kumari
stcnepal

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुन सक्ने

काठमाडौँ । मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकबाट काठमाडौँ ल्याइएको मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बर्सात धेरै भएर बाढी आउने अवस्थामा काठमाडौँ ल्याइएको खानेपानी बन्द हुने बताए । हाल आयोजनास्थल र त्यसभन्दा माथिको भागमा कर्मचारी राखेर २४ सै घण्टा बाढीको अवस्था हेरिरहेको र क्षति पुर्‍याउने खालको बाढी आउने अवस्थामा तत्काल पानी बन्द हुने उल्लेख गरे ।

लामिछानेले भने– ‘मेलम्ची आयोजनास्थलमा काठमाडौँतर्फ पानी ल्याउने मुहानसम्मको बाटो बाढीले बगाएको छ । मुहानस्थलमा पानीको मात्रा पनि बढिरहेको छ । केही गरेर माथिल्लो भागबाट बाढी आएर धमिलोपना बढ्यो भने जुनसुकै बेला पनि बन्द गर्नुपर्ने हुनसक्छ । यो दिनदेखि पानी बन्द हुन्छ भनेर मिति भने तोकेका छैनौँ । तर हामी आयोजनास्थलको नजिकै हाई अलर्टमा बसेका छौँ । हामीले २४ सै घण्टा मुहान क्षेत्रमा बाढीको निरीक्षणका लागि कर्मचारीहरू खटाइरहेका छौँ ।’ खानेपानी ल्याउने सुरुङको सुरक्षाका लागि बाढीको अवस्था हेरेर जुनसुकै बेला बन्द गरिने उनको भनाई छ ।

उनले काठमाडौँमा हाल दैनिक १७ करोड लिटर हाराहारी पानी आइरहेको बताए । बाढीको लेदो पसेको अवस्थामा सुरुङमा खतरा उत्पन्न हुने भएकोले जुनसुकै बेला पानी बन्द हुनसक्ने बताए । जहिलेसम्म पानी पठाउन सकिन्छ त्यसका लागि खटिइरहेको र कर्मचारी परिचालन गरिरहेको जानकारी दिए । आयोजनाको गेट बन्द गर्नुपर्ने अवस्थामा ४ जना कर्मचारीलाई तयारी अवस्थामा राखिएको र आयोजनाभन्दा माथिको भागमा बाढी आएको सूचना दिनमा लागि पनि मान्छे राखिएको लामिछानेले बताए । २०७८ साल असार १ गते मेलम्ची नदीमा आएको भीषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाका संरचनाहरूमा ठुलो क्षति पुर्‍याएको थियो । सुरुङभित्र पानी पठाउनुअघि त्यसलाई विभिन्न चरणमा फिल्टर गर्ने, मसिना ढुङ्गा, बालुवा लगायतका छान्ने संरचनाहरू सबै बाढीले बढाएका कारण पनि संवेदनशील हुनुपरेको उनले बताए । अहिले त्यस्ता केही पनि संरचना नभएकोले सुरुङमा बाढीको लेदो पस्ने जोखिम रहेको उनको भनाइ छ ।

लामिछानेले भने– ‘अहिले हामीले खोलाको पानी सिधै सुरुङमा हालिरहेका छौँ, पानी पठाउनु अघिका लागि चाहिने अन्य संरचनाहरू केही पनि छैन । सबै बाढीले पुरेकोले तत्काल बनाउन पनि सम्भव छैन । ४ देखि ५ मिटर अग्लो ग्रेगान अहिले पनि थुप्रिएर रहेको र त्यसलाई हटाउनुपर्ने अवस्था छ । त्यो खोतल्दा पारीपट्टी पहिरो जाने सम्भावना पनि छ ।’ पानी पठाउन बन्द भएपछि मनसुन रोकिएसँगै आयोजना स्थलमा भरिने ग्रेगान सफा गरेर काठमाडौँमा पानी पठाउने बताए । अहिले सुरुङको मुखमा फलामका ठुला पाता राखेर सुरुङभित्र बाढीले ल्याएका ग्रेगान प्रवेश रोक्न सुरक्षा गर्ने काम भइरहेको उल्लेख गरे ।यस्तै आयोजनाको मुहानस्थल आठ सय मिटरदेखि एक किलोमिटर कहाँ सार्न सकिन्छ भन्ने बारेमा अध्ययन कार्य पनि जारी रहेको लामिछानेले जानकारी दिए ।

footer