kumari
stcnepal

असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर व्यापक चर्चा भएपनि अहिले नै त्यसबारे चर्चा गर्नु हतारो हुने बताएका हुन् । असार २८ गते प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदैछन् । प्रचण्डले सो दिन विश्वासको मत (१३८ सांसदको साथ) प्राप्त गर्नसक्ने अवस्था छैन ।

नेपाली कांग्रेस र एमालेको समझदारी अनुसार प्रचण्डले विश्वासको मत लिन असफल भएपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्नेछन् । त्यसक्रमा पहिलो पटक ओली प्रधानमन्त्री बन्नेछन् । ‘कांग्रेस एमाले समीकरणमा एकपछि अर्को पार्टीले समर्थन गर्दैछन्’, बैठकमा अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘कति दल सरकारमा सहभागी हुन्छन् भन्ने कुनै ठेगान छैन । त्यसैले अहिले नै कति मन्त्रालय कसले लिने र कुन मन्त्रालय कसले पाउने भनेर टुंग्याउन सक्ने कुरा भएन’ बैठकमा ओलीले अघिल्लो सचिवालय बैठकबाट आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारका लागि सबै दललाई अपिल गरेको भन्दै दलहरूले समर्थन गर्ने क्रम जारी रहेको बताएका छन् । ‘दलहरूले समर्थन गर्ने क्रम पनि जारी छ, असार २८ पछिको सिनारियो हेरेर त्यसपछि बैठक बसेर यी कुराहरुमा छलफल गरौला’, अध्यक्ष ओलीको भनाइ थियो ।

उपाध्यक्ष युवराज ज्ञवालीले बुधबारको बैठकमा सरकारबारे छलफल गर्ने कुनै एजेण्डा नभएकाले त्यसबारे छलफल नभएको बताए । ‘बुधबारको सचिवालय बैठकमा नेताहरूको कार्यविभाजनको आधार तय गर्ने एजेण्डामात्र थियो । त्यसैमा छलफल भयो । अरू विषयमा खासै छलफल भएन’, ज्ञवालीको भनाइ छ ।यसैबिच नेकपा एमालेबाट ओली नेतृत्वको सरकारमा अर्थमन्त्रीका रूपमा उपाध्यक्ष विष्णु पौडेल जाने लगभग निश्चित रहेको नेताहरूको भनाई छ । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पौडेललाई अध्यक्ष ओलीले भौतिक मन्त्रालयको नेतृत्व गर्दै सरकारमा जान भनेका थिए । तर, त्यसवेला पौडेलले आफू पार्टीकै काम गर्न इच्छुक रहेको बताएर सरकारमा गएका थिएनन् ।

स्रोतका अनुसार ओली यसपटक प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई दोहोर्‍याउने पक्षमा छैनन् । त्यसैले पौडेलसहित उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई, विद्या भट्टराई, दीपा शर्मा, तारा लामा तामाङ र सूर्य थापा, जुली महतो, ऋषिकेश पोखरेललगायतले मन्त्री बन्ने अवसर पाउने सम्भावना रहेको एमाले वृत्तमा चर्चा छ ।

footer