kumari
stcnepal

२०७८ हामी सबैको लागी शुभ रहोस्

गत बुधवारदेखी हामीहरुले २०७७ लाई बिदा गरी नयाँ बर्ष तथा २०७८ लाई स्वागत गरेका छौ । २०७७ साल हामी नेपाली जनतालाई मात्र नभएर विश्व जनतालाई नै सकंटपूर्ण रह्यो । विश्वमा फैलिएको कोभिड—१९ ले गर्दा लाखौँ मानिसले ज्यान गुमाउनु पर्यो । करोडौं जनता कोरोना भाइरसबाट पिडित बनेका छन् । नेपालमा समेत तीन हजार भन्दा बढी जनताले कोरोना भाइरसबाट ज्यान गुमाउनुप¥यो भने झण्डै तीन लाख जनता उक्त रोगबाट संक्रमित भएका छन् । आजसम्म पनि उक्त रोगका विरामीहरु रहेका छन् । अहिले कोरोना भाइरस प्रतिरोधका लागि औषधी र खोपहरु तयार भएपनि सबै मानिसहरुले सहज रुपमा खोप लगाउन पाएका छैनन् । विकसित मुलुकहरुमा समेत कोरोनाले ठूलो प्रभाव पारेको छ भने हाम्रो जस्तो गरिब मुुलुकहरुमा त्यस्को प्रत्यक्ष प्रभाव परिरहेको छ । हामी आशा एवं विश्वास गरौँ २०७८ सालभरीमा नेपाल लगायत विश्वभरबाटै उक्त रोगबाट मुक्त हुन सकौँ ! यहि हाम्रो कामना !

कोरोना भाइरस अप्रत्यासीत रुपमा फैलिएकोले गर्दा विकास निमार्णका कार्यमा प्रत्यक्ष असर पारेको छ । विकास निमार्णको बजेट कटौती गरी कोरोना भाइरसको औषधी र खोप खरिद गर्न सरकार बाध्य भएको छ । यस्तो संकटपूर्ण अवस्थामा सबै राजनितिक दलहरुले सरकारलाई विनाशर्त साथ दिनुपर्ने बेलामा हामीकहाँ भने राजनितिक दलहरु दलगत स्वार्थका लागि अघि बढिरहेका छन् । दलगत र व्यक्तिगत स्वार्थले गर्दा सत्ताधारी दल तत्कालीन नेपाल कम्युष्ट पार्टी भित्रको आन्तरिक द्धन्दले गर्दा झण्डै एकवर्ष अघिदेखि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विरुद्ध नेकपाकै अध्यक्ष सहितका वरिष्ठ नेताहरु सरकारका विरुद्ध खनिए । उनीहरुले पार्टी विभाजनको अवस्थासम्म पु¥याएका थिए । गत कात्तिक २८ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली शर्मा माथि १९ बुँदे गम्भीर आरोप लगाउदै पार्टी सचिवालयमा आरोप पत्र नै दर्ता गरेपछि तत्कालीन नेकपा विभाजनको अवस्थामा पुगेका थियो । प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाटै हटाउने नियोजित षडयन्त्र गरेपछि गत पुष ५ गते प्रधानमन्त्री ओलीले वाध्य भएर प्रतिनिधिसभाको विघटन गरेका थिए । प्रतिनिधिसभाको विघटनपश्चात् दाहालसहित माधव नेपाल, झलनाथ खनाल पक्ष विघटनको विरोध गर्दै सडक आन्दोलनमा गयो । आफ्नैै पार्टीका अध्यक्ष एंव प्रधानमन्त्रीले गरेको निर्णयलाई उनीहरुले स्वीकार गर्न सकेनन् । त्यसको एउटै कारण थियो व्यक्तिगत स्वार्थ पुरा नहुनु । प्रतिनिधिहरुको विघटनका विरुद्ध सर्बोच्च अदालतमा परेको रिट निवेदन माथि झण्डै एक महिनासम्म सर्वोच्व अदालतको सम्वैधानिक इजालसमा बहस पैरवी भयो । फागुन ११ गते इजलासले प्रतिनिधिसभाको विघटनलाई असम्वैधानिक भन्दै विघटनलाई वदर गर्दै १३ दिन भित्रमा संसदको अधिवेशन वोलाउन आदेश दियो । सो आदेश अनुसार संसदको बैठक बसेपनि आजसम्म संसदले कुनै महत्वपूर्ण कार्य गर्न सकेको छैन, सांसदहरुलाई भत्ता खुवाउने कार्य वाहेक ।

तत्कालीन नेकपा एमाले र माओबादी केन्द्र २०७५ साल जेष्ठ ३ गते एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी पहिला नै दर्ता गरेको भएपनि फेरि त्यही नाममा केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी दर्ता गरिदिएपछि अर्को विवाद सिर्जना भयो । त्यो विवाद समेत सर्वोच्व अदालतमा पुग्यो । पहिला नै दर्ता भएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले अदालतमा दर्ता गरेको रिट निवेदन माथि सर्वोच्च अदालतले गत फागुन २३ गते निर्णय सुनाउँदै ओली दाहालले दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टीको दर्ता नै खारेज गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा आएका छन् । अदालतको आदेशपछि नेकपा एमाले र माओवादी केन्द्रको अस्तित्व अलग अलग भएपनि नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल सहितका केही नेताहरु माओवादी केन्द्रलाई सहयोग पुग्ने गरी अघि बढेका छन् भने माओवादी केन्द्रका केही नेताहरु नेकपा एमालेमा प्रवेश छन् । नेपालको राजनितिक क्षेत्रमा विगत केही वर्षदेखि संकटपूर्ण अवस्था देखिएको छ । खास गरेर, २०५१ सालदेखी राजनितिक दलहरुमा विचलन आएको थियो । अहिले फेरि त्यसलाई दाहो¥याउन खोजिएको छ ।

अहिले नेकपा एमालेको नेतृत्व केपी ओलीले गरिरहेका छन् भने उनैको नेतृत्वमा सरकार सञ्चालन भईरहेको छ । सत्ताको वागडोर लिएको नेकपा एमालेभित्र तिव्र विवाद रहेका छ । केपी ओली र माधव नेपालबीचमा कहिल्यै राम्रो सम्बन्ध हुन नसकेका असर सरकार र पार्टी सञ्चालनमा समेत परेको छ । माधव नेपाल पक्ष माओवादी केन्द्रका अध्यक्षसँग राम्रो सम्वन्ध बढाउदै ओलीका विरुद्ध खनिएका छन् । राजनीतिक रुपमा माधव नेपाल नेकपा एमालेका निलम्वित सांसद रहेका भएपनि उनले अहिले पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री माथि अनेक आरोप लगाउदै समानान्तर रुपमा पार्टी सञ्चालन गर्नका लागी मुलुक भरमै समान्तर जिल्ला कमिटीहरु निमार्ण गर्न थालेका छन् । माधव नेपाल पक्षले र स्वयम् माधव नेपालले प्रधानमन्त्री ओलीलाई साथ दिनेहरु ओलीका दास भएको भन्दै तथानाम गाली गर्दै हिडेका छन् । अन्य पार्टीका नेताहरुले लगाउन नसकेका आरोप माधव नेपाल पक्षले लगाउदै आएका छन् । यसरी २०७७ साल नेपाल र नेपाली जनताको लागि अभिशाप जस्तै बनेको छ । राजनीतिक क्षेत्रमा विकृत्ति ल्याउने दल र तिनका नेताहरु नै हुन् । राजनितिक दलहरुले कहिल्यै विकास निमार्णका बारेका छलफल चलाएका छैनन् । उनिहरुले पार्टीगत र व्यक्तिगत स्वार्थलाई मात्र हेरेका हुनाले जनता भन्न बाध्य भएका छन् राजनितिक दलहरु नै जनताका लागि अभिशाप भए भनेर । २०७८ मा राजनितिक विकृतिको अन्त्य होस् यही कामना २०७७ साल देश र जनतालाई अभिषाप भएपनि २०७८ सालमा देश र जनताका लागि शुभ रहोस् । २०७८ सालमा कसैले पनि अनावश्यक रुपमा ज्यान गुमाउनु नपरोस्, विधि, विधान र संविधान अनुसार राज्य सञ्चालन होस् भन्दै हामी सम्पूर्ण नेपाली जनतालाई यहि शुभकामना । हाम्रा आदरणीय विज्ञापनदाता, पाठक र देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी, आमाबुबा प्रति २०७८ को मंगलमय शुभकामना प्रकट गर्दछौँ ।

footer