kumari
stcnepal

आर्थिक वर्ष २०८०/८१मा उत्कृष्ट कार्य गर्ने १० प्रहरीलाई विशेष बढुवा

काठमाडौं । उत्कृष्ट कार्य गर्ने १० प्रहरीलाई विशेष बढुवा गरिएको छ । आर्थिक वर्ष २०८०/८१ भर गरेका कामको आधारमा प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले १० प्रहरीलाई विशेष बढुवा गरेका हुन् ।

बढुवा हुनेमा जवानदेखि सईसम्मका १० जना छन् । जसमा प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सन्जेललाई वरिष्ठ सई मा बढुवा गर्ने निर्णय भएको छ । उनी लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत छन् । अर्का सई ईश्वर खत्रीलाई पनि वरिष्ठ सईमा बढुवा निर्णय भएको आईजीको सचिवालयले जनाएको छ । त्यसैगरी प्रहरी सहायक निरीक्षक (असई) खत्रीलाई सईमा बढुवा गर्ने निर्णय भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा प्रहरी कार्यालयमा कार्यरत अर्का वरिष्ठ हवल्दार दीपेन्द्र चन्दलाई असईमा बढुवा गर्ने निर्णय भएको छ । उनी लामो समयदेखि विमानस्थल सुरक्षामा खटिँदै आएका छन् ।

प्रहरी सहायक हवल्लार प्रभातकिरण श्रेष्ठ, अमरराज मिश्र, रविना राईलाई प्रहरी हवल्दारमा विशेष बढुवा गर्ने निर्णय भएको छ । प्रहरी जवानहरू भरत शाही, सूर्य कुँवर र पहलमान शाही पनि प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् । विशेष बढुवा भएका सबैलाई भोलि, बुधबार दज्र्यानी चिह्न प्रदान गरिने बताइएको छ । प्रहरी नियमावलीको दफा ३९ मा बढुवा सम्बन्धी विशेष व्यवस्था छ । जसमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई राजपत्र अनंकित पदसम्म एक तहमाथि बढुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजी)लाई दिइएको छ । जसअनुसार आईजीले वरिष्ठ सईसम्म बढुवा गर्न सक्नेछन् ।

प्रहरीको नीति समन्वय समिति (पीसीसी)ले सिफारिस गरेका उम्मेदवारलाई वरिष्ठ सईसम्मको विशेष बढुवा गर्न सकिने नियमावलीमै उल्लेख छ । विशेष बढुवाका लागि केही आधारहरू पनि राखिएका छन् । जसमा राष्ट्र तथा आफू सेवारत प्रहरी कार्यालयको मान, प्रतिष्ठा र गौरव बढाउन प्रशंसनीय, सिर्जनात्मक र लगनशील काम गरेको हुनुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न उत्कृष्ट कार्य गरी राष्ट्र र प्रहरी संगठनको छवि उच्च राख्न विशेष योदान पुर्‍याएको हुनुपर्ने, प्रहरी सेवामा रही कर्तव्य निर्वाह गर्दा वीरगति प्राप्त गरेको वा शारीरिक रुपमा अशक्त भई सेवा अवकाश लिनुपर्ने भन्ने मापदण्ड राखिएको छ ।

यसरी बढुवा गरिएको १५ दिनभित्र यसको कारण र गरेका उत्कृष्ट काम समेतको विवरण गृह मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ । यसरी बढुवा गर्दा एक आर्थिक वर्षमा बढीमा १० जनालाई मात्रै विशेष बढुवा गर्न सकिने उल्लेख छ । सोहीअनुसार १० जनालाई बढुवा गर्ने निर्णय गरिएको प्रहरी हेडक्वाटरले जनाएको छ ।

footer