kumari
stcnepal

श्रीलंकाको हारसँगै नेपाल सेमिफाइनलमा

नेपालमा जारी साफ यू–२० च्याम्पियनसिपमा समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । तीन राष्ट्र सम्मिलित समूहमा श्रीलंकाले लगातार दोस्रो हार व्यहोरेपछि सेमिफाइनलमा पुग्ने टोली तय भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह चरणको दोस्रो खेलमा बंगलादेशले श्रीलंकामाथि २-० को सहज जित निकाल्यो । बंगलादेशले दुवै हाफमा एक-एक गोल गरेको थियो ।खेलको शुरुवातदेखि नै बंगलादेश लगातार अवसर बुने पनि सफल हुन सकेन। तर १८ औं मिनेटमा बंगलादेशले श्रीलंकाको खराब डिफेन्सको फाइदा लिँदै अग्रता लियो । रवि हुसेन राउलले लेफ्ट साइडमा दिएको बललाई पेनाल्टी बक्समा एक्लै रहेका मिराजुल इस्लामले वान टच गोल गरे ।

२९ औं मिनेटमा रोस्तम इस्लाम डुखु मियाले अग्रता दोब्बर बनाउने अवसर गुमाए । उनले नजिकै बाट गरेको प्रहार आकासिन पुग्यो । बंगलादेशका चन्दन रोयले ३८ औं मिनेटमा करिव २२ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार श्रीलंकाका गोलकिपर अहमेद फुलैलले सहजै रोके । पहिलो हाफको इन्जुरी समयमा बंगलादेशका स्ट्राइकर मिराजुल इस्लाम श्रीलंकाका गोलकिपर फुलैलसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न असफल भए । श्रीलंकाले पहिलो हाफमा खासै राम्रो अवसर बुन्न सकेन । यससँगै पहिलो हाफमा बंगलादेश १–० ले अगाडि रह्यो ।

दोस्रो हाफमा पहिलो अवसर सिर्जना हुन ५९ औं मिनेट पर्खनुपर्यो । स्यान मोहम्मद साहिलले राइट कर्नरबाट गरेको सशक्त प्रहार बंगलादेशका गोलकिपरले पन्च गर्दै आफ्नो टोलीको अग्रता जोगाइराखे । बंगलादेशले ६३औं मिनेटमा कर्नरबाट गरेको प्रहार श्रीलंकाका गोलकिपरले उत्कृष्ट बचाउ गरे । ८५ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो । पियास अहमेद नोभाले श्रीलंकाको खराब डिफेन्सको फाइदा लिँदै पेनाल्टी बक्सबाटै उत्कृष्ट गोल गरे । त्यसपछि पनि बंगलादेशले केही अवसर बनाए पनि सफल हुन नसके पनि श्रीलंकामाथि २–० को जित निकाल्यो ।

पहिलो खेलमा श्रीलंका घरेलु टोली नेपालसँग पराजित भएको थियो । अब नेपाल र बंगलादेशबीच समूह विजेताका लागि बिहीवार खेल हुनेछ ।

footer