kumari
stcnepal

जनप्रतिनिधिले पाएको जनादेश जनता बेच्ने लाइसेन्स हो ?

 

राजन कार्की
२०७९ मंसिर ४ को दोस्रो आवधिक निर्वाचनमा जनताले जुन जनादेश दिए, त्यो जनादेश त जनप्रतिनिधिका लागि नागरिक बेच्ने लाइसेन्स पो सावित भयो ।
नेपाल अराजक छ, अस्थिर छ । नेपालको राज्य सञ्जाल नै नागरिकलाई अनागरिक बनाएर मानव तस्करीमा संलग्न भएको छ । संसद, सडक र नेपाली समाजमात्र होइन, राष्ट्र संघ र अमेरिकालगायतका भुटानी शरणार्थीलाई स्वीकार गर्ने मुलुकहरु समेत वर्तमान राजनीतिक र प्रशासनिक नेतृत्वप्रति अविश्वास गर्ने अवस्थामा पुगेको छ ।
नेपालको साख धुलोपिठो बनाए शासक र प्रशासक मिलेर । यसलाई भनिन्छ, राज्यद्रोह, राष्ट्रघात । ठूला पार्टीका ठूला साना नेता र प्रशासकसमेत मानव तस्करीमा नराम्ररी बदनाम बनेका छन् । नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता खत्तमै पारिदिए । यदि अन्य भ्रष्टाचारका ठूला साना घटना र भुटानी शरणार्थी मामिलामा दोषीमाथि कारवाही हुन सकेन भने नेपाल असफल राष्ट्रको भूमरीमा पर्नेमात्र होइन, बढ्दो विदेशी दबाब निर्णायकसमेत बन्न पुग्नेछ ।
त्यसै पर्यटन मन्त्री सुदन किरातीले भनेका होइनन्– संसद र सरकार त अरुले नै चलाउने रहेछन् ।
नेपालका शासक प्रशासक त रिमोटबाट पो चल्ने रहेछन् भन्ने प्रष्ट भएन र ?
विद्वान डा.सुभाष काश्यप र विश्वप्रकाश गुप्ताले तयार गरेको राजनीतिक कोषमा राष्ट्रघातीमा क्विजलिङ र लेण्डुप दोर्जीको नाम उल्लेख छ । क्विजलिङ युरोपका थिए भने लेण्डुप १९७५ मा सिक्किम भारतमा बिलय गराउने नेता थिए । देश बेचुवाको अर्को नाम क्विजलिङ अथवा लेण्डुप दोर्जी भन्ने पर्याय यसरी चलेको देखिन्छ ।
भारतीय विद्वानहरूले रामायणकालमा श्रीलंकापति रावणका भाइ बिभिषण, मुगलकालका मीरजाफर र मीर कासिम तथा क्विजलिङ् र लेण्डु दोर्जीलाई देश बेचुवाका रूपमा उभ्याएका छन् । यी सबै प्रतिनिधिपात्रहरूले आप्mना कालखण्डमा कसरी आफ्नो मातृभूमिको स्वतन्त्र अस्तित्व र अस्मितालाई समाप्त पार्न कसरी विदेशी आक्रमणकारीको सहयोग गरेका थिए भन्ने घटनाक्रम पनि उल्लेख गरिएको छ । यसमध्ये भारतवर्षका ५ सय ३७ राजामहाराजामध्ये चयचन्द पनि त्यस्तै देशघाती थिए, जसले अंग्रेजको पाउमा लम्पसार नीति लिएका थिए । अंग्रेजलाई स्वदेशविरूद्ध षडयन्त्र गर्न सघाएका थिए ।
जनयुद्धका घाउहरू चर्किरहेकै छन् । संक्रमणकालीन न्याय व्यवस्था सम्पन्न भएको छैन । संविधान कार्यान्वयन भयो भनेर गफ हाँक्नेहरू हाँकिरहेका छन् । संविधान बनेर २०७४ पछि २०७९ मा पनि निर्वाचन भयो । राजनीति र प्रशासन संयन्त्र निर्वाचन र दलीयताको भ्रष्टाचारी दलदलमा पो फसेको देखियो । राष्ट्रिय मुद्दाहरू एकपछि अर्को थपिदैछन् । लोकतन्त्र आएपछिका १६ वर्षमा विदेशी हस्तक्षेप र चलखेल यसरी बढ्यो कि राजनीतिभन्दा विदेशनीति बढी देखिन थालेका छन् । अस्तित्वभन्दा पराधीनता बढेको छ । सत्ता र शक्तिको राजनीतिक भागबण्डाले अफिमको नशाजस्तै सत्ता र शक्तिको नशामा लठ्ठिन पुगेका नेताहरूले आफू उभिएको लोकमतको धरातलको नैतिक आधारसम्म पनि सुस्थिर राख्न सकेनन् । नेतृत्व अनैतिक सावित हुनपुगेका छन् । अब भन्न थालिएको छ– नेता भ्रष्ट हुनसक्छन्, पार्टी होइन । जनतालाई भ्रमित पार्न कति जानेका चटकेहरुले ।
जब विश्वासको संकट पर्छ, त्यतिबेला आशंकाको कालो बादलले घेर्छ । संसदको निर्वाचन, निर्वाचित सरकार र स्थायी सरकार प्रशासनले सुशासन र समृद्धि दिन सकेनन्, अनैतिकता बढी देखिदैछ । जनताले साथ दिए, मत दिए, विश्वास दिए । जनबल दिए । यो जनबल पाएकाहरुले त राष्ट्रघाती भ्रष्टाचारदेखि मानव बेचबिखन नै पो गर्नथाले । मतदान गर्न जनताको धर्म हो, धर्म निभाए । अभिभावकत्व दिनुपर्ने नेतृत्वले हो, नेतृत्व भ्रष्टाचारको भाङ्मा लठ्ठिन पुग्यो । यो दुःखद छ ।
निर्वाचनपछि सुशासन आउनुपर्ने हो, नेपाली संसार त दुर्गन्धपुर बन्यो । सडकदेखि समाचारसम्म संसद, सरकार र नेतृत्वप्रति घृणा व्यक्त भइरहेको छ । लोकतान्त्रिक नेपाल दुर्गन्धपुरजस्तो लाग्छ । स्वर्ग बनाउनेहरू कहाँनेर चुक भयो, कहाँनेर संवैधानिक सुधार आवश्यक छ, बहस नै गर्दैनन् । बस्, पार्टीकरण, राजनीतिकरण, व्यक्तिकरण र भ्रष्टीकरण यिनको एजेण्डा बनेको छ । लोकतन्त्रको उपहास उडाउने काम भइरहेको छ । लोकतन्त्र लूटतन्त्र हो भन्ने प्रमाणित भयो अब ।
चुनाव जित्नु भनेको डामेर छाड्ने साँडेतन्त्र थिएन । राजनीति सेवा हुनुपर्छ, व्यापार हुनपुग्यो । यसलाई सच्याउनतिर अब सबैले पहलकदमी लिनैपर्छ । अन्यथा लोकतन्त्रजस्तो सुव्यवस्था, कुव्यवस्था साबित हुनेछ । लोकतन्त्र चाहनेले सोचुन् । लोकतन्त्रको नाममा राष्ट्र बिघटनमा नपुगोस् ।
भ्रष्टाचार कहिले बिधिको शासन हुनसक्दैन । विधि निर्माताको पदमा बसेर ठेकेदारी चलाउन खोज्नेहरू सौ मुसा खाकर बिल्ली चली हजको चरित्र देखाइरहेका छन् । यस्तो चरित्रले नीति, नैतिकता र लोकाचार कायम रहनसक्दैन । निष्ठा नै नभएकालाई कानुन के, संविधान के ? संसद, सरकार र प्रशासनमा बस्नेले नङ्गा नाचे हजार दाउको प्रहसन देखाइरहेका छन् ।
जनयुद्धका घाउहरू, सुशासनका लागि सुकेका आँतहरू आलै छन् । प्राकृतिक र पार्टी पीडित आँखा ओभाएका छैनन् । सुशासन आउँछ भनेको कुशासन बढ्यो । यो अति दर्दनाक यथार्थ हो । परिवर्तन भयो, हिन्दुराष्ट्र र राजतन्त्र फालेर आयो के ? नेतृत्वको असफलता र अकर्मण्यताको महगो मूल्य देश र जनताले चुकाइरहेका छन् । किनकि जनसेवक, देशभक्त कोही जन्मिन सकेनन् । महाराजा धेरै जन्मिए, राजनेता एकजना पनि उत्पादन हुनसकेन । लोकतन्त्रको कारखानाबाट भ्रष्टाचार उत्पादन भइरहेको छ । भ्रष्टाचार लोकतन्त्रका लागि नर्ककुण्ड हो, जहाँ हामी चोपलिएका छौं । नेपाली नेतृत्वले खनेको नर्ककुण्डमा बाँच्न अभिशप्त छन् ।
जो देशका परिवर्तनकारी शक्ति थिए, तिनीहरू सत्ता स्वार्थन्धहरू कहिले स्वाधीनता र नागरिक सर्वोच्चता, कहिले अर्जुनदृष्टि र अग्रगमनका कुरा गर्छन् । व्यवहारमा स्वार्थन् धबनेर पराधीनताका पछि आँखा चिम्लेर दगुरिरहेका छन् । यिनको यही चरित्रका कारण कहालीलाग्दो अनिष्ठको काला बादल मडारिन थालिसक्यो । देश पराईको रङ्गशाला बनिसक्यो । भ्रष्ट नेतृत्व कति डरलाग्दो हुनेरहेछ, प्रत्येक नेपालीले देखिरहेका छन् ।
समयमै हामीले सत्य बुझ्न र अस्तित्वरक्षामा लागेनौं भने हातका सबै गुमाएर पुर्पुरोमा हात राखेर थक्क थक्क हुनुपर्ने दिन टाढा छैन । १९७५ मा देश गुमाएका सिक्किमी आज पुर्पुरोमा हात राखेर हामी भारतीय भन्न बाध्य भएका छन् । आफ्नो देश नहुनुको पीडा सिक्किमीलाई भन्दा बढी अरुलाई कति थाहा होला र ?
कति दुःखद छ यथार्थ । कति दुख्छ हामी वरिपरिको ऐतिहासिक घटनाक्रम ।
हाम्रा नेता सत्ताका पुजारी, सत्तालिप्साका भोका देखिए । यिनलाई देश र देशभक्तिप्रति कत्ति पनि आकर्षण छैन । यिनको उद्देश्य आर्थिक लाभ हो । देश र जनतामाथि किर्ना बनेर चुस्न पाइन्छ भने लम्पसार पर्न पनि तैयार देखिए हाम्रो नेतृत्व । कति दयनीय भयो राजनीति र प्रशासन सञ्जाल ।
मूल्याङ्कन नै गर्ने हो भने जोजति नेताहरू छन्, ती सबै बिसर्जनवाद, लम्पसारवादमा भिजेको देखिन्छ, ती कुनै पनि राष्ट्रघाती लेण्डुप, मिर्जाफर अथवा क्विजलिङ भन्दा कहाँ कम छन् र ? नीति हरायो, नैतिकता म¥यो । सिद्धान्त र प्रतिवद्धता केही बाँकी रहेन । यिनले खाएको सपथ पानीको फोका जसरी फुट्यो । यस्तो नेतृत्वलाई अझै पनि विश्वास गर्नु भनेको जनताले आफ्नो घुँडामा आफैले बन्चरो हान्नु हो ।
हरेक पार्टी पंक्तिभित्र प्रचूर राष्ट्रवादी पनि छन् । तर तिनमा विद्रोह गर्ने हिम्मत छैन । विवेक छ, बोल्न सक्दैनन् । ती चोखा युवाहरू छायाँमा छन्, आँट गर्दैनन् । अवसरवादकै छायाँमा बस्न रूचाउँछन् ।
पार्टी नेतृत्व स्वार्थी, स्वार्थी नेतृत्वमा थिचिएका विवेकशीलहरु । अनि कसरी अनैतिक क्रियाकलापप्रति सार्वजनिक असन्तुष्टि देखिनसक्छ र ? यो चरित्र नेपाली राजनीतिक र प्रशासनिक स्वायत्तताका लागि खतराको घण्टी हो । यो घण्टी बज्न थालिसकेको छ ।
देउवामा नीति र नैतिकता छैन । यो कुरा सांसदलाई थाइलेण्डको बेश्यालयसम्म पु¥याउनुले प्रष्ट भइसकेको थियो, तर २२ वर्षपछि पनि देउवा नै प्रजातन्त्रका बिडा उठाउने नेता हुँ भन्छन् । सर्वहारा सर्व आहारावादी भइसक्यो । जनवाद सेलाउनेहरु थकित छन् । अलि सग्लो एमाले थियो, त्यो पनि बदनामीको रामनामी ओढेर पानीमाथिको ओभानो हुन कसरत गरिरहेको छ । नयाँ निस्केका राष्ट्रिय स्वतन्त्र र युवा नेतृत्व भएको राप्रपा लगायनका केही साना पार्टी परीक्षामै छन् । समष्टिमा भन्नुपर्दा राजनीतिका नाममा जनादेशमाथि बलात्कार बढेको छ । जनविद्रोह हुनसकेन भने देशको भविष्य के होला ?
जनता सोझा छन्, लाटा छैनन् । अब जनता बोल्नुपर्ने समय आयो ।
क्विजलिङ, लेण्डुप अथवा मिर्जाफरको उदय भइसकेको छ । कतै यिनले विदेशीलाई देश हिल्ला नलाइदेउन्, जनता सचेत हुनजरुरी छ । जनता अर्को जनआन्दोलन गर्न अग्रसर हुनुपर्छ ।

footer