kumari
stcnepal

युक्रेन र रुस बीच जारी युद्धले संसार भर खाद्यान्न संकट देखिन सक्ने : राष्ट्रसंघ

काठमाडौं । रुस र युक्रेन बिचको जारी युद्धका कारण विश्वको तेल र ग्यास बजार मारमा परिरहेको छ । यति मात्रै होइन, युद्धले विश्वभर भोकमरी बढ्ने तथा खाद्यान्न अभाव देखिन सक्ने चिन्ता व्यक्त हुन थालेको छ ।

‘हामीले संभावित सबै उपाय अपनाएर भोकमरीको आँधी आउन र विश्वव्यापी खाद्यान्न प्रणाली धरासायी हुन बाट रोक्नुपर्छ’, राष्ट्रसंघका महासचिव एन्टोनिय गुटेरेसले केही दिनअघि चेतावनी दिँदै भनेका थिए । त्यसअघि विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड बिस्लेले युक्रेन युद्धका कारण भोकमरीको अवस्था डरलाग्दो तहमा पुग्न सक्ने चेतावनी दिएका थिए । ‘युक्रेनमा बम र गोलीले विश्वव्यापी भोकमरीको संकट डरलाग्दो अवस्थामा पुग्न सक्छ’, बिस्लेले भने, ‘आपूर्ति चक्र र खाद्यान्नको भाउ नाटकीय रुपमा प्रभावित बन्न सक्छ ।’

सोमबार ब्रसेल्समा फ्रान्सका कृषि मन्त्री जुलियन डेनरमान्डीले पनि विश्वकै प्रमुख अन्न उत्पादक युक्रेन र रुस बीच जारी युद्धले संसार भर खाद्यान्न संकट देखिने चेतावनी दिएका छन् । यसैबीच, मध्यपूर्व र उत्तरी अफ्रिकाको खाद्यान्न संकट थप गरिरिने ह्युमन राइट्स वाचले चेतावनी दिएको छ ।

‘मध्यपूर्वी तथा उत्तरी अफ्रिकी मुलुकमा कृषिजन्य उपज निर्यात गर्ने प्रमुख मुलुकमा युक्रेन र रुस पर्छन्’, ह्युमन राइट्स वाचले विज्ञप्तिमा भनेको छ, ‘युद्धका कारण व्यवधान सिर्जना हुँदा खाद्यान्नको बढ्दो मूल्य एवं गरिबी झप खराब बन्न सक्छ ।’ विश्वमै धेरै गहुँ, मकै र जौ उत्पादन हुने देशमा रुस र युक्रेन अग्रपंक्तिमा छन् । युक्रेन र दक्षिण-पश्चिम रुसलाई युरोपको अन्न भकारी समेत मानिन्छ । विश्वभर हुने गहुँ निर्यात मध्ये यी दुई देशले ३० प्रतिशत हिस्सा ओगट्छन् । तर दुबै देश युद्धमा होमिएपछि यसको असर खाद्यान्नमा पर्न थालेको हो ।

त्यस्तै, विश्वभर उत्पादन हुने सूर्यमुखी तेल मध्ये ८० प्रतिशत रुस र युक्रेनमा उत्पादन हुन्छ । युक्रेन मकै निर्यात गर्ने विश्वकै चौथो ठूलो देश हो । तर त्यहाँको सरकारले मार्च ९ मा एक प्रस्ताव पारित गरी गहुँ, मकै, मासु लगायतका वस्तु निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

 

 

 

footer