kumari
stcnepal

जसपा भित्रको बिवाद, अब तिन नेताले नै निणॅयमा सही गर्नु पर्ने

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूमा एक अर्का प्रति अविश्वास बढ्दो छ । यही अविश्वासका कारण पार्टीले गरेका निर्णयहरू समेत सार्वजनिक हुन सकेका छैनन् ।

पछिल्लो समय पार्टीले कुनै पनि निर्णयमा तीन जना नेता जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले हस्ताक्षर नगरे सम्म त्यो सार्वजनिक नगर्ने नीति बनाएको छ । पार्टीमा नेतृत्वका लागि विवाद भइरहेको छ । त्यसैले अध्यक्ष यादवले गर्ने निर्णयहरू प्रति अध्यक्ष भट्टराई पक्षका नेताहरूले शंकाको दृष्टिले हेरिरहेका हुन्छन् ।

पछिल्लो समय पार्टीका अध्यक्ष यादवले भएका निर्णयहरू लुकाउने र नभएका निर्णयहरू सार्वजनिक गरिदिने जस्ता काम गरेको आरोप भट्टराई पक्षका नेताहरूले लगाएका छन् । माइन्युट बुक हेर्दा जथाभाबी निर्णयहरू भएको, त्यसमा उपस्थिति मात्र देखाइएको तर हस्ताक्षर नभएका निर्णयहरू पनि त्यसमा उल्लेख भएको, अध्यक्षको मात्र हस्ताक्षर देखिएको कारण आशंका उब्जिएको भट्टराई पक्षका नेताहरूको आरोप छ ।

त्यही भएर अबदेखि हुने कुनै पनि निर्णयमा तीनजना शीर्ष नेताहरूको हस्ताक्षर अनिवार्य बनाइएको छ । निर्णयमा तीनजनाले हस्ताक्षर गरेपछि मात्र त्यसलाई सार्वजनिक गर्ने सहमति गरिएको छ । अब माइन्युटमा उपस्थित हुने सबैको हस्ताक्षर हुनुपर्नेछ । उनीहरूको उपस्थितिमा निम्न एजेण्डा माथि छलफल गरी निर्णय भएको भनेर माइन्युटमा उल्लेख गर्नुपर्छ । निर्णय लेखिसकेपछि अन्त्यमा सम्भव भए त्यहाँ उपस्थित सबै जनाको हस्ताक्षर नभए तीन जनाको हस्ताक्षरलाई अनिवार्य बनाइएको छ ।

अध्यक्ष यादव र परिषद् अध्यक्ष भट्टराईले एक अर्का माथि शंका गरेको कारण पार्टीमा विवाद बढ्दै गएको हो । सोही विवादका कारण कार्यकारिणी समितिको बैठक समेत अनिश्चितकालका लागि स्थगित भएको छ । तीन जना शीर्ष नेताहरूको बीचमा सहमति भएपछि मात्र कार्यकारिणी समितिको बैठक बोलाउने भनिए पनि पछिल्लो समय तीन जना बीच छलफल हुन छाडेको छ । दुईटै पक्षको छुट्टा छुट्टै छलफलहरू डाकिरहेका छन् । एक अर्का विरुद्धमा रणनीतिहरू बनाउन व्यस्त छन् ।

 

 

footer