kumari
stcnepal

दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित

नयाँदिल्ली — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छिन् । नयाँदिल्लीमा बुधबार भएको निवार्चनमा उनले नेपालका उम्मेदवार शम्भुप्रसाद आचार्यलाई पराजित गरेकी हुन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको छोरीसमेत रहेकी उनले ८ मत प्राप्त गर्दा आचार्यले २ मत प्राप्त गरे । नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको थियो । प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले उनका लागि बंगलादेश सरकारले कूटनीतिक लबिइङमा जोड दिएको थियो ।

डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटीको बैठक नयाँदिल्लीमा सोमबारदेखि सुरु भएको हो । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ । यसअन्तर्गत ११ देश सदस्य छन् । पालैपालो सबै देशका स्वास्थ्यमन्त्रीहरू क्रमशः क्षेत्रीय अध्यक्ष हुन्छन् । तर, क्षेत्रीय निर्देशकको पद भने सदस्य राष्ट्रबीचको मतदान वा सहमतिबाट चुनिँदै आएको छ । अहिले क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम खेत्रपाल सिंह छिन् । उनले दोस्रो कार्यकाल पूरा गर्दै छिन् ।
डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, उत्तर कोरिया, भारत, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे छन् । ११ सदस्य राष्ट्रहरूमध्ये यसपटक म्यान्मारले मत दिन पाउने छैन । त्यहाँ सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले म्यान्मारले मतदान दिन नपाउने भएको हो ।

सदस्य देशका स्वास्थ्यमन्त्री मतदाता हुनेछन् । नेपालबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा मन्त्रालयका उच्च अधिकारी क्षेत्रीय बैठकमा भाग लिन नयाँदिल्ली आएका छन् ।

footer