kumari
stcnepal

३०० औँ पृथ्वीजयन्तीको उपलक्ष्यमा पूर्वराजा भन्नुहुन्छ

 

पूर्व राजा ज्ञानेन्द्र शाहले वडामहाराज धिराज पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्तीको उपलक्षयमा एक लिखित व्यक्क्तय प्रकाशित गर्दै भन्नुभएको छ । जो यस प्रकार छ ।
पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको उपलक्ष्यमा बक्सेको शुभकामना । श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको पुनित अवसरमा समस्त देशभक्त एवं राष्ट्रप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दछौं ।

हामी सगर्व भन्ने गर्दछौं – हाम्रो राष्ट्र नेपाल- हामी नेपाली । मन र मगजले स्वाभिमानका साथ भन्दछ -स्वतन्त्र, सार्वभौम र गौरवशाली नेपाली । हामीलाई यस्तो वैभव प्रदान गर्ने हाम्रा अमर तथा ऐतिहासिक धरोहर श्री ५ वडामहाराजाधिराजको राष्ट्रभक्ति, साहश र नेपाली आट -आकांक्षाबाट नै यो सुन्दर फुलबारी नेपाल राष्ट्रको सिंगो स्वरुप खडा भएको हो । राष्ट्रियताका आधारहरु माथी प्रहार भई देशको अस्तित्व समेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व र वडामहाराजाधिराजका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महशुस हामीले गरेका छौं । राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको सम्वेदनशिलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौं ।

देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन् । राष्ट्रको कीर्ति र जनताको सुखी बाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन सक्दैन । जन इच्छा र प्रगतिसंग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसुकै चयन गरियुन, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ । प्रणाली केवल साधन हुन् ।

साधन परिवर्तनलाई नै महान उपलव्धीका रुपमा वर्णन गर्ने प्रयास हुंदै आएका छन् । सबै भन्दा उन्नत दावि गरिएको तन्त्रमा जनताले सास्ति र राष्ट्रले अस्तित्व प्रतिनै चिन्ता गर्नु पर्ने परिस्थिति बन्दछ, भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय वरवाद गर्न नहुने निश्कर्षमा पुग्न विलम्व गरिनु हुंदैन । हम्रो भूगोल, माटो र पन – आफ्नै धर्म संस्कृति एवं गतिविधि नै हामीलाई प्यारो र राम्रो लाग्छ । आफ्नो गौरवमय अस्तित्वलाई जोगाइ राख्न हिमाल, पहाड र तराइका सबै हामी एक बनौं । हाम्रो राष्ट्रियता सुदृढ राखौं अनि समग्र राष्ट्रलाई सिंगारौं भन्ने हाम्रो आजको आकांक्षा र आवश्यकता हो । जय नेपाल । २०७८ पुस २७ गते

footer