kumari
stcnepal

सरकारले निजामती कर्मचारीका छोरा छोरीलाई पाँच लाख सम्म पढाइ खर्च दिने

सरकारले निजामती कर्मचारीका छोरा छोरीलाई पाँच लाख सम्म पढाइ खर्च दिने भएको छ ।

शैक्षिक योग्यताको आधारमा कर्मचारीका सन्ततिलाई २० लाख रुपैयाँ सम्म लाग्ने शिक्षण शुल्कमा ५ लाख सम्म शैक्षिक प्रोत्साहन वृत्ति शीर्षकमा खर्च दिने गरी नीति बनाइएको छ ।बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलव्ध गराउने सम्बन्धी निर्देशिका,२०७८’ जारी गरेको छ । निर्देशिका अनुसार बहाल रहेका स्थायी कर्मचारीका छोरा वा छोरी र हाल सार्वजनिक संस्थानमा नियुक्त भएका पूर्व निजामती कर्मचारीका छोरा छोरीले शैक्षिक प्रोत्साहन वृत्ति पाउनेछन् ।

स्वदेशी विश्वविद्यालयका आंगिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थाको स्नातक तहको प्रथम वर्ष अध्ययनरत निजामती कर्मचारीका सन्ततिले उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाउने निर्देशिकामा उल्लेख छ ।

२० लाख सम्मको शैक्षिक खर्च लाग्नेमा सरकारले ५ लाख प्रोत्साहन वृत्ति, १५ लाख देखि २० लाख सम्म खर्च लाग्नेमा ४ लाख, १० देखि १५ लाखसम्ममा ३ लाख, ५ देखि १० लाख सम्मलाई २ लाख खर्च र १ देखि ५ लाख सम्म १ लाख रुपैयाँ तथा १ लाख भन्दा कम खर्च शिक्षण शुल्कको आधारमा प्रोत्साहन स्वरुप रकम दिने निर्देशिकामा उल्लेख रहेको छ ।शैक्षिक प्रोत्साहन वृत्तिको लागि निजामती सेवाको संघीय कानुनमा भएको समावेशी प्रतिशतकै आधारमा कोटा निर्माण हुने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन गन सामान्य प्रशासन मन्त्रालयको सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति समेत गठन हुनेछ । उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाएका कर्मचारीका सन्ततिलाई सामान्य प्रशासन मन्त्रालयले आवश्यक ठानेको स्थानमा एक वर्ष सम्म खटाउन सक्नेछ । अध्ययन गरेको विषय सँग सम्बन्धित कार्यालय वा निकायमा खटाइएको समान तह र श्रेणीका कर्मचारीले पाएको बराबर सुविधा हुने निर्देशिकामा उल्लेख छ ।

footer