kumari
stcnepal

हिजो काठमाडौंको तापक्रम २५ बर्षयताकै उच्च, हिजोको तापक्रम ३५°३ डिग्री

लगातार उकालो लागिरहेको काठमाडौंको अधिकतम तापक्रम शनिबार २५ वर्षयताकै उच्च ३५.३ डिग्री सेल्सियस पुगेको छ । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मापन केन्द्रको रेकर्ड हो । यसअघि २६ अप्रिल १९९९ मा काठमाडौंको अधिकतम तापक्रम ३५.६ डिग्री सेल्सियस मापन भएको थियो । काठमाडौंमा तापक्रम मापन गर्न थालेयता १९६८ देखि हालसम्मको अधिकतम उच्च तापक्रम भने ७ मे १९८९ मा ३६.८ डिग्री हो ।

‘एक–दुई दिन तापक्रम उकालो लागे पनि वर्षाले घटाइदिन्थ्यो । तर, यसपटक वैशाख–जेठभर नै निरन्तर तापक्रम बढ्यो । वर्षा पनि छिटपुट मात्र भयो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘बादल पनि नलाग्ने, चर्काे घाम लाग्ने भएकाले तापक्रम निकै बढेको हो ।’ काठमाडौंमा शनिबार रेकर्ड बन्नुअघि ११, १७ र २८ जेठमा अधिकतम तापक्रम ३४.४ डिग्री मापन भएको थियो । शुक्रबार भने ३३.४ डिग्री रहेकामा एकै दिन १.९ डिग्रीले बढेर २५ वर्षयताकै उच्च तापक्रम मापन भएको हो । काठमाडौंमा शनिबार न्यूनतम तापक्रम पनि २२.५ डिग्री मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार काठमाडौंमा २६ अप्रिल १९९९ मा ३५.६ डिग्री मापन भएपछिका वर्षमा पनि तापक्रम उच्च थियो । १ जुन २००५ मा ३५ डिग्री मापन भएको थियो । त्यसपछि फेरि २४ अप्रिल २००९ मा ३५.२, १३ अप्रिल २०१० मा ३४.६, १३ जुन २०१२ मा ३५.२ र ६ जुन २०१५ मा ३५ डिग्री मापन भएको देखिन्छ । त्यस्तै, २६ अप्रिल २०१६ मा ३४.२ डिग्री मापदन भएकोमा त्यसपछिका कुनै पनि वर्ष ३४ डिग्रीसम्म पुगेको थिएन ।

काठमाडौंको तापक्रम तत्काल घटिहाल्ने सम्भावना नरहेको पूर्वानुमान छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुनी हावा काठमाडौं क्षेत्रमा आइपुग्न अझै दुई–तीन दिन लाग्न सक्छ । ‘कोशी र मधेशका केही ठाउँमा मात्र मनसुनी वायु छ,’ उनले भने, ‘शनिबार काठमाडौं पुग्नै आँटेको मनसुनी वायु फेरि धकेलिएको छ ।’पश्चिमबाट चल्ने हावाले मनसुनलाई रोकिरहेका वेला उच्चचापीय प्रणाली पनि विकास भएपछि झन् समस्या भएको हो । मनसुनी वायु भनेको न्यूनचापीय प्रणाली हो, त्योभन्दा माथि उपल्लो वायुमण्डलमा प्रणाली विकास भएको छ । अहिले कोशीकेन्द्रित रहेको मनसुनी वायुमा पनि वर्षा गराउने पर्याप्त जलवाष्प छैन । मौसमविद् मीनकुमार अर्यालका अनुसार कोशीको ताप्लेजुङ, संखुवासभा क्षेत्रमा लगातार वर्षा भइरहे पनि त्यही प्रदेशको अन्य क्षेत्रमा ठूलो पानी पर्ने गरी प्रणाली विकास भएको छैन । ‘मनसुनी वायुले ठूलो क्षेत्र ओगटेर वर्षा गराउने हुन्छ, तर यसपटकको मनसुनी वायुमा जलवाष्प कम छ, पानी पनि आइसोलेटेड (निश्चित क्षेत्र)मा परिरहेको छ,’ उनले भने ।

अहिलेकै अवस्थामा मनसुन देशभर कहिलेसम्म फैलन्छ भनेर मौसमविद्ले आकलन गर्न सकेका छैनन् । बरु पश्चिम तराईमा चलिरहेको तातो हावाको लहर अझै लम्बिन सक्ने भएपछि मौसम पूर्वानुमान महाशाखाले अर्काे बुलेटिन जारी गर्ने तयारी गरेको छ । ‘मनसुनी वायुमा जलवाष्प पर्याप्त नभएको र बादल बन्न नसक्ने भएपछि यसले पनि अप्ठेरो पारिरहेको छ । मनसुन फैलन सक्ने सम्भावना त हरेक दिन नै हुन्छ । तर, यही स्थितिमा पश्चिमसम्म पुग्न अझै चार–पाँच दिन लाग्न सक्छ । यसपटक औसतभन्दा तीन दिनअघि २८ जेठमा पूर्वी नेपालमा मनसुन पुगेको थियो । तर, मधेशका केही क्षेत्रमा विस्तार भए पनि त्यसबाट अगाडि बढ्न सकेको छैन । गत वर्ष पनि मनसुन भित्रिएको २२ दिनमा मात्र पश्चिम नेपाल पुगेको थियो । जल तथा मौसम विज्ञान विभागले गत वैशाखमा मनसुनीसम्बन्धी प्रक्षेपण गर्दै यसपटक औसतभन्दा धेरै वर्षा हुने, तर सुरुका दुई महिना असार र साउनका केही साता औसतभन्दा कम वर्षा हुने आकलन गरेको थियो ।

लामो समय पानी नपर्दा तापक्रम बढेको हो : मीनकुमार अर्याल, मौसमविद्, मौसम पूर्वानुमान महाशाखा
काठमाडौंमा वैशाख, जेठभर आइसोलेटेड (खडेरी)को अवस्था रह्यो । अलिअलि मात्र पानी पर्‍यो । अहिले पनि बादल कम छ, भएको बादल पनि सुक्खा छ । चर्काे घाम लाग्दा तापक्रम बढेको हो । यसअघि काठमाडौंमा पाँच–सात दिन घाम चर्किएपछि पानी परेर तापक्रम घट्थ्यो र फेरि घाम लाग्थ्यो । त्यही भएर धेरै गर्मी महसुस हुँदैनथ्यो । तर, यसपटक लामो समयसम्म पानी नपरेपछि तापक्रम बढेको हो ।

footer