kumari
stcnepal

दलित समूह बाट पहिलो सिडियो बनिन सीता परियार

उपसचिव सीता परियार दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी छिन् । गृह मन्त्रालयले उनलाई हुम्लाको सिडिओको जिम्मेवारी दिएको छ ।

कास्कीको रूपा गाउँपालिका– ६ की स्थायी बासिन्दा परियार ०६८ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । त्यसको तीन वर्षपछि नै खुला प्रतियोगिताबाट उपसचिवमा नाम निकालेकी उनी पछिल्लो समय जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिइन् ।

दलित समुदायबाट पहिलो महिला सिडिओ हुन पाउँदा आफूलाई गर्व लागेको उनले बताइन् । ‘आफ्नो समुदायबाट पहिलो महिला सिडिओ हुन पाउनु गर्वको कुरा हो,’ उनले  भनिन्, ‘गृह मन्त्रालयले जुन जिम्मेवारी दिएको छ, त्यसलाई व्यावसायिक भएर तन, मन र ध्यान दिएर पूरा गर्ने प्रयास गर्नेछु ।’

त्यस्तै, गृृहले नुवाकोट, धनकुटा, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको पनि सरुवा गरेको छ । धनकुटामा उपसचिव युवराज कट्टेल, नुवाकोटमा सहसचिव नारायणप्रसाद रिसाल, रुकुम पूर्वमा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई सिडिओका रूपमा पठाइएको छ । पाँच जिल्लाका सिडिओको नियमित सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका हुन ।

 

 

footer