kumari
stcnepal

प्रधानसेनापतिलाई बिवादमा तान्ने प्रयास भएको भन्दै सेनाले भन्यो

प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास भएपछि सेना बोलेको छ । केही दिन अघि अमेरिकी सहयोग परियोजना एमसीसी संसद बाट पास गर्न नहुने भन्दै प्रधानसेनापति प्रभुराम शर्मा​ले भाषण गरेको भन्दै भ्रामक भिडियो सामाजिक सञ्जालमा देखिएको थियो ।

त्यस बारेमा बोल्दै सेनाले सेनाका गतिविधि सँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी समाजमा भ्रम फैलाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार जंगी अड्डाले विज्ञप्ति जारी गर्दै नेपाली सेनाका गतिविधि सँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी संवेदनशील विषयहरु सेना सँग जोडी आफ्नो निहित स्वार्थ र नियत पूरा गर्न समाजमा भ्रम फैलाएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

सेनाको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रविन्दुमा राखी संविधान ऐन कानुनको परिधि भित्र बसी कानुन एवं विधि सम्मत चल्ने अराजनैतिक छवि भएको संस्थाको प्रतिष्ठा र नेतृत्वको निष्ठा एवं मर्यादामा समेत गम्भीर आघात पुर्‍याउने यस किसिमका अनर्गल प्रचार प्रसारहरु प्रति नेपाली सेना खेद प्रकट गर्दछ । यस्ता भ्रमहरु बाट टाढा रहन र अरुलाई पनि टाढा राख्‍न लगाउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।’ सेनाले सामाजिक सञ्जालमा नक्कली परिचय बनाई भ्रम फैलाएको उल्लेख गरेको छ ।

footer