नदेखाएको भए, भाषणमा क्रान्तिकारिता र कृयाकलापमा दासता प्रदर्शन नगरेको भए, नेताहरु दक्षप्रजापतिको बोके टाउकेजस्तो बन्ने थिएनन् । जनताले श्रीखण्ड भनेर टीका लगाए, नेताहरुले जनता, जनमत, जनबल र जनअपेक्षालाई कुल्चिए । चम्कने बस्तु सबै हीरा हुँदैनन् भनेको सही साबित भएको छ । पत्थरभन्दा बढी हुनसकेनन् ।
अब्राहम लिंकनले भनेका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन् राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्ता गर्छन् । हाम्रो राजनीति र नेता राजनीतिमात्र गरिरहेका छन् । यिनलाई भविष्यको चिन्ता छैन ।

जसरी पनि लुट्न पाए भविष्य उज्यालो हुन्छ भन्ने भ्रममा बाँचेका छन् । गणतान्त्रिक लोकतन्त्र आएपछि देशले कोल्टे फेर्ने जनआशा असफल हुनुको कारण यही हो ।
लोकतन्त्रको विश्वसनीयता सत्तलसिंह महाराजको कथा बनिसक्यो । लोकतन्त्रले देश बेच्यो कि बेचेन भन्ने यक्ष प्रश्न खडा छ । नासिर र नासूरमा अन्तर नदेख्ने अझै भ्रमको सदबिज छर्दैछन् । जनताले थाहा पाइसकेका छन्– वीरका सन्तान नेताहरु खाँटी भूमिपुत्रसम्म बन्न सकेनन् । नेपाली मारेर आफू धनाध्ये हुने, शक्तिशाली बन्ने र विदेशी पोस्ने यिनको नीति रह्यो ।
लोकतन्त्र छ, जीवन छैन । यो बर्तमानको मूर्दा पद्धति हो नेपालमा ।

प्रणाली मै हुँ भन्छन् नेताहरु, पार्टीहरु । घटनाक्रमले देखायो, यी देश होइनन् देशका दशा हुन्, सराप हुन् । दलीय स्वार्थभन्दा माथि उठ्न नसक्नेहरु सपनामा छन् । यिनीहरुको अनुहारमा छर्लङ्गै देखिन्छ– गणतान्त्रिक लोकतन्त्रको भ्रष्टाचारी क्यान्सर लागेको ख्याउटे र मरञ्च्याँसे अनुहार । मृत्युनिकट पुगिसकेको यो चरित्रले हाँकेको लोकतन्त्रले न स्वर्गको सुख दिन्छ, वर्तमानलाई नै सुख दिनसक्छ । वर्तमानको छटपटी यो शासन प्रणाली बनिसक्यो ।

विश्वको राजनीतिक पुस्तकमा १५ हस्तीका नाम स्वर्णाक्षरले लेखिएका छन् । यो सूचीमा लिङ्कन, मार्टिन लुथर किङ्, देङ्सियाओ पिङ, आङ्साङ् सुकीदेखि थाइलैण्डका राजा भूमिबलसम्मको नाम छ तर यति ठूलो परिवर्तन ल्याउने नेपालका कुनै नेताको नाम सूचीकृत छैन । गिरिजाप्रसाद कोइरालालाई भारतले ‘दक्षिण एसियाका आदरणीय राजनेता’ भनिदियो, यिनै कोइरालालाई कार्टरले नेपाल आएर ‘मेरो हिरो’ भनेर सम्मान दिए, उनी मर्दा कुनै सरकार प्रमुखसम्म आएनन् ।

विश्व समाचार बनेका प्रचण्ड आज सरकार प्रमुख त छन्, तर पहिलेको जस्तो आश्चर्यपूर्ण समाचार रहेनन् । जनयुद्धका पीडितले न्याय चाहियो भन्दा प्रधानमन्त्रीको पदबाटै प्रतिकार गरिन्छ भनेर उभिन पुगेका छन् । उनका क्रान्तिकारी दस्ता कसैलाई छाडिन्न भनेर तर्साउन थालेका छन् । पदमा बस्ने, न्याय नदिने, संक्रमणकालीन न्याय सम्पादन गर्न गराउन नसक्ने । समयले उनलाई कसरी दण्डित गर्ला त्यो प्रतिक्षाको विषय बनेको छ ।

लोकतन्त्र, कस्तो राजनीतिको जरा मरेको रुख हुन् नेपाली नेता, पार्टीहरु । यस्ता नेताहरुको चिरफार गर्ने हो भने यिनको पेटमा लोकतन्त्र होइन, भ्रष्टाचारको कन्टेनरमात्र फेला पर्नेछ । देशमाथि यति ठूलो गद्धारी ?

दण्ड त यिनले भोग्नैपर्छ, समय समयले नै निर्धारण गर्ला ।

नेपालभन्दा कान्छो अमेरिका, विश्वशक्ति बन्यो । जेठो नेपाल, कहिल्यै उपनिवेश नबनेको नेपाल भिखारीबाट माथि उठ्न सकेको छैन । नेपालभन्दा धेरै पछिमात्र खुलापनको बाटोमा हिंडेको स्वीट्जरलैण्ड कहाँ पुग्यो ? चमत्कारको दुनियाँमा भेट्न नेपाल बामे सर्दैछ ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी क्वाप्प खाइसकेको भारत नेपाली सीमामा गाउँ बसाल्न, बाँध बाँध्न र राजमार्ग निर्माण गर्न थालेको छ । नेपाली गाउँलेले भारतको लोकसभामा मतदान गरे, नेपालले जनगणनासम्म गराउन सकेन ।

सीमा निरीक्षण गर्न जाने भनेको सरकार र सांसदले अब प्रधानसेनापतिलाई साथमा लिएर वर्षे अधिवेशनको समयमा जाने रे । अचम्म छ यिनको राष्ट्रवाद ।
आफ्नै भूमि, भूमिको सीमाबारे एउटै बुद्धिनारायण श्रेष्ठ, बिधिबारे भीमार्जुन आचार्य, संविधानबारे थुप्रै संविधानविद, नागरिकताबारे बालकृष्ण न्यौपाने, मानवाधिकारबारे गौरी प्रधान, सुशासनबारे उमेश मैनालीको प्रश्नको जवाफ दिने क्षमता राज्यसञ्चालकहरुसँग देखिन्न ।

ब्राजिलपछिको जलसम्पदाको धनी देशमा किन जलविद्युत विकास हुनसकेन ? आन्दोलन र जनयुद्ध उचाल्न सक्ने हातले भ्रष्टाचार उचाले, देश उचालेनन् ।
राजतन्त्रको अन्त्यपछि ‘जुबिलियन’ हुनुपर्ने शक्तिहरु निचोरेको कागती अनुहारमा देखिन्छन् । नेताहरु देख्दा दया लाग्छ । जनतामा घृणा छ । जनसम्मान, आस्था आर्जन गर्न नसक्ने लोकतन्त्र के लोकतन्त्र ?

आज हजारौं महाराजा बनाउनुको मूल्य नेपाल र नेपालीले चुकाइरहेका छन् । विनोवाभावेले जो उपकार गर्नेलाई नीच मान्दछ, त्योभन्दा नीच अर्को कोही हुँदैन भनेको नेपालमा साबित हुनपुग्यो । जनता सोझा भएकाले भ्रष्ट नेताले हेपेका हुन् । जनता अव सालिक बन्नुहुन्न । बुझकीहरु भन्छन्– जनता जुन स्तरका छन्, तिनले त्यही स्तरको नेता पाउनेछन् । नेपाली जनता सोझा भएकाले नेताहरु राजनीतिलाई व्यवसाय बनाउन सकेका हुन् । जनता सचेत छन्, बुझ्छन् तर प्रतिवाद गर्दैनन् । गर्न सक्दैनन् । यस्तो असक्षम नेतृत्वले शासन गरिरहनुको दोष सोझा र सहनशील जनतामा जान्छ ।

१७ वर्ष अघिको परिवर्तन, समाज बदल्ने परिवर्तन थिएन । राजनीतिक जुवा फुकेको थियो । राणाका तर्फबाट दीव्यदेवले कौडा हानेझैं दलका नेता र कार्यकर्ता भ्रष्टाचार गरिरहेका छन् र भ्रष्टाचार सदाचार बन्दै गएको छ ।

अव बहस हुनुपर्छ– राजनीति नीति हो कि दिव्यदेवजस्ता झेली जुवाडेको कौडा ?
सहदेवबाट सकुनी मारिए । कंश मारिएपछि श्रीकृष्ण विश्रामघाट गएका थिए । देशका सकुनी प्रवृत्ति मारिनुपर्छ, नक्कली कृष्णहरु भ्रष्टाचारको साम्राज्यबाट पछुताउने घाटतिर मिल्किनुपर्छ ।

 

footer