kumari
stcnepal

भोली नै राष्ट्रपतिबाट संबिधानको धारा ७६ (२) अनुसार सरकार बनाउन दलहरूलाई आवहान हुने निश्चित

काठमाडौं । सत्ता साझेदारी गर्न लागेका संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रवारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष समावेदन दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित रहेकाले संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई गराउने तयारी छ । नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बेला कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर समेत गराएर धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने तयारी भएको हो ।

माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि धारा ७६ को उपधारा ३ को सरकार गठन हुने र देउवा प्रधानमन्त्री बन्ने जिकिर गरिरहेको छ ।राष्ट्रपतिलाई विवादमा तान्न खोजिएपछि कांग्रेस र एमालेले दुई तिहाइ सांसदको हस्ताक्षर र दुईभन्दा बढी दलहरूको समर्थन ओलीलाई रहेको लिखितजानकारी गराउन लागेका हुन् । एमालेका एक नेताले भने- संविधानले प्रष्टै भनेको छ कि, धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र उपधारा ४ विश्वासको मत नपाए मात्र उपधारा ३ बमोजिम ठूलो दलका नेता प्रधानमन्त्री नियुक्त हुने हुन् । तर अहिले प्रचण्डले लिन लागेको विश्वासको मत उपधारा ४ अनुसार होइन ।

विश्वासको मत नपाएपछि स्वतः पदमुक्त हुन्छन् र राष्ट्रपतिबाट उपधारा २ बमोजिम नै दलहरूलाई आह्वान हुन्छ । तर पनि माओवादीले बखेडा झिकेर राष्ट्रपतिलाई विवादमा तान्न खोज्छ भने हामीसँग सांसदहरूको हस्ताक्षर र दलहरूको समर्थन पत्र छ, त्यो लगेर शीतल निवास गइन्छ ।राष्ट्रपति कार्यालयमा सभामुखले विश्वासको मत परिणाम पठाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । यो प्रक्रिया शुक्रवारै शुरु गर्ने तयारी छ । यसबीचमा आवश्यक परेमा राष्ट्रपतिले दलका नेताहरूसँग परामर्श गर्न सक्ने उनका एक सल्लाहकारले बताए । तर संविधान बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिको लागि राष्ट्रपतिले प्रक्रिया थाल्नलाई केहीले नरोक्ने उनको भनाइ छ ।

footer