kumari
stcnepal

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको छ । ५१ वर्षीया नर्गिस अहिले इरानको जेलमा छिन् ।

इरानमा महिलाहरु माथि हुने दमन विरुद्ध संघर्ष गरेको र सबैको मानवअधिकारको रक्षाका लागि पहल गरेकोमा उनलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ । नोबेल पुरस्कार समितिले उनलाई ‘फ्रिडर फाइटर’को संज्ञा दिएको छ, र छिट्टै जेलमुक्त गर्ने विश्वास समेत व्यक्त गरेको छ । पुरस्कार आगामी १० डिसेम्बरमा वितरण हुनेछ ।

‘यदि इरानका अधिकारीहरुले उनलाई रिहा गर्न सही निर्णय लिए भने उनी पुरस्कार वितरण समारोहमा उपस्थित हुनेछिन्, जुन हामीले अपेक्षा गरेका छौं’ समितिका प्रमुख बेरिट रिस–एन्डरसनले भने । उनी डिफेण्डर अफ ह्युमन राइट सेन्टरको उपप्रमुख हुन्, जसको स्थापना नोबेल पुरस्कार जितिसकेकी शिरीन एबादीले गरेकी थिइन् ।

नर्गिसलाई इरानको सत्ताले १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटक दोषी ठहर्याएको छ । ३१ वर्ष जेल सजाय र १५४ पटक कोर्रा हान्ने आदेश भएको छ ।नोबेल पुरस्कार समितिले नर्गिसलाई यस्तो बेला नोबेल शान्ति पुरस्कार दिएको छ, जतिबेला इरानमा महिलाहरुले स्वतन्त्रताका लागि आन्दोलन गरिरहेका छन् । सेप्टेम्बर २०२२ मा २२ वर्षीया महशा अमीनीको प्रहरी हिरासतमा मृत्यु भएपछि महिलाहरुले आन्दोलन सुरु गरेका थिए, जुन छिट्टै देशभर फैलियो । यसक्रममा महिलाहरुले सार्वजनिक रुपमा कपाल मुण्डन गरेका थिए ।

footer