kumari
stcnepal

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरे

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । सन २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको भन्दै उनी विरुद्ध यो मुद्दा चलिरहेको छ । ट्रम्पको जेलबाट आधिकारिक तस्बिर, जसलाई मगसट भनिन्छ, जारी गरिएको छ । ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।

ट्रम्पको जमानतको लागि दुई लाख डलरको बन्ड रकम तोकिएको छ । यस महिनाको सुरुमा, जर्जियाका एक अभियोजकले रिपब्लिकन नेता र पूर्व राष्ट्रपति विरुद्ध थुप्रै आरोप लगाएका थिए । जो बाइडेनको पराजयलाई प्रभावकारी रूपमा उल्टाउने षड्यन्त्रमा संलग्न भएको आरोप उनी माथि छ । ट्रम्पले अदालत वा सङ्घीय अधिकारीसामु आत्मसमर्पण गरेको यो वर्ष चौथो पटक हो । यसअघि पनि उनी विरुद्ध फौजदारी मुद्दा चल्दा उनले तीन पटक आत्मसमर्पण गरेका थिए । अमेरिकी मिडियाका अनुसार सन् २०२३ अघि अमेरिकामा यस्तो कहिल्यै देखिएको थिएन ।

फुल्टन काउन्टी जेलको बुकिङ सिटमा डोनाल्ड ट्रम्पको नाम राखिएको छ । यसले उनी विरुद्ध लगाइएको १३ आरोप, कथित अपराधको मिति र जमानत विवरणहरू पनि सूचीबद्ध गर्दछ । ट्रम्पले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘चुनावलाई चुनौती दिन सक्नुपर्छ । चुनाव धाँधलीपूर्ण चुनाव थियो भन्ने मेरो मान्यता हो । मैले कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ । निर्वाचनमा बेइमानी भएको महसुस भएमा त्यसलाई चुनौती दिने अधिकार हामीसँग छ ।’एजेन्सी

footer