kumari
stcnepal

नेकपा भनेको ओली दाहाल, ओली–दाहाल भनेका नेकपा

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको झण्डै १५ महिनापछि नेकपाका केन्द्रीय नेताहरुको कार्य विभाजनको गाँठो फुकेको छ । नेताहरुको कार्यक्षमता, योग्यता र दक्षताले भन्दा भावी राजनीतिलाई हेरेर दाउपेच, गुटगत प्रभावका आधारमा गाँठो फुकाइएको आरोप पार्टीका अध्यक्षद्वय लगायत अन्य वरिष्ठ नेताहरुमाथि लागेको छ । पार्टीको बैधानिक निकाय र जिम्मेवार निकायमा कुनै छलफल र वहसै नगरी दुई अध्यक्षको सहमतिले मात्र पार्टीको गतिविधि र जिम्मेवारीहरु बाँडफाँड हुन थालेको हुनाले दुई तिहाई नजिकको सत्ताको साँचो बोकेको पार्टीभित्र आन्तरिक लोकतन्त्र भने हराएको छ । आफ्नै पार्टीभित्र आन्तरिक लोकतन्त्र लागू गर्न नसक्ने पार्टीले मुलुकमा लोकतन्त्रको कुरा गर्नु हुटिट्याउँले आकाश थाम्छु भन्नु सरह भएको छ ।

तत्कालिन नेकपा एमालेले पार्टी सञ्चालन गर्दा दुरुस्त, चुस्त, जीवन्त पार्टी संगठन चलाएको थियो । त्यसबेला नेकपा एमालेभित्र गुट, उपगुट भएपनि सडकमै पार्टीको बारेमा विवाद उत्पन्न हुने गरेको थिएन तर नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको १५ महिनासम्म एकीकृत पार्टीले पूर्णता पाउन सकेन । पार्टी एकीकरण गर्दा तीन महिना भित्रमा पार्टीले पूर्णता पाउने भनिएता पनि पार्टीगत स्वार्थ, व्यक्तिगत स्वार्थ र भावी राजनीतिलाई हेरेर झण्डै १५ महिनासम्ममा पनि पार्टीले पूर्णता पाउन सकेको थिएन । बल्लतल्ल पार्टीले पूर्णता पाउन लागेको भएपनि अहिले नै फेरी विवाद उत्पन्न भएको छ । पार्टीको विधानमै नभएको उपाध्यक्ष पदमा बामदेव गौतमलाई नियुक्त गर्ने निर्णय दुई अध्यक्षबीच भएको हुनाले त्यसको विरोध सुरु भएको छ ।

दुई अध्यक्षले निर्णय गरेर अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय भएसँगै अहिले पार्टीको चौथो मर्यादा क्रममा रहेको पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूलाई तेस्रो मर्यादाक्रममा राख्नुपर्ने माग गरेपछि अहिल तेस्रो मर्यादाक्रममा रहेका अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आक्रोशित भएका थिए तर, झलनाथ खनाललाई नै पार्टीको तेस्रो मर्यादा क्रममा राखिएपछि अझ आक्रोशित भएका छन् । नेता खनालले पार्टी एकता हुनुभन्दा पहिला नेकपा एमालेको आफूँ वरिष्ठ नेता भएकाले आफूलाई अन्याय गरिएको भन्दै दुई अध्यक्ष पछिको मर्यादा क्रममा आफूलाई राख्नुपर्ने माग पार्टीभित्र गर्दै आएका थिए । पार्टीमा नेता खनालको भन्दा नेता नेपालको प्रभाव बढी भएको र सचिवालयमा समेत उनको प्रभाव रहेकोले खनाल नेपाल विवाद तत्काल समाधान हुन सक्ने सम्भावना देखिएको थिएन तर, अध्यक्षद्वयको निर्णयपछि नेता खनाल नै तेस्रो वरियताक्रममा पुगेका छन् ।

पछिल्लो समयममा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी संगठन र जिम्मेवारीमा फरक फरक ढँगले नियुुक्ति हुने गरेको थियो । एमालेमा चुनावी प्रक्रियाबाट हुन्थ्यो भने माओवादीमा अध्यक्षको निर्णयबाट हुने गरेको थियो । अहिले नेकपा तत्कालिन माओवादीकै बाटोमा हिडेको छ । अध्यक्षद्वयले निर्णय गरेर नेता भएको प्रमाण दिन थालेका हुनाले कार्यकर्ताहरुको मनोबल समेत खस्किँदै गएको छ । त्यसैकारण नेकपामा हुकुमी शैली र नेताहरुको छायाँमा पार्टी संगठन पर्न थालेको आभाष पाउन थालिएको छ ।

पार्टी एकीकरण भएको १५ महिना भएपनि केन्द्रीय समितिको बैठकसम्म बस्न सकेको छैन । पोलिटव्यूरोको गठनमै लामो समय वितेको छ । नेकपामा अहिले न पोलिटव्यूरोको बैठक हुन्छ न त स्थायी समितिको बैठकमै छलफल हुने गरेको छ । स्थायी समिति जस्तो बैधानिक निकायमा छलफल र बहस नै नगरी दुई अध्यक्षको प्रस्तावलाई ताली बजाउनैका लागि नौ जना रहेका सचिवालय समिति बनाएको छ । सचिवालयले निर्णय ग¥यो भनेर दुई अध्यक्ष निर्णयलाई सार्वजनिक गर्ने गरिएकोले गर्दा सार्वजनिक विषय र राष्ट्रिय मुद्दादेखि पार्टीको आन्तरिक जीवनबारेमा छलफल समेत हुन नसकेको हुनाले नेकपाको मात्र होइन सिंगो व्यवस्थाप्रति नै नकारात्मक सन्देश गएको छ । आफूलाई कम्युनिष्ट बताउनेहरुले कम्युनिष्टको विशेषता (क्याटरवेस) कार्यकर्तामुखी हो । पार्टी एकतापछि कार्यकर्तामा छलफल बहसविनै पार्टी सञ्चालन हुन्छ र पार्टीको र सरकारको बीचमा नै मतभेद रहेको अवस्थामा कम्युनिष्टको स्थिर सरकार भएपनि जनतामा जनताले पाउने सेवा र सन्देश दिन नसक्दा एक प्रकारको भ्रम जनतामा परेको छ ।

प्रधानमन्त्री ओलीले तत्कालिन नेकपा एमालेको सातौं महाधिवेशनमा पार्टीभित्र लोकतान्त्रिककरणको प्रस्ताव नै पेश गरेका थिए । तर अहिले आफ्नो हातमा सत्ता आएपछि पार्टीको चाबी समेत आफ्नै हातमा रहेको पार्टीभित्रको लोकतान्त्रिकरणलाई ठप्प बनाएका छन् । त्यसमा उनलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले सघाइरहेका हुनाले भन्न सकिन्छ नेकपा भनेको ओली, दाहाल हुन्, ओली दाहाल भनेकै नेपाल कम्युनिष्ट पार्टी हुन् भनेर । उनीहरुले त्यो सिको तत्कालिन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबाट सिकेका हुन् । कुनै बेला नेपाली काग्रेसभित्र गिरिजा प्रसाद कोइराला भनेका नेपाली कांग्रेस हुन् र नेपाली कांग्रेस भनेको गिरिजा प्रसाद कोइराला हुन् भन्ने गरिन्थ्यो । अहिले नेकपाभित्र ठ्याक्कै त्यस्तै भएको हामीले महसुस गरेका छौं । त्यो मुलुक र नेकपाकै लागि दुर्भाग्यको विषय हुनसक्छ भन्ने हामीले ठानेका छौं ।

footer