kumari
stcnepal

अमेरिका भ्रमणमा रहेको नेपाली टिमका दुवै ओपनर चोटग्रस्त

काठमाडौं ।आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिका र ओमान सँगको शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टिमका दुवै ओपनर चोटग्रस्त भएका छन् । कुशल भुर्तेल र आसिफ शेख अभ्यास र अभ्यास खेलका क्रममा चोटग्रस्त भएको नेपाल क्रिकेट संघका सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

नेपाल टिमका नियमित विकेटकिपर समेत रहेका आसिफको नेपाल अलस्टार विरुद्दको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । उनी शनिबार भएको नेपाल र ह्यूस्टन हुरिकेन्स बीचको खेलमा टिममा थिएनन् । कुशललाई सोही खेलमा फिल्डिङका क्रममा ह्याम्स्ट्रिङ समस्या भएको मल्लले जानकारी दिए । ‘आसिफको घुँडाको सिटी स्क्यान र एमआरआई भइसकेको छ । विस्तृत रिपोर्ट आएपछि खेल्न सक्ने-नसक्ने थाहा लाग्छ,’ मल्लले भने ।

विश्वकप लिग टू अन्तर्गतको शृंखला जेठ २६ देखि सुरु हुँदैछ । नेपालले जेठ २६ गते ओमान, २८ गते अमेरिका, ३१ गते ओमान र असार १ गते अमेरिका विरुद्द खेल्दैछ । १४ जना खेलाडी सहित अमेरिका पुगेको नेपाल टिम दुई मुख्य खेलाडी चोटग्रस्त बनेपछि अप्ठेरोमा परेको छ । दुवैले खेल्न नसक्ने भएमा के गर्ने भन्ने बारे क्यानले छिट्टै निर्णय गर्ने कार्यवाहक सचिव मल्लले जानकारी दिए ।

 

 

footer