kumari
stcnepal

कोरोना संक्रमणबाट थप ३२ जनाको निधन , ३,५४० जना संक्रमित

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिएकी छन् ।

उनका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ । त्यस्तै माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनामा र दुई हजार ८८३ एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी कुल तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित छन् भने ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

उपत्यकामा १ हजार ७८८ संक्रमित थपिए

यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार काठमाडौंमा १,२३२, ललितपुरमा ३७९ र भक्तपुरमा १६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

यस्तै सबैभन्दा धेरै कास्कीमा १८६, मोरङमा ११७ , कैलालीमा ११०, झापामा ७४, बाँकेमा ५९, सुनसरीमा ५८ र कञ्‍चनपुरमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यसैगरी नुवाकोटमा ४२, काभ्रेपलाञ्चोकमा ४०, धनुषामा २९, रुपन्देहीमा २७, स्याङ्जामा २६, सप्तरीमा २३ र तनहूँमा २० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

 

footer