kumari
stcnepal

जगदम्बा स्टिलले जस्तापाता तेस्रो मुलुकमा निर्यात गर्न सुरु

काठमाडौं । नेपाल बाट पहिलो पटक श्रीलंकामा सीआर सिट एन्ड कोइल्स निर्यात बाट हौसिएको जगदम्बा स्टिलले अब जस्तापाता पनि तेस्रो मुलुकमा निर्यात गर्न सुरु गरेको छ ।

जगदम्बा स्टिलको उत्पादन जगदम्बा सुपर साइन र ग्याल्भा प्लसका जस्तापाता रोमानिया, यूएई निर्यात सुरु भएको कम्पनीले जनाएको छ । रोमानिय र संयुक्त अरब इमिरेट्स्बाट एक/एक सय टन जस्तापाता आयातका लागि अर्डर भएको र त्यसको निर्यात सुरु भइसकेको कम्पनीको निर्यात युनिट प्रमुख अमित खेरले जानकारी दिए ।

‘दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटालीमा निर्यातका लागि कुराकानी भइरहे पनि रोमानिया र यूएईमा जस्तापाता निर्यात सुरु भएको छ,’ खेरले भने, ‘अहिले ट्रायलको रुपमा निर्यात थालिएको र केही समय भित्रै मासिक ५ सय देखि एक हजार टन सम्म जस्तापाता निर्यातको तयारी भइरहेको छ ।’ संयुक्त अरब इमिरेट्स र रोमानियमा जस्तापाता निर्यात सुरु भए सँगै स्टिलजन्य उत्पादन निर्यातमा जगदम्बाले नयाँ ढोका खोलेको खेरले दाबी छ । यसलाई थप व्यवस्थित र दीगो गर्दै लैजाने गरी कम्पनीले काम गरिरहेको उनको भनाइ छ ।

उच्च गुणस्तरको उत्पादनका कारण जस्तापाताको माग इटाली, दक्षिण अफ्रिका र उत्तर अमेरिका बाट समेत आएको भन्दै खेरले ति मुलुकमा पनि निर्यातको अन्तिम तयारीमा जगदम्बा रहेको जानकारी दिए । आल्मुनियम ५५ प्रतिशत, जिन्क ४३.५ प्रतिशत र सिलिकन १.५ प्रतिशतको मिश्रण बाट तयार भएको ग्याल्भा प्लसलाई उच्च कोटीको जस्तापाता मानिन्छ । यस्तै प्रिमियिम गुणस्तरको जगदम्बा सुप्पर साइन पनि बजारमा सबैभन्दा उच्च कोटीको जस्तापाता भएको कम्पनीले जनाएको छ ।

वार्षिक ठूलो व्यापार घाटा खेपिरहेको नेपालका लागि स्टिलजन्य वस्तु निर्यात खुसीको कुरा भएको जगदम्बा ग्रुपले जनाएको छ । निर्यातकै लागि भनेर उद्योगले छुट्टै निर्यात युनिट बनाएर उक्त युनिटका लागि भारत बाट दक्ष जनशक्ति भित्र्याएको थियो । कम्पनीले आफ्नो उत्पादनलाई दक्षिण एशियाली मुलुकका साथै युरोप र अफ्रिकी मुलुक सम्म पुर्‍याउने गरी मार्केटिङ गरिरहेको जनाएको छ ।

 

 

footer