kumari
stcnepal

कोशी प्रदेशको बिराटनगरमा प्रदेश प्रमुख खापुंङको पुत्ला दहन

माेरङ – नेपाली काँग्रेस विराटनगर महानगर कमिटीले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुंगको पुत्ला दहन गरेको छ। संविधानको गलत बाटो हुँदै प्रदेश प्रमुख खापुंगले नयाँ सरकार गठन गराएको आरोप लगाउँदै महानगर कमिटीले बिहीबार राति विराटनगरस्थित घाँस चौकमा पुत्ला दहन गरेको हो।

नेपाली काँग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईंले प्रदेश प्रमुखले मध्यरातमा सरकार गठनका लागि पत्र पठाउनुलाई गलत अभ्यास भएको बताएका छन्। हाल देखिएको परिस्थितीबारे प्रदेश प्रमुखले राजनीतिक राय सरसल्लाह नलिकन चालेको कदमप्रति गंभीर आपत्ति रहेको सभापति चापागाईंले बताए।

लोकतन्त्रको पवित्र भूमि विराटनगरमा प्रदेश प्रमुखले चालेको कदमप्रति असन्तुष्टि ब्यक्त गर्दै सभापति चापागाईले संविधानको मुलमर्म अनुसार प्रदेश र केन्द्र चल्नुपर्ने माग गरे। उनले भने, ‘संविधानको मुलमर्मलाई कसैले नमिचि, संघीयता र संविधानको रक्षा गरेर सरकार अघि बढ्नुपर्छ। तर संविधान र संघीयताविरुद्ध केही षडयन्त्र भए काँग्रेसले प्रतिवाद गर्छ। आन्दोलन हुनेछ। अहिलेपनि प्रदेश प्रमुखले गलत अभ्यास अघि बढाउनुभयो। हाम्रो गंभीर आपत्ती छ।’

काँग्रेसको आन्दोलनले अहिलेको सत्ता समीकरण दुई मिनेटमा ढाल्न सक्ने क्षमता राखेको उनको भनाई छ। पुत्लादहनका क्रममा विराटनगर महानगर वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीसंगै अन्य कार्यकर्ता रहेका थिए।

footer