kumari
stcnepal

नयाँ वर्षको अवसरमा पूर्वराजाको शुभकामना

नयाँ वर्ष २०७७को अवसरमा पूर्वराज ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिएका छन् । उनले अहिलेको कष्टकर परिस्थितिका माझ प्रारम्भ भएको नयाँ वर्षले हामी नेपालभित्र र बाहिर रहेका सबै नेपालीहरूमा सुख, शान्ति तथा समुन्नतिको कामना गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले नयाँ वर्षका अवसरमा शुभकामना दिँदै भनेका छन्, ‘कोरोना भाइरसको विश्वव्यापि महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त छन् । यस्तो स्थितिमा देश र आफुलाई सुरक्षित राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाउनु पर्दछ । नेपाली जनता खुशी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथा झैं उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ ।’

उनले अहिलेको अवस्थामा कसैले कसैले निषेध गरेर अगाडि बढ्न नसक्ने बताएका छन् । राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने उनले बताएका छन् ।

पूर्वराजले शुभकामना सन्देश दिँदै भनेका छन्, ‘आफुलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतराहरू टार्न हामीले हरसम्भव प्रयास गरेको सर्वविदित नै छ । मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नु परेको बेलामा नेपालीहरूले शान्त र सामूहिक रुपले राष्ट्रब्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेका छन् । तर विद्यमान संकटबाट मुक्ति पाउन र भविश्यमा उत्पन्न हुने अस्वभाविक चूनौतिहरूको सामना गर्न हामी बीचको एकता अपरिहार्य हुन पुगेको छ ।’

‘हाम्रा पुर्खाले अनादीकाल देखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस अहिले विश्व जगतले स्वीकार्दै रहेको छ । हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ  । यही जगमा उभि हाम्रो समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता हामीले लिनु पर्ने भइसकेको छ’, उनले भनेका छन् ।

मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता हामी सबै नेपालीलाई नयाँ वर्षमा प्राप्त होस् भन्ने कामना पनि पूर्वराजले गरेका छन् ।

footer