kumari
stcnepal

७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता छैन : एमाले

काठमाडौँ । नेकपा एमालेले संविधानको धारा ७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता नभएको बताएको छ । एमाले सचिवालय बैठकले गरेको निर्णय सुनाउने क्रममा एमाले नेता प्रदीप ज्ञवालीले अहिले संविधानको धारा २ कि ३ भनेर चलाइएको चर्चा उचित नभएको बताए ।

‘७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता छैन’, ज्ञवालीले भने, ‘अहिले उपधारा ३ कि २ भनेर चलाइएको चर्चा भ्रम फिँजाउनका लागि मात्र भएको हो ।’ उनले यो भन्दा अगाडि नै पटक पटक संसदीय अभ्यासमा प्रयोग भइसकेको पनि बताए । ‘२०७८ साल वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत माग्नुभयो । नेकपा एमालेकै कतिपय सदस्यहरूको अनुपस्थितिका कारण त्यो बेला विश्वासको मतको पक्षमा बहुमत पुगेन’, उनले भने, ‘उहाँले राजीनामा गर्नुभयो । राजीनामा गरेपछि तत्कालीन राष्ट्रपतिले फेरि ७६ (२) अनुसारकै सरकार बनाउन दलहरूलाई आह्वान गर्नुभएको थियो ।’ तर त्यसबेला राष्ट्रपतिले दिएको समयभित्र कसैको पनि माग दाबी भएको थिएन । त्यसपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

त्यस्तै एमालेले संघीय सरकारमा त्यसबेला र अहिले भर्खरै कोशी प्रदेश सरकारको हकमा पनि सर्वोच्च अदालतले एउटै धाराबाट पनि पटक पटक सरकार बन्न सक्छन् भन्ने प्रस्ट पारिसकेको बताए । ‘त्यसैले कुनै पनि संवैधानिक जटिलता छैन । ख्याल गर्नुपर्ने कुरा के हो भने निर्वाचन भइसकेपछि ती धाराहरू क्रमशः प्रयोग हुँदै जान्छन्’, उनले भने, ‘जानी जानी भ्रम फैलाउन खोजिएको हो ।’ उनले संविधान र प्रावधानहरू अस्पष्ट नभएको दाबी गरे ।

footer