kumari
stcnepal

नेपाल आयल निगम सँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले इन्धनको ढुवानी देशभर ठप्प बनाए

काठमाडौं । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।

आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपाल स्थित निगमको डिपो बाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए । ‘निगमको डिपो र डिपो बाट बिक्रेताको लागि हुने लोड/अनलोड रोकेका छौं,’ अर्यालले भने, ‘हाम्रो माग सम्बोधन गर्न निगम तयार भएन ।’

आन्दोलनका कारण ढुवानीमा संलग्न १४ सय ट्यांकर र करिब १ हजार बुलेट बाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपुर्ति प्रभावित हुने छ । व्यावसायीको अवरोध कायमै रहे देशभर पेट्रोलियम पदार्थको अभाव हुन सक्नेछ । पेट्रोल तथा डिजेलको दैनिक चार सय ट्यांकर लोड/अनलोड हुने निगमको अमलेखगञ्ज डिपोमा व्यवसायीले इन्धन नउठाउने जानकारी गराएका छन् । ढुवानी अवरोधको प्रभाव सहितको विवरण १० बजे पछि मात्रै थाहा हुने निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप कुमार यादवले बताए ।

निगमका अनुसार नेपाली सेना, साझा र साल्ट ट्रेडिङबाट हुने ढुवानी भने नियमित छ । काठमाडौंमा इन्धन आपूर्ति गर्ने निगमको थानकोट डिपोका अनुसार बिहीबार साँझ सम्म १३ लाख लिटर डिजेल र ११ लाख लिटर पेट्रोल पम्पहरुले उठाएका छन् । यो इन्धनले काठमाडौं उपत्यकामा करिब डेढ दिनको माग मात्रै धान्छ ।

 

 

 

footer