kumari
stcnepal

बिद्रोह गर्नु जायज थियो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुको प्रतिवाद गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले एमालेमै बसेको भए आफूहरुको बिजोग हुने बताए ।

‘बिद्रोह गर्नु जायज थियो । बिद्रोह नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरु हराएर जाने थिए । दास भएर बस्नुपर्दथ्यो । समर्पण गरेर बस्नुपर्दथ्यो । हामी सबैको भविष्य खत्तम भइसकेको हुने थियो । हामीले देखेका छौं, कतिपय नेताहरुको के भएको छ बिजोग । त्यही बिजोग हाम्रो पनि हुने थियो । त्यस्ता चुनौतीको सामना गरेर अघि बढने आँट गर्‍यौं’, उनले भने । एमालेसँगको बिद्रोह पुष्टि भएन भन्नेहरुको कुरा नसुन्न पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

‘अहिले एउटा कुरा म सुन्ने गर्दछु–यो तीन वटा शब्द तपाईंहरु कसैले नसुन्नुस् । कान बन्द गरिदिए हुन्छ । पहिलो कुरा, विद्रोहको औचित्य पुष्टि भएन । यो वाइयात कुरा सन्दै नसुन्नुस् । तुरुन्त खण्डन गर्नुस् । प्रत्येक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । अहिले पनि भइराखेको छ । दिनदिनै भइराखेको छ’, अध्यक्ष नेपालले भने । पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपालमा कम्युनिस्ट पार्टीहरुको दुई तिहाइ बहुमत भएको अवस्था एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण जोगाउन नसकेको बताए ।

‘संघीय संसदमा हामी करिव दुई तिहाई बहुमतमा थियौं र, यो देशका अहिलेका सात वटा प्रदेश मध्ये हामी ६ वटामा पूर्ण बहुमतमा थियौं । ७५३ वटा पालिकाहरु मध्ये हामी ४ सय भन्दा बढीमा बहुमत प्राप्त गरिसकेका थियौं । देश बाममय बन्दै गइरहेको थियो’, उनले भने, ‘तर जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पुर्‍यायौं, उनी निस्किए–भष्मासुर । यो भष्मासुरको कारणले गर्दाखेरी उनले यो कम्युनिष्ट आन्दोलनलाई क्रमिक रुपले दक्षिणपन्थतर्फ अधोगतितिर बढाउँदै लैजाने काम भयो ।’

footer