kumari
stcnepal

काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा वृद्धि

काठमाडौं ।चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ । ५ असोज सम्म महानगरपालिकाले १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को ५ असोज सम्म १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ राजस्व संकलन भएको थियो । यसअनुसार यो वर्ष गत वर्षको समीक्षा अवधिको तुलनामा २९.८५ प्रतिशत अर्थात् ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँ बढी राजस्व उठेको महानगरपालिकाले जनाएको छ ।

विगत वर्षहरुमा अटेर गरेर कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाइ गरेपछि यस वर्ष राजस्व संकलनको मात्रामा वृद्धि भएको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बताए । ‘गएको वर्षहरुमा पनि पत्राचार भएको हो, तर, करदाताले टेरेका थिएनन्’ उनले भने ।मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो सञ्चालकहरुलाई पत्राचार गरेपछि चालु आर्थिक वर्षको यस अवधि सम्ममा ८६ लाख ४५ हजार १८९ रुपैयाँ कर तिरिसकेका छन् ।

करको दायरामा आउन नमानेका संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ सम्पत्ति कर पनि तिरेका छन् । यस्तै बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरु बाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख डा. अधिकारीले बताए ।

पत्राचार गरिएका मध्ये विभिन्न व्यवसायीहरुले १८ लाख रुपैयाँ व्यवसाय कर बुझाएका छन् । नियमित करदाता बाहेक कर तिर्न अटेर गर्नेहरु बाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको अधिकारीले बताए । ‘यसमध्ये विद्युत् प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्नुपर्छ’ डा. अधिकारीले भने ।

footer