kumari
stcnepal

१९७५ को सिक्किम र २०८१ को नेपाल : लेण्डुपेहरु होसियार

राजन कार्की
जब लोकतन्त्रको १८ वर्ष महाभारतको सकुनीको जूवाभन्दा भिन्न हुनसकेन, अनि प्रश्न उठ्यो– १९७५ को सिक्कम र २०८१ को नेपाल ः कति भिन्न छ ?
यो सवालको जवाफ र संकटको मोचन खोज्न जनता चुके भने महगो मूल्य चुकाउनु पर्ने पक्कापक्की छ । समयले यस्तै संकेत गरिसकेको छ ।
दिल्ली विश्वविद्यालयका लागि डा.सुभाष काश्यप र विश्वप्रकाश गुप्ताले तयार गरेको राजनीतिक कोषमा राष्ट्रघात गर्ने प्रतिनिधि पात्रका रुपमा क्विजलिङ र लेण्डुप दोर्जीको नाम उल्लेख भएको छ । क्विजलिङ युरोपका थिए भने लेण्डुप १९७५ मा सिक्किम बिलय हुनुपूर्वका नेता थिए । राष्ट्रघाती अर्थात देश बेचुवाको अर्को नाम क्विजलिङ अथवा लेण्डुप दोर्जी भन्ने पर्याय यसरी चलेको देखिन्छ ।
भारतीय विद्वानहरुले रामायणकालमा श्रीलंकापति रावणका भाइ बिभिषण, मुगलकालका मीरजाफर र मीर कासिम तथा क्विजलिङ् र लेण्डु दोर्जीलाई देश बेचुवाका रुपमा उभ्याएका छन् । यी सबै प्रतिनिधिपात्रहरुले आप्mना कालखण्डमा कसरी आफ्नो मातृभूमिको स्वतन्त्र अस्तित्व र अस्मितालाई समाप्त पार्न कसरी विदेशी आक्रमणकारीको सहयोग गरेका थिए भन्ने घटनाक्रम पनि उल्लेख गरिएको छ । यसमध्ये भारतवर्षका ५ सय ३७ राजामहाराजामध्ये चयचन्द पनि त्यस्तै देशघाती थिए, जसले स्वार्थका लागि अंग्रेजको पाउमा लम्पसार परे, देशवाद सिध्याए ।
सरकार बनिरहेका छन्, नीति तथा कार्यक्रम आइरहेका छन् । १० वर्षे जनयुद्धका घाउहरु चर्किरहेकै छन् । संक्रमणकालीन न्याय व्यवस्था सम्पन्न भएको छैन । संविधान कार्यान्वयन भयो भनेर गफ हा“किएको छ । राष्ट्रिय मुद्दाहरु एकपछि अर्को थपिदैछन् । बिगत १८ वर्षको अवधिमा विदेशी हस्तक्षेप र चलखेल यसरी बढ्यो कि राजनीतिक भागबण्डाले अफिमको नशाजस्तै सत्ता र शक्तिको नशामा झुम्न पुगेका नेताहरुले आफू उभिएको लोकले तय गरिदिएको नैतिक आधारसम्म पनि बिर्सन पुगे । लोकतन्त्र लूटतन्त्र बन्यो ।
जता हेरे पनि राष्ट्रघात भन्दा केही देखिदैन ।
जनविश्वासको संकट परिसक्यो । यसकारण आशंकाको कालो बादलले घरेको छ । पालिका, प्रदेश, केन्द्र, प्रतिनिधिसभा, राष्ट्रियसभा जता हेरे पनि जनताका आशा र अपेक्षामा कुनै बहस नै हुँदैन । सबैलाई स्वार्थपूर्तिकै चटारो छ ।
राजनीतिमा थरि थरिका माफिया हावी भएका छन् । शासन प्रशासनमा माफियाको घेरामा कैद छ । नातापातादेखि खरिदबिक्रीका सांसद देखिए । फौजदारी अभियोग लागे पनि सांसद भए, त्यस्ता सांसदका अपराध माफी दिइयो । मानौं, सांसद भनेका पञ्चखत माफी पाउने जात हो । डामेर छाडिएका साँढे हुन्, यिनलाई जे गर्न पनि छुट ।
राजनीतिले कानुन व्यवस्थालाई माफियाको खोरिया बनायो ।
भन्नलाई सांसदहरु लोकतन्त्रमा विधिको शासन हुनुपर्छ पनि भनिरहेका छन् । के हो विधिको शासन भनेको ? विधि निर्माताको पदमा बसेर ठेकेदारी चलाउन खोज्नेहरु सौ मुसा खाकर बिल्ली चली हजको चरित्र देखाइरहेका छन् । यस्तो चरित्रले नीति, नैतिकता र लोकाचार कायम रहनसक्दैन । निष्ठा नै नभएकालाई कानुन के, संविधान के ?
राजनीति भाग शान्ति जय नेपाल हुनपुग्यो । राजनीतिको सबै धर्म नष्ट गरियो ।
जनयुद्धका घाउहरु आलै छन् र जनयुद्धबाट प्रभावितहरुको आँखा ओभाएका छैनन् । संसदमा टीआरसी बिधेयक विचाराधीन छ । कहिले एक मत मिल्दैन, कानुन बन्दैन । यो अति दर्दनाक यथार्थ हो । शान्ति खोज्ने जनताको कमजोरीको उपयोग गरेर नेताहरु काम भन्दा बढी नकाम गरिरहेका छन् । राजा फालेर महाराजा धेरै जन्मिए, राजनेता एकजना पनि उत्पादन हुनसकेन । लोकतन्त्रको कारखानाबाट भ्रष्टाचार उत्पादन भइरहेको छ । भ्रष्टाचारले देशलाई १९७५ को सिक्किमको नियतिको दोबाटोमा उभ्याइसक्यो ।
संविधान उत्तम भनिएको छ, उत्तम संविधान असफल भयो भनेर आवाज बाक्लिदै गएको छ । जनता बिद्रोहको मूडमा पुगिसके । बिद्रोहको नेतृत्वको कमी खड्किएको छ ।
सत्ता स्वार्थन्धहरु कहिले प्रतिगामी, कहिले स्वाधीनता र नागरिक सर्वोच्चता, कहिले अर्जुनदृष्टि र अहिले एकलव्य प्रयासका कुरा गरिरहे पनि कहालीलाग्दो अनिष्ठको काला बादल मडारिन थालेको छ । कारण एउटै छ, यिनका लागि सत्ता प्रमुख भयो ।
राष्ट्र हाम्रो हो, हामी सबै मिलेर सहमतिमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ, नयाँ नेपालको निर्माण गर्नुपर्छ र नेपाललाई अग्रगमनका साथ स्थिरता दिनुपर्छ भन्ने उच्च सोच कुनै पनि नेता वा दलले गर्नै सकेनन् । त्यसकारण यक्ष प्रश्न उठेको छ कि जनआन्दोलन नेपाली बलयुद्ध होइन रहेछ, बिदेशी छलयुद्ध पो रहेछ । यति बुझेपछि नेपाल सिक्किमीकरणतिर लागेकोमा अलिकति पनि भ्रम रहेन ।
हिजो सद्भाना दक्षिणी गोटी थियो । आज दक्षिणका दल उत्तरका, अग्रगमनकारी पश्चिमका गोटी बनेका छन् । को के हो चिन्नै सकिन्न । हजार जिब्रा भएका शेषनाग र हाम्रा नेता उस्तै लाग्छन् । घण्टा घण्टामा यिनको स्वर फेरिन्छ । यिनले रङ बदल्न कत्ति समय पनि लगाउँदैनन् । स्वार्थका लागि दल फोड्छन्, विचार त्याग्छन्, जो जस्तोसुकै नेतासँग पनि मिल्न सक्छन् । यिनका लागि नीति, नैतिकता र सिद्धान्त आलु बनेको छ । आलु त्यस्तै बस्तु हो, जुन मासुदेखि सागमा पनि मिल्न सक्छ ।
हरेक पार्टीभित्र कुनै न कुनै प्रकारको उग्रता छ । त्यसमाथि प्रजातन्त्रको बिडा उठाएको कांग्रेस, उग्रदक्षिणपन्थी मधेसीहरु, उग्रवामपन्थी एमाओवादी, वामवादी र एमालेको लोकतन्त्र प्रयास, यी सबै उग्रतावीच नेपाली सार्वभौमिकता र स्वाधीनतामा अडिग छौं भन्ने अडान चाहिं कुनै नेता, पार्टीमा छैन । अलिकति देशभक्त भएजस्तो, धेरै लेण्डुप भएजस्तो, स्वार्थका लागि जता पनि मल्को, जता पनि ढल्को बनेको छ लोकतन्त्र ।
सबै सत्ताका पुजारी, सत्तालिप्साका भोका । देश र जनतामाथि किर्ना बनेर चुस्न पाइन्छ भने विदेशीका सामु लम्पसार पर्न पनि तैयार । कति दयनीय छ हाम्रो लोकतान्त्रिक राजनीति । राजनीतिका नाममा माफियाकरण, व्यापार, व्यवसायनीति ।
स्वार्थ मिलेन अथवा स्वार्थमा धक्का लाग्यो कि एकले अर्कोलाई विदेशी कठपुतली, भ्रष्ट, अनैतिक भनिहाल्न्छ । हुन त सर्पको खुट्टा सर्पले देख्ने हो । एकदोस्रालाई यिनले देखेका चिनेका र व्यहोरेका छन् । त्यसैले गालीगलौज यिनको नानीदेखिको बानी हो । यति भए पनि कम्तिमा नेपालीत्वका लागि त एक हुनु नि । छैन, यी माटोमा उभिएका छन् कि मनीमा, सिद्धान्तमा उभिएका छन् कि स्वार्थमा ? यिनलाई आफ्नो राजनीतिक अनुहार ऐनामा हेर्ने फुर्सद नै छैन ।
सबका विदेशी मालिक छन्, लोकतन्त्रमा लोक मालिक हुनुपर्ने हो, लोक त भोट खसाल्ने मेसिनमा सिमित भए । लोकको दुर्दसा र देशको बेहालको कारण नेतातन्त्र हो, जो राजनीतिका नाममा पसल चलाएर मुनाफा कमाइरहेका छन् । लोकतन्त्र सत्ता, सुन, सम्पत्तिमा गिजोलियो ।
प्रश्न यत्ति छ कि कुन दलले भारतको, चीनको, अमेरिकाको योजनामा ल्याप्चे ठोकेनन् ?
मूल्याङ्कन नै गर्ने हो भने जोजति नेताहरु छन्, ती सबै बिसर्जनवाद, लम्पसारवादमा भिजेको देखिन्छ, ती कुनै लेण्डुप, मिर्जाफर अथवा क्विजलिङको राष्ट्रघातभन्दा कम छैनन् ।
यति भए पनि हरेक पार्टी पंक्तिभित्र प्रचूर राष्ट्रवाद छ । यो प्रचूर राष्ट्रवाद कमजोर छ । छायाँमा छ । अवसरविहीन छ । बाध्य भएर घातीहरुको पछुवा बनेको छ ।
बेला बेलामा बोल्छन् । विवेक बोलेर के गर्ने, स्वार्थीहरुको चेपुवामा च्यापिन्छन् र तमासे बन्छन् । देशभक्तको लामो लर्को, जो अगाडि आउन बन्चित छ । देउवा, ओली प्रचण्डदेखि ससाना दलका नेताहरु नेपालवादी हुँ भन्छन्, नेपालको भूमि विदेशीले खाइसक्यो, जिब्रो तालुमा टाँसेर बसेका छन् । यी केको नेपालवादी । लेण्डुपवादी हुन् ।्
विदेशी अत्याचार र बिस्तारवादी हस्तक्षेपको प्रतिकार नभएको लामो समय भइसक्यो । कागजमा स्वाधीनतावादी । कागजको फूलमा सुवास हुँदैन भनेको यही हो ।
बहुदलकालमा देउवाले सत्ता बचाउन सांसदलाई थाइलेण्डको बेश्यालयसम्म पु¥याए, पजेरो उपहार पनि दिए । सत्ता बचाउन र लामो समय वाम सरकार चलाउने नाममा ओली र प्रचण्डले जेजस्तो नाटक मञ्चन गरिरहेका छन्, त्यो राजनीतिक बेश्यावृत्ति नभए के हो ? ठुला मामाको त यो गति कान्छामामाको कुन गति ? यो देशमा भ्रष्टाचार शिष्टाचार बनिसक्यो । हत्याहिंसा शासनको विशेषता भइसक्यो । यो प्रवृत्ति भनेको देश समाप्ततिर लागेको परिदृश्य हो ।
नेतृत्वदेशलाई दिलमा राखेर शीर उठाउँदैनन्, तिनीहरु राजनीतिका नाममा व्यापार गरिरहेका छन् । आउँदा पुस्तालाई पराधीन बनाउने साजिस गरिरहेका छन् । बलात्कार बालिका अथवा महिलाको मात्र हुन्न, देशको पनि हुन्छ । यतिबेला नेपालको संघीय लोकतान्त्रिक शासन प्रणालीको बोर्ड झुण्ड्याएर यसको पछाडि नेताहरुले देशमाथि बलात्कार गरिरहेका छन् । जनता बोल्छन्, संगठित भएर बोल्न सकिरहेका छैनन् ।
लोकतन्त्रमा लोक बलियो हुनुपर्छ । लोक सबैभन्दा कमजोर र दयनीय अवस्थामा तमासो बन्न पुगेको छ । शासन प्रणालीको निर्णय गर्ने लोकबल नेताको बाहुबलमा रुपान्तरण हुनपुगेको छ । नेताहरुको आडमा माफिया र डनहरु हिंस्रक जनावर बनिरहेका छन्, देश र लोकको अस्मिताको सिकार गरिरहेका छन् । यो हिंस्रक राजनीतिको अन्त भएन भने नेपाली अस्तित्वको अन्त हुनेछ । सिक्किमपछि नेपालमा लेण्डुप देखिनेछन् ।
देशघात बलशाली बनेपछि क्विजलिङ, लेण्डुप अथवा मिर्जाफरको उदय हुनसक्ने भय देखिन्छ । यद्यपि नेताहरुको चरीत्र, तिनको क्रियाकलाप र निर्णयहरु राष्ट्रघातक देखिन्छन् । नर्वेको आधिपत्य हिटलरलाई सुम्पेवापत हिटलरको निगाहमा प्रधानमन्त्री बनेका क्विजलिङले गरेको राष्ट्रघातका लागि उनलाई १९४५ मा मृत्युदण्ड दिइयो । सिक्किमको सर्वस्व १९७५मा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई सुम्पेका लेण्डुप दोर्जी गान्धीको निगाहमा मुख्यमन्त्री त बने । लेण्डुपे चरित्रहरु नेपालमा शक्तिशाली त छन्, तिनीहरु क्विजलिंग, मिर्जाफर वा लेण्डुप नबनुन् ? जनता अचेत छैनन् । चेतना भया ।

 

footer