kumari
stcnepal

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचारमा पूर्वमन्त्री सहित ५ जनालाई ८ वर्ष कैद फैसला

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार सहित ५ जनालाई ८ वर्षका दरले कैद फैसला गरेको छ ।

विशेष अदालतले मधेश प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार यादव, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई ८ वर्षका दरले कैद तोकेको हो । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमारलाई विशिष्ट पदमा रहेर भ्रष्टाचार गरेको भन्दै थप एक वर्ष एक महिनाको कैद सजाय ठहर भएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार, उनीहरुबाट २ करोड ३५ लाखका दरले विगो असुल्ने र ३ करोड ५९ लाख ६६ हजार रुपैयाँका दरले जरिवाना तोक्ने फैसला समेत भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नामबाट समेत भ्रष्टाचार भएको ठहर सहित सर्लाही लालबन्दीमा रहेको जग्गा र सवारीसाधन जफत गर्न आदेश दिएको छ । सर्पले डसेका बिरामीलाई एन्टीस्नेक भेनम दिइन्छ । एन्टीस्नेक भेनम उत्पादन गर्न सर्पकै विष आवश्यक पर्छ । एन्टीस्नेक भेनमका लागि सर्पका साथसाथै घोडा पनि पाल्नुपर्छ । सर्पले डसेपछि घोडाको शरीरले उत्पादन गर्ने एन्टीबडीबाट एन्टीस्नेक भेनम बनाइन्छ । एन्टीस्नेक भेनमका लागि विनियोजन भएको बजेट अन्यत्र दुरुपयोग भएको अख्तियारको दावी थियो । सर्पपालन गरी त्यसबाट सर्पले डसेका बिरामीहरुका लागि उपचार गर्ने खोप बनाउने भनी झलनाथ खनालका नाममा स्थापित प्रतिष्ठानले प्रदेश सरकारबाट अनुदान लिएको थियो ।

उनीहरुमाथि १७ करोड ९८ लाख ३३ हजार रुपैंयाँ विगो मागदावी सहित विशेष अदालतमा २१ असोज, २०८० मा भ्रष्टाचार मुद्दा दायर भएको थियो । विवादमा परेपछि उक्त संस्थाको नाम फेरेर अहिले राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद बनाइएको छ । विशेष अदालतले ११ असारमा नै भ्रष्टाचारको आरोपमा मुछिएका प्रदेश सरकारका सचिव प्रेम कुमार श्रेष्ठ र सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्व मेयर मानबहादुर खड्कालाई भने सफाइ दिएको थियो । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु माथि एउटा उद्देश्यले लिएको रकम अन्यत्र खर्च गरेको आरोप छ । त्यो बजेटबाट आफूले लाभ र सुविधा लिएको र दिलाएको भन्दै अख्तियारले उनीहरुमाथि सहप्रतिवादी बनाई समान कैद र जरिवाना मागेको थियो । अख्तियारले झलनाथ खनाल प्रतिष्ठानको नाममा खरिद भएको स्कोर्पियो गाडी जफत गर्नुपर्ने भन्दै संस्थालाई पनि प्रतिवादी बनाएको थियो । उसले प्रतिष्ठानको नाममा रहेको ८ विगाहा ९ कट्टा जग्गा पनि जफत गर्न माग गरेको थियो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०७० सालमा इलाम र सर्लाही दुई ठाउँबाट संविधानसभाको चुनाव लडेका थिए । उनले सर्लाहीमा जितेनन् । तर, त्यहीँबाट ‘विषालु सर्प’सँग खनालको नाता जोडियो । विषालु सर्पले टोकेर उपचार नपाई एकजनाको मृत्यु भएको घटना नेता खनालले सर्लाहीको चुनाव प्रचारका क्रममा थाहा पाए । त्यही घटनाबाट उद्वेलित भई नेपालमा सर्प पालन गर्ने र ‘एन्टी स्नेक भेनम’ बनाउने मुख्य उद्देश्य राखी २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को जन्म भएको थियो ।

footer