kumari
stcnepal

सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टर माथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।आइतबार काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका थिए । प्रहरीका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो । बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै आफूमाथि कुटपिट भएको खड्काले बताएका छन् ।

डाक्टरमाथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीले सडकमा आएर प्रदर्शन सुरु गरेसँगै प्रहरीले आरोपीलाई पक्राउ गरेको बताइएको छ । शनिबारमात्र स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणलाई नियन्त्रण तथा कारबाही गर्ने बारेमा सरकार र आन्दोलनरत चिकित्सकबिच ६ बुँदे सहमति भएको थियो । सहमति लगत्तै चिकित्सकहरूको आन्दोलन फिर्ता भएको थियो ।

footer