kumari
stcnepal

पार्टी एकीकरण नै मुलुकको लागि दुर्भाग्य

काठमाडौ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि अनौपचारिक रुपमा विभाजित भएको नेकपाका मार्चण्ड ग्रुप र ओली ग्रुप दुवै एक अर्काको खोइरो खन्ने काममा व्यस्त भएका छन् । एकले अर्कोलाई तल्लो स्तरका गाली गलौजमा उत्रिएका हुनाले उनीहरुका कार्यकर्ताहरु भने अन्यौलमा परेका छन् । दुवै दलले आफूहरुलाई कम्यनिष्ट पार्टी नै भएको बताउँदै आएपनि उनीहरुको व्यवहार हेर्दा उनीहरुलाई कम्युनिष्ट भन्न सकिने अवस्था देखिएको छैन ।

संविधानसभाले बनाएको संविधान पाँच वर्षमै असफल सावित भएको छ । संविधान निर्माण गर्दा भएका त्रुटीहरुकै कारण संविधान असफल भएको र त्यसको फाइदा आफुहरुलाई कम्युनिष्ट भन्नेहरुले नै उठाउन खोजिरहेका छन् । संविधान निर्माणको बेला जनताले दिएको सुझावहरुलाई वेवास्ता गरिएको थियो । जनताले उठाएका मागलाई भन्दा पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थलाई हेरेर मुलुकको स्वार्थलाई नजरअन्दाज गरिएको हुनाले अहिले समस्या देखिएको हो ।

सत्ताधारी दल विभाजन हुनुको पछाडि अरु कसैको दोष नभएर सत्ताधारी दलकै दोष रहेको छ । पार्टीका दुई अध्यक्षहरुबीचको टकरवा र व्यक्तिगत स्वार्थले गर्दा नै प्रतिनिधिसभा विघटन भएको हो । प्रतिनिधिसभा विघटन हुँदा प्रधानमन्त्री ओली पार्टीका अध्यक्ष नै रहेका र प्रधानमन्त्री समेत रहेका थिए । प्रतिनिधिसभा विघटन हुनु अघिसम्म नेकपा विभाजित नभएको र प्रधानमन्त्रीका विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव समेत दर्ता नभएको र उनलाई नेकपाको संसदीय दलको नेताबाट समेत नहटाइएकोले अल्पमतमा परेर प्रधानमन्त्रीले संसद विघटन गरे भन्नुमा कुनै तुक छैन ।

प्रचण्ड माधव नेपालले प्रधानमन्त्रीसँग सैद्धान्तिक मतभेद रहेको भए किन उनलाई संसदीय दलको नेताबाट हटाउन सकेनन् त ? पार्टीहरु विभाजनका लागि मतभेदको आवश्यकता पर्दछ । तर नेकपा विभाजनको लागि कुनै सैद्धान्तिक मतभेदको आवश्यकता परेन । व्यक्तिगत टकराव व्यक्तिगत स्वार्थले पार्टीलाई विभाजनको अवस्थामा पु¥याएको प्रष्ट भएको छ । व्यक्तिगत स्वार्थलाई हेरेर पार्टी एकीकरण हुनु नै मुलुकको लागि दुर्भाग्य थियो अहिले त्यसैको परिणाम जनताले भोग्नु परेको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण नै अप्राकृतिक र स्वार्थका लागि भएको थियो । पार्टी एकीकरण हुँदा मुलुक र जनताको स्वार्थलाई भन्दा व्यक्तिको स्वार्थलाई ध्यानमा राखिएर पार्टी एकीकरण गरिएको थियो । त्यही कारण पार्टीको एकीकरणको कार्य नै समाप्त नभई पार्टी विभाजन भएको छ । पार्टी विभाजन भएपछि दुवै पक्षका नेता तथा कार्यकर्तालाई एकले अर्कोलाई पार्टीबाट निस्कासन गर्ने कार्यले तिव्रता पाएको छ भने ओली अध्यक्ष रहेको नेकपाले पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षबाट मात्र हटाएको छ भने मार्चण्ड पक्षले ओलीलाई पार्टी अध्यक्षबाटै हटाएको छ त्यसैगरी ओली पक्षमा लागेका पार्टीका इन्चार्जहरुलाई हटाएर माचण्ड पक्षले आफ्नो पक्षका नेताहरुलाई इन्चार्ज बनाएका छन् । यसरी पार्टी औपचारिक विभाजन नै नभईसकेको अवस्थामा दुवै पक्ष आक्रामक भएर एक अर्काका विरुद्ध लाग्नु भन्दा बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा गएर आ आफ्नो हैसियत देखाउनु नै उचित हुनेछ ।

footer