kumari
stcnepal

आदिवासी महासंघले बासस्थानको संरक्षण गर्न सरकार सँग माग गर्यो

काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघले आदिवासी,जनजातिको बासस्थानको संरक्षण गर्न सरकार सँग माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विकासका नाममा आदिवासी जनजातिको थातथलो भताभुङ्ग पार्ने काम भइरहेको भन्दै महासंघले आदिवासी, जनजातिको बासस्थानको संरक्षण गर्न सरकार सँग माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले शुरु गर्ने नयाँ आयोजनाहरु आरम्भ गर्नुपूर्व सम्बन्धित क्षेत्रका समुदायले पूर्व सुसूचित हुन पाउनुपर्ने बताए । उनले स्थानीय र प्रदेश सरकार बाट आदिवासी जनजातिका नाममा विनियोजित बजेट अन्य शीर्षकमा खर्च गरेको प्रति समेत आपत्ति जनाए । उनले आदिवासी र जनजातिको विकासका लागि छुट्याइएको बजेट सदुपयोग गर्न सरकार सँग माग गरे ।

त्यस्तै उनले आदिवासी जनजातिको उत्थान, सशक्तिकरण तथा आफ्नो मौलिक भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण प्रवर्द्धनको लागि विशेष कार्ययोजना ल्याइने जनाए । वरिष्ठ उपाध्यक्ष घर्तीले अल्पसंख्यक,लोपोन्मुख, सिमान्तकृत आदिवासी जनजातिको संरक्षण, सांस्कृतिक प्रवर्द्धन र राज्यका विभिन्न निकायमा समावेशी प्रतिनिधित्वका लागि विशेष पहल गरिने पनि बताए । त्यस्तै कार्यक्रमा महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सबै नेपालीले समान अवसर पाउनुपर्ने महासंघको माग रहेको बताए । उनले सबैले सबैको अस्तित्व स्वीर्कानुपर्ने भन्दै सबैले सबैको सम्मान गर्ने बलियो समाजको आधारस्तम्भ निर्माण गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष शेर्पाले भने, ‘जनजाति महासंघको माग के छ भने हामी सबै एउटा साझा फूलबारीको फूल हौँ । हामीले समान अवसर पाउनुपर्छ । समान मलजल पाउनुपर्छ । समान तरिकाले फुल्न पाउनुपर्छ भन्ने हो । सबैले सबैको अस्तित्व पनि स्वीकार्नुपर्छ । सबैले सबैको सम्मान गर्ने बलियो समाजको आधार स्तम्भ निर्माण गर्नुपर्छ । म अब मेरो कार्यकालमा परिणाम मुखी काम ल्याउँछु ।’ अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा परिणाम मुखी काम गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

 

 

footer