नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ जना विरुद्ध दायर रिटको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको रिट आइतबारको पेसीमा चढेको हो ।
एकीकृत समाजवादी पार्टीको वैधानिकता, माधवकुमार नेपाल लगायतको सांसद पद र सभामुख विरुद्धको रिटमा सुनुवाइका लागि आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलास तोकिएको छ । आइतबारको पेसी १२ औँ पटकको पेसी हो ।
यसअघि ११ पटकसम्म चढेको पेसीमा पहिलोपटक कारण देखाऊ आदेश जारी भएको थियो भने दोस्रो पटकको आदेशमा सक्कल कागजात झिकाउने आदेश भएको थियो । त्यसपछिको अधिकांश पेसी हेर्न नभ्याउनेमा परेको थियो भने फागुन १ गतेको पेसी महान्यायाधिवक्ता कार्यालयबाट स्थगित भएको थियो । लामो समय हेर्न नभ्याउने लगायतका सूचीमा परेको उक्त रिटलाई सर्वोच्चले हालसालै अग्राधिकार दिएको थियो । अग्राधिकार प्राप्त भएपछि उक्त मुद्दामाथिको सुनुवाइ अब छिटो छिटो हुनेछ । आइतबार पेसी सूचीको तेस्रो नम्बरमा रहेको कारण आइतबार सुनुवाइ भई केही आदेश आउने अपेक्षा गरिएको छ ।