kumari
stcnepal

आफ्नो दायित्वबाट नचुक सरकार

कोरोना भाइरस संक्रमणको उत्कर्षको उकालो लाग्ने क्रम जारी रहेको छ । यसले कहिले विश्राम लिने हो ? अहिले नै भन्न सकिने अवस्था छैन । यस्तो जटिल अवस्थामा सरकारले भने अब आफूले केही गर्न नसक्ने भन्दै अहिले नै हात उठाउनु निश्चत पनि सरकारको लागि सुहाउने विषय होइन । आफ्ना जनताको सुरक्षा गर्ने दायित्व सरकारको हो । सरकारले सबै राजनीतिक दल र आम नागरिकको सहयोग र समर्थन लिएर मुलुकलाई कोरोना भाइरसबाट मुक्त गराउनुपर्ने बेलामा आफूले केही गर्न नसक्ने भन्ने अभिव्यक्ति प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्नु आपत्तिजनक मात्र नभएर सरकारकै लागि लाजमर्दो विषय समेत हो । सरकारले आफ्ना जनतालाई यसो पो भन्नुपर्दछ हामीले सकेको गरिरहेका छौँ, सरकार तपाईहरुका साथमा छ तपाईहरुले पनि सरकारको आदेश पालना गर्नुहोस्, नागरिकको दायित्व निभाउनुहोस् भनेर । जनतालाई ढाडस दिने काम सरकारको हो तपाईहरु नआत्तिनुहोस् सरकारले आफ्नो क्षमताले भ्याएसम्म सबै उपाए अवलम्बन गर्दछ । तपाईहरु आत्मबल बढाउनुहोस् भनेर जनतालाई आश्वासन दिनु पर्नेमा अब सरकारले संक्रमितहरुको अस्पतालमा उपचार गर्न सक्दैन भन्ने सरकारको गैरजिम्मेवारीपन बाहेक अन्य केही हुन सक्दैन । सरकारले झुठो आश्वासन दिनुपर्छ भने किमार्थ होइन सरकारको तयारी पनि त्यही अनुरुपको हुनुपर्नेमा त्यस्तो देखिएको छैन । नागरिकलाई सरकारको सहयोग र साथ अहिले जति आवश्यक कहिल्यै देखिएको थिएन । संक्रमित हुनबाट जोगिने भन्दाभन्दै पनि संक्रमित भईहालेको अवस्थामा नागरिक आफैँले गर्न सक्ने केही छैन । त्यही कारण यो संकटको बेला सरकारले आफ्नो दायित्वप्रति जवाफदेही नहुनु अनैतिक र अनुत्तरदायी निन्दनीय बाहेक अन्य केही हुन सक्दैन ।

सरकारले आफ्ना नागरिकलाई सजग हुन जानकारी गराउनलाई अन्यथा मानिनुपर्ने आवश्कयता छैन तर स्वास्थ्य मन्त्रालयमार्फत सर्वसाधारणका नाममा अपिल नै जारी गर्दै अब अस्पतालमा राखेर उपचार गर्न बेड उपलब्ध गराउन नसकिने घोषणा गर्नुलाई कुनै हालतमा पनि उचित मान्न सकिन्न । सरकारले आफूले गर्नुपर्ने प्रयत्नहरु नै नागरिकनै हात उठाउने कुचेष्टा गर्नु लोकतान्त्रिक सरकारको चरित्र हैन । लडाईको बेला लडाईमा गएका सैनिकहरुले लडाई नै नगरी युद्धभूमिबाट भाग्नु जस्तो यो सरकारले व्यवहार देखाएको छ । प्रत्यक्ष रुपमा सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दिन भन्नुको अर्थ सरकार जिम्मेवार छैन भन्नु नै हो । आफ्नो दायित्व पूरा गर्न सक्दिन भनिसकेपछि पदमा बसिरहनुको कुनै अर्थ रहँदैन । लोकतान्त्रिक सरकारले लोकतान्त्रिक पद्दति अनुसार आफ्नो दायित्व निभाउन सक्नुपर्दछ । यदि त्यसो हुन सक्दैन भने आफुले पाएको जिम्मेवारी पूरा गर्न नसक्ने त्यही पदमा बसिरहनु भनेको जनताको ठाडो अपमान हो । आफ्ना जनताको जीवनप्रति राज्यको निश्चित दायित्व हुन्छ । त्यसलाई सरकारले पूरा गर्नैपर्दछ । यदि जनताप्रतिको दायित्व पूरा गर्न सरकार असक्षम भएमा उसलाई कुर्सीमा बसिरहने नैतिक अधिकार समेत हुँदैन । सरकार र राजनीतिक दलहरु कस्का लागि निर्माण गरिएका हुन् ? यदि जनताको सेवाका लागि हुन् भने राजनीतिक दलहरु किन प्रेस विज्ञप्तिमै सिमित भएका छन् ? के राजनीतिक दलहरुको जनताप्रतिको कुनै दायित्व छैन र ? यदि दायित्व छ भने उनीहरु किन विज्ञप्ति र कोठामै सिमित त ?

सरकारले निश्चय पनि आफ्ना नागरिकलाई सर्तक रहन आग्रह गर्नुपर्दछ तर त्यसको उदाहरण नेतृत्वमा बस्नेहरुले प्रस्तुत गर्न सक्नुपर्दछ । तर हामी छौँ, म छु सरकार छ भनेर भरोसा दिलाउनुको सट्टा दायित्वच्यूत भएर अस्पतालमा राखेर उपचार गर्न बेड उपब्ध गराउन नसकिने भन्दै जनतालाई अत्याउने काम सरकारले किन गरिरहेको छ ? सरकारले बुझ्नुपर्दछ । नागरिकलाई सावधान रहन भन्दै स्वास्थ्य मापदण्डको पालनाको आग्रह गर्नु र जनतामा त्रास फैलाउने बीचमा त्यति ठुलो अन्तर छ, जति दुरी जिम्मेवार र गैरजिमेवारबीचमा रहेको छ । सरकारले त आफ्ना जनतालाई भरोसा, ढाडस र विश्वास बाँड्न सक्नुपर्दछ । जनतालाई त्रास देखाएर मात्र सरकारले समस्याको समाधान गर्न सक्दैन । सरकार र जनता मिलेरै समस्याको समाधान हुन सक्छ भन्ने हेक्का सरकारले राख्नुपर्दछ । जनतालाई अत्यास सिर्जना गर्ने होइन आशा प्रदान गर्न सक्नुपर्दछ । जतिसुकै अप्ठ्यारोका बीचमा पनि जनतालाई उज्यालो देखाउने काम सरकारको हो । कोरोनाको कहर एक दुई वर्ष होला सरकारी अव्यवस्थाबाट सिर्जित मानसिक स्वास्थ्य समस्याको एक दुई दशक नै रहन सक्छ भन्ने हेक्का सरकारलाई हुनुपर्ने होइन र ? त्यसप्रति सरकार र राजनीतिक दलहरुपनि चिन्तित हुनुपर्दछ । तर यी दुवै पक्षमा त्यस्तो चिन्ता देखिएको छैन । त्यो नै मुलुक र जनताको लागि दुर्भाग्यको विषय हो ।

स्वास्थ्य विज्ञहरुले पहिला नै भनेका थिए । अहिलेको सम्पूर्ण स्वास्थ्य प्रणाली धान्न नसकिने स्थिति आउन सक्छ भनेर । तर उनीहरुको सल्लाहलाई सरकारले वेवास्ता गरेको हुनाले नै अहिलेको अवस्था सिर्जना भएको हो । सरकारको व्यवस्थापनहिनताकै कारण नागरिकहरु अस्पतालबाट पाइने सुविधाबाट बञ्चित हुनु परेको हो । सरकारले हर प्रकारको प्रयास गर्दागर्दै पनि सरकार थाक्न पुगेको अवस्था अहिले हुँदै होइन । उपलब्ध भएका उपाएपनि नअपनाई सरकारले त्यसै व्यक्त गरेको लाचारीपन मात्र हो । आज कोरोना भाइरसका विरामीहरुले अस्पतालका बेड भरिएका छन् । सिकिस्त विरामीहरुले बेड पाउन नसक्ने अवस्था सिर्जना भएको छ । सिकिस्त विरामीहरु बेड नपाएर मर्नु पर्ने अवस्था सिर्जना भएको भएपनि सरकारले कोरोनाका लागि पर्याप्त बेडहरु थप्न सकेको छैन । सरकारको पहिलो दायित्व भनेको आफ्ना नागरिकको ज्यान बचाउनु नै हो । त्यही कारण सरकारले सबै मेडिकल कलेजहरु ठुला ठुला नयाँ विल्डिङ्गहरु र सञ्चालनमा नआएका अस्पतालहरुलाई आफ्नो नियन्त्रणमा लिएर बेडको व्यवस्था गरि संक्रमितहरुको उपचार गराउन सक्नुपर्दछ । प्राइभेट मेडिकल कलेजहरुमा समेत कोरोना भाइरसका विरामीहरुको उपचार गराउने व्यवस्था सरकारले अविलम्ब मिलाउन सक्नुपर्दछ । नागरिक मरिरहेको टुलुटुलु हेरिरहने अवस्था अहिलेको होइन । नागरिकले सरकार भएको अनुभूति गर्न सक्नुपर्दछ । सरकारले विकास निर्माणका कार्यलाई थाती राखेरै भएपनि संक्रमितहरुको उपचार गर्न सक्नुपर्छ भन्ने हाम्रो ठहर रहेको छ ।

footer