kumari
stcnepal

ललितपुर नगर प्रहरीले ऐतिहासिक सम्पदामा खोलिएका फुटपाथ पसल हटाउँदै

 

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका सम्पदाको संरक्षणका लागि फुटपाथ पसल हटाउने अभियान सञ्चालनमा ल्याएको छ । अतिक्रमित सम्पदामा सञ्चालन भएका कपडा तथा तरकारी पसलहरू महानगरका प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा शनिबारदेखि हटाउन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताएका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रभित्रका पाटीपौवा, सार्वजनिक स्थल अतिक्रमण हुँदै आएकोमा ऐतिहासिक महत्व बोकेका सम्पदाहरूको विनाश रोक्न यो अभियान सञ्चालनमा ल्याएको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् । विशेष गरी ललितपुर महानगरभित्रका फल्चाहरुमा कपडा र तरकारी पसल सञ्चालन हुँदै आएका छन् । उक्त फल्चामा स्थानीय समितिले पसल खोल्न महिनावारी रकम असुलेर भाडामा दिने गरेको भेटिएको उनले बताएका हुन् ।

उनले मंगलबजारभित्र १५० वर्ष पुरानो फल्चा रहेको जानकारी दिए । उक्त फल्चालाई कृष्ण पार्टी भनेर चिनिन्छ । महिनामा एकपटक भजन कार्यक्रम हुने उक्त फल्चा अतिक्रमण गरी पसल थापिएको र त्यसलाई हटाउने काम भएको पनि उनले बताए । उनले मंगलबजार वरिपरि रहेका पसल, टंगालको मन्दिरपेटीमा राखिएका तरकारी र कपडा पसल, लगनखेलबा मंगलबजार जाने बाटोमा रहेको इतिटोलमा थापिएका पसलहरू हटाएको जानकारी दिए । उनले ललितपुर महानगरभरिका सम्पदामा भएका अतिक्रमण हटाउन मेयर महर्जनले दिएको निर्देशनअनुसार नगर प्रहरी परिचालन हुने बताए ।

footer