kumari
stcnepal

बानेश्वरबाट आएको गणतन्त्र सिंहदरबारमा घाइते

२०६२/०६३ को नारा थियो अब कहिल्यै कसैले खोस्न नसक्ने पूर्ण प्रजातन्त्रको बहाली गर्ने । यो नारा सफल भयो । त्यही नाराका आधारमा मुलुकमा नयाँ संविधान जारी गरी लागू गरियो । तर त्यसबेला जनतालाई आफ्नो पछि लगाउन सफल भएका राजनीतिक दलहरु नै अहिले पूर्ण प्रजातन्त्र खोसिन लागेको भन्दै फेरी एकपटक आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ भनिरहेका छन् । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा तत्कालिान राजा ज्ञानेन्द्रले संसद विघटन गरेका थिए । तर त्यस बेला हिंसात्मक आन्दोलनमा रहेका माओवादीलाई संसदीय अभ्यासमा ल्याउन विघटन भइसकेको संसदलाई पुन व्यूँताइयो । विघठित भएको संसद राजाको मर्जीले विघटन भएको थिएन र राजाको मर्जीले स्थापित पनि भएको थिएन ।

प्रधानमन्त्रीको सिफारिसमै विघटन र पुर्नः स्थापना भएको थियो । २०१७ सालमा लागू भएको पञ्चायती व्यवस्था समेत राजाको हुकुम प्रमाणीबाट समेत गठन र विघटन भएको इतिहास नरहेको बेला आन्दोलनरत दलहरुले नेपाली जनताको अधिकार खोसेर आफ्नो स्वार्थ पुरा गर्न विघटन भइसकेको संसद पुर्नस्थापना गर्नु असम्वैधानिक दबाब दिएका र १२ बुँदे सहमति र आन्तरिक तथा बाह्य दवावमा परेर राजा असम्वैधानिक कार्य गर्न बाध्य भए अर्थात बाध्य पारिए । विघटन भएको संसद राजाको आदेशबाट पुन स्थापना भयो । त्यसबेला राजाले मुलुकमा थप मुडभेद र हिंसात्मक काम नहोस् भनेर असम्वैधानिक कार्य गर्न तयार भएको हुनुपर्दछ ।

राजाबाटै पुर्नस्थापना भएको संसदले नै कहिल्यै कसैले खोस्न नसक्ने प्रजातन्त्रको लागि आधार तयार ग¥यो । त्यही कारण मुलुकबाट राजतन्त्र हटाइयो, मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो, एकात्मक प्रणालीबाट मुलुकलाई संघीयतामा लगियो । अहिले दलहरुले नै जनताको मत आफूहरुसँग भएको भन्दै मनपरी निर्णय गरेका हुनाले अहिले मुलुकमा विभिन्न खालका समस्याहरु थपिएका छन् । उद्यारो रुपमा जनतलाई लादिएको धर्म निरपेक्षता लगाएका अन्य केही विषयहरु अहिले पनि विवादकै घेरामा रहेका छन् । हिन्दुत्व, एकात्मक राज्य प्रणाली र राजतन्त्र नै मुलुकको विकासका लागि बाधक भनेर यी तिनवटै अवरोधलाई एकै पटक फालिए पनि दलहरुले त्यसबेला देखेका अवरोधहरु अहिले अवरोध होइन रहेछन् भनि विस्तारै प्रमाणित हुँदै गएको छ ।

अहिले मुलुक गणतन्त्रमा गएको छ । राजा हिन्दुत्व र एकात्मक राज्य प्रणालीबाट अलग रहेको गणतन्त्रले सम्वैधानिक हैसियत पाएपनि गणतन्त्र आएको आधा देशक नवित्दै गणतन्त्र कुरुप र बोझिलो हुँदै गएको छ । अर्थात अहिले जनताको नजरमा गणतन्त्रमाथि प्रश्न उठ्न थालेको छ । त्यसै कारण जनता दिनप्रतिदिन निराश बन्दै गएका छन् । बाहिरी रुपमा हेर्दा मुलुकमा गणतन्त्र रहेको जस्तो देखिएपनि भित्री रुपमा अधिनायकवादमा मुलुक रुपान्तरण भइरहेको छ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी पछिल्लो समयमा अधिनायकवादको मार्गतर्फ उन्मुख हुँदै गएको छ । एक व्यक्तिमा सबै अधिकारहरु राखी हुकुमी शासन गर्ने गरी अघि बढ्दै गएको छ ।

अर्कोतर्फ संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमेत आफ्नो पार्टीभित्रको अन्तरविरोध र पार्टीको मूल सिद्धान्तभन्दा बाहिर गएपछि आफ्नो अकर्मण्यताका कारण राजनीतिक रुपमा लाचार छायाँ जस्तो देखिएको छ । कांग्रेसको अकर्मण्यताकै कारण र पार्टी स्थापनाको उदेश्य विपरित कांग्रेस हिँडेको हुनाले उसले जनताको विश्वास जित्न सक्ने अवस्थामा ऊ रहेको छैन । हिजोका आन्दोलनकारीहरु समेत अहिले गणतन्त्रकै विपक्षमा रहेका अनेक प्रकारको अभिव्यक्ति दिइरहेका हुनाले पछिल्लो समयमा गणतन्त्र नै घाइते भएको छ । गणतन्त्रलाई अरु कसैले नभएर हिजोका गणतन्त्रका सम्वाहकहरुले नै घाइते बनाएका हुन् । उनीहरुले आफ्नो अकर्मण्यता र असक्षमता लुकाउनका लागिमात्र अरुलाई दोष लगाउन थालेका छन् ।

हिजो सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउने प्रतिवद्धता जनाउने दलहरुले अहिले सिंहदरबारको अधिकार होइन भ्रष्टाचारमा भने गाउँ गाउँ होइन टोल टोल र गल्ली गल्लीमा पु¥याएका छन् । त्यसको प्रत्यक्ष प्रमाण हो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिनहुँ सरकारी कर्मचारीहरुलाई घुस लिँदालिँदै पक्राउ गर्नु । पछिल्लो समयमा मुलुकमा बेथिति बढेको छ भ्रष्टाचार बढेको छ । हत्या हिंसाका घटना बढेका छन् । निर्मला पन्तको हत्याराहरु पक्राउ पर्न सकेका छैनन्, ३६ किलो सुन काण्ड सेलाएको छ, सत्ताधारी दलकै पदाधिकारी बालुवाटार जग्गा काण्डमा मुछिएपनि उनीमाथि कारबाही हुन सकेको छैन । जनताले सहज रुपमा सेवा सुविधा पाउन सकेका छैनन् । संघीयतालाई बचाउन र गणतन्त्रलाई बचाइराख्न जनताको ढाड भाँचिने गरी कर बढाइएको छ । यी सबै विकृत्तिहरुले गर्दा र सरकारले जनताको कुरा सुन्न छाडेको हुनाले, जनता नकारात्मक अभिव्यक्ति दिने मान्छेको पछाडि कुद्न बाध्य भएका छन् । गणतन्त्र आएपछि मुलुक स्वर्ग बन्दछ भन्नेहरु अहिले मौन रहेका छन् ।

१७ हजार निर्दोष जनतालाई बलीमा चढाउने त्यत्तिनै गौतमवुद्ध बन्न खोजेर जनतालाई ढाँटिरहेका हुनाले यस्तो बेथितिको अन्त्यका लागि जनता सडकमा नआएर कहाँ जाने त ? यी सबै कार्यहरुले गर्दा अब पनि सरकार र राजनीतिक दलहरुको आँखा नखुल्ने हो भने गणतन्त्रको भविष्य नै संकटमा पर्न सक्ने सम्भावना रहेको छ । गणतन्त्र नै संकटमा पर्ने सम्भावना देखेपनि स्वयम् प्रधानमन्त्रीले गणतन्त्र र संघीयता बचाउन प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नु प्रधानमन्त्रीको लागि लज्जाको विषय हो । गणतन्त्र अरु कसैको कारणबाट संकटमा परेको होइन सरकार र राजनीतिक दलहरुकै कारण हो । उनीहरुकै कारण गणतन्त्र नै घाइते भएको छ । खोइ के हुन्छ अहिले नै केही भन्न सकिने अवस्था हामीले देखेका छैनौं, त्यसैले गर्दा हामी भन्न बाध्य भएका छौं, बानेश्वरबाट आएको गणतन्त्र सिंहदरबारमा घाइते भएको छ ।

footer